रुघाखोकी बिग्रिएर फोक्सोमा संक्रमण हुने रोग हो निमोनिया । पछिल्लो समय निमोनिया मृत्युको एक मुख्य कारण बनिरहेको छ । विश्वव्यापी रुपमा मृत्युको शीर्ष १० कारणमध्ये निमोनिया पनि एक रहेको विभिन्न अध्ययनले देखाएका छन् । सामान्यतया पाँच वर्षमुनि बालबालिका र ६० वर्षमाथिका ज्येष्ठ नागरिकमा यो लाग्ने र मृत्यु हुने जोखिम बढी हुन्छ । निमोनियाको मुख्य कारण भनेको भाइरस (इन्फ्लुएन्जा, कोरोना र श्वसन सिंक्टियल भाइरस) ,ब्याक्टेरिया (ट्रेप्टोकोकस, स्टेफिलोकोकस् र हेमोफिलस) संक्रमणले हुन्छ । यसबाहेक छातीको चोटपटक, फोक्सोको घाउ तीव्र रसायनहरुको धुवा, आत्मघाती प्रतिरक्षा प्रणाली र औषधिको एलर्जीका कारणले पनि निमोनिया हुन सक्छ ।
खास गरी निमोनिया हुन नदिन चिसोबाट बच्नुपर्दछ । यतिबेला चिसो बढ्दो छ । चिसो मौसमसँगै मौसमी फ्लू, रुघाखोकी, निमोनिया जस्ता समस्याहरुले बढी नै सताउने गर्छ । त्यसमाथि बालबालिका, वृद्ध तथा गर्भवती र रोगप्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई जाडोको यो समयमा धेरै रोग लाग्ने गर्छ । जाडो याम सुरु भएलगत्तै धेरै रोगले सताउने भएकाले उनीहरूका लागि जाडो शत्रुबराबर हुन्छ । चिसो मौसममा मानिसलाई सामान्य रुघाखोकी लाग्छ । तर, सामान्य रुघाखोकी ठानेर हेलचेक्य्राइँ गर्दा रुघाखोकी बिग्रिएर निमोनिया हुने गर्दछ । निमोनिया पनि एउटा व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ । निमोनिया संक्रमितले फेरेको सास वा खोक्दा–हाँच्छिउ गर्दा उसको मुखबाट उछिट्टिएको थुक–सिंगानको छिटाहरुले त्यसको सम्पर्कमा आउने मानिसलाई सजिलै संक्रमित तुल्याउन सक्छ । त्यसबाहेक, संक्रमितले छोएका वा प्रयोग गरेका सरसामानहरुको सम्पर्कमा आउँदा पनि निमोनिया सर्न सक्छ । नेपालमा जाडो सुरु भएपछि पाँच वर्षमुनिका बालबालिकामा निमोनियाको संक्रमण बर्सेनि अलि बढी हुने गरेको छ ।
निमोनियाबाट बचाउनका लागि बालबालिका खोप लगाउनुपर्छ, पोषणयुक्त खुराक पर्याप्त दिनुपर्छ र चिसोमा निक्लिन दिनु हुन्न । संसारमा जन्म लिने हरेक बालक, चाहे उ संसारको जुनैसुकै ठाउँमा जन्म किन नलियोस, उसको पहुँचमा निमोनियाको औषधिहरू पुग्नैपर्छ । यही कुरालाई मध्यनजर गरेर सन् २००९ देखि हरेक बर्षको नोभेम्बर १२ तारिख अर्थात् आजको दिन संसारभरी विश्व निमोनिया दिवस मनाइने गरिन्छ । यस दिवस मनाइनुको मुख्य उद्देश्य भनेको ५ बर्ष भन्दा कम उमेरका बच्चाहरु अकाल मृत्युको मुख्य कारक बनेको यस रोगको बारेमा जनसमुदायमा जागरूकता फैलाउनु हो । त्यसबाहेक ,निमोनियाको उपचारको लागि सुरक्षाको लागि हस्तक्षेपहरू बढाउनु र अतिरिक्त स्रोत र ध्यानको आवश्यकतामा समाधानहरू हटाउनुमा पनि आजको दिनलाई लक्षित गरिएको छ । यो आफैमा सकारात्मक छ । तर रोग लाग्न भन्दा लाग्नै नदिने उपाय खोज्नु उत्तिकै राम्रो मानिन्छ ।

