Shittalpati
रामपुरका सहकारीलाई लेखा व्यवस्थापन तालिम 

पाल्पा,  जिल्लाको रामपुर नगरपालिका भित्रका सहकारीहरुलाई आधारभूत लेखा व्यवस्थापन तालिम दिइएको छ । सहकारीको लेखालाई पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यले रामपुर नगरपालिका सहकारी शाखाले पाँच दिने तालिम दिएको हो ।

 नगरपालिका भित्रका २१ वटा सहकारी संस्थाका व्यवस्थापक र लेखा समितिलाई लेखा सम्बन्धी ज्ञान सिप प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।  तालिममा सहकारीको लेखा व्यवस्थापन, हिसाब परीक्षा सूची, नाफा नोक्सान, कोष बाँडफाँड , सहकारीमा कर दायित्व लगायतका विषयमा सहजिकरण गरिएको थियो । तालिम समापनमा सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्दै  नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चेमन प्रकाश पोखरेलले तालिममा सिकेका ज्ञान सिपको माध्यमबाट सहकारीको नीति,सिद्धान्त र उद्देश्य अनुरुप सञ्चालन गर्न आग्रह गरे । हरेक सहकारीले आर्थिक र समाजिक दायित्व पुरा गरि पारदर्शी रुपमा सञ्चालन गर्नु पर्ने आवश्यकता रहेको उनले औँल्याए । प्रमुख पोखरेलले सहकारीलाई समस्या पर्दा सहकारीहरुबिच पारस्परिक सहयोग गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
 

सहकारी शाखा प्रमुख गणेश प्रसाद रेग्मीले सहकारी संस्थालाई व्यवस्थित र उद्देश्य अनुरुप सञ्चालन गर्न टेवा पुर्‍याउने उद्देश्यले तालिमको आयोजना गरिएको  बताए । साथै उनले तालिममा सिकेका ज्ञान सिपलाई सहकारी सञ्चालनको क्रममा व्यवहारमा उतार्न आग्रह  समेत गरे । तालिम समापन कार्यक्रममा बोल्दै रामपुर बचत तथा ऋण सहकारी संस्थाका लेखा समिति सदस्य राधिका भण्डारीले सहकारीलाई उद्देश्य अनुरुप सञ्चालन गर्न यस्ता तालिम कर्मचारी, सञ्चालक समिति र शेयर सदस्यलाई पनि आवश्यक रहेको धारणा व्यक्त गरिन् । नवज्योति बचत तथा ऋण सहकारी संस्था रामपुर ८ पाल्पाका व्यवस्थापक यम बहादुर परियारले सहकारी संस्थाको सही लेखा व्यवस्थापनका लागि तालिम लाभदायी बनेको भन्दै नगरपालिकालाई धन्यवाद दिए । नगरपालिका भित्र सञ्चालित २१ वटा सहकारीका ४१ जनाको सहभागिता रहेको तालिमको सहजिकरण सहकारी शाखा प्रमुख रेग्मीले गरेका थिए ।  निमित्त प्रमुख प्रशासकीय अधिकृत पोखरेलको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update