अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस आज विविध कार्यक्रम गरी नेपालमा पनि मनाइँदै छ । संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्वर २५ लाई महिला हिंसा विरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरे अनुरुप हरेक वर्ष आजकै दिन यो दिवस मनाउने गरिन्छ ।
नेपालमा हरेक वर्षको नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म महिलाहिंसा विरुद्व १६ दिने अभियान सञ्चालन गर्न सरकारी निकाय, गैरसरकारी निकायका चरणवद्ध कार्यक्रम आयोजना हँुदै आएका छन् । वर्षौंदेखि यो अभियान सञ्चालन भएता पनि हिंसा भने बढेर गएको छ । अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्धको दिवस मनाइरहँदा अझै पनि महिलाहरु आर्थिक, सामाजिक, साँस्कृतिक तथा राजनीतिक रूपले विभेदीकरणमा परेका छन् भने शारीरिक र यौनिक हिंसाका शिकार भैरहेका छन् । संस्कृति र परम्पराका नाममा युगौँदेखि महिलाहरू नै पीडित हुँदै आएका छन् । सतीप्रथा, देउकीप्रथा जस्ता केही कुपरम्पराबाट माथि उठे पनि महिलाको अवस्था अझै दयनीय नै छ । यो अत्यन्त दुखको कुुरा हो । आफ्नो पहिचान, आत्मसम्मान र स्वतन्त्र भई जीवन बाँच्न पाउनु महिलाको नैसर्गिक अधिकार हो । हिंसा कसैउपर पनि हुनु व्यक्तिको मानव अधिकारको हनन् हो । प्रत्येक व्यक्तिको मानव अधिकार र स्वतन्त्रताको संरक्षण र संवद्र्धन गर्नु सरकारको दायित्व हो । पछिल्लो समय महिलामाथि हुने गरेका हिंसात्मक कार्यहरू दिन–प्रतिदिन बढ्दै गएको पाइन्छ । महिला माथि शोषण, दमन, यौन–दुव्र्यवहार र श्रमशोषण गर्न पाइँदैन, नारी–पुरुष समान हुन् भनेर आन्दोलन गरे पनि महिलाले हिंसाबाट मुक्ति पाउन सकेका छैनन् । हाम्रो समाजमा पुरुषले रक्सी खाएर श्रीमती र छोराछोरीलाई कुट्ने, पिट्ने र अप्रिय शब्दहरू बोल्ने गरेको पाइन्छ । यसले परिवारको बेइज्जत हुँदा महिलामा मानसिक असर पार्छ । कतिपय ग्रामीण भेगका महिलाहरूलाई बोक्सीको आरोप लगाउने, कुटपिट गर्ने र बोक्सी भनेर समाजबाट बहिष्कार गर्नेजस्ता हिंसात्मक घटना हाम्रो समाजमा हुने गरेका छन् ।
बोक्सी भनी कसैलाई आरोप लगाउनु सामाजिक अपराध हो । यस्ता अपराधजन्य हिंसाहरुको अत्यन्त गर्नु आवश्यक छ । शिक्षा, स्वास्थ्य, रोजगार, राजनीतिक गतिविधि बढ्दै गएता पनि पुरानो सोच र संकुचित व्यवहारका कारण यस्तो समस्या उत्पन्न भएको हो । यसर्थ हिंसामुक्त समाज निर्माणका लागि पुरातन सोंचको अन्त्य हुनैपर्छ । यसो हुन सक्यो भने मात्र हरेक वर्ष मनाइँने महिला हिंसा अन्त्य दिवसको सार्थकता रहन्छ ।

