Shittalpati
अविरल वर्षाका कारण पाल्पाका विभिन्न ठाँउमा पहिरो

रामचन्द्र रायमाझी
पाल्पा । गए रातिदेखि परेको अविरल वर्षाका कारण जिल्लाका विभिन्न ठाँउहरुमा पहिरो गएका छन् । पहिरोका कारण जिल्लाका अधिकास ग्रामिण सकडहरु अवरुद्ध रहेका छन् भने, खेतीपातीमा समेत क्षति पुगेको छ । रातीदेखि परेको निरन्तर वर्षाका कारण पूर्वखोला गाउँपालिका १ चापगैरा स्थित रामपुर–तानसेन पक्कि सडक खण्डमा पहिरो खसेको छ । माथिबाट खसेको पहिरोले केही समय बाटो अवरुद्ध बनेको थियो । अवरुद्ध बनेको बाटो अहिले स्थानीय र प्रहरीको सहयोगमा सुचारु भएको छ । माथागढी गाउँपालिका १ अगाहखोला स्थित सिद्धार्थ राजमार्गमा पनि पहिरो गएको छ । माथिबाट खसेको पहिरोका कारण बाटो अवरुद्ध बनेको छ । अहिले एक तर्फिमात्र बाटो सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै तिनाउ गाउँपालिका ५ गौडेपुल स्थित सिद्धार्थ राजमार्गमा पनि पहिरो गएको छ । माथिबाट खसेको पहिरोले केही समय पूर्ण रुपमा सडक अवरुद्ध भए पनि स्थानीयको पहलमा अहिले एक तर्फि सडक सञ्चालनमा आएको छ ।

रिब्दीकोट गाउँपालिका ३ सिरुपाते स्थित तानसेन–रिडी पक्कि सडक खण्डमा माथिबाट खसेको पहिरोले सडक पूर्णरुपमा अवरुद्ध बनेको छ । अहिले प्रहरी र स्थानीयको पहलमा सडक खुलाउने काम भएको छ । त्यस्तै रैनादेवी छहरा गाउँपालिका ५ भालुखान स्थित हार्थोक –तीनगिरे पक्कि सडक खण्डमा पनि माथिबाट पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको छ । अविरल वर्षाका कारण किसानले लगाएको मकैवालीमा समेत क्षति पुगेको छ । क्षतिको विवरण भने आउन बाँकी छ । वर्षाले कालीगण्डकी करिडोरअन्तर्गत पर्ने रामपुर नगरपालिका –१० स्थित पाँच सय खोलाको निर्माणाधीन पुलमा क्षति पुगेको छ । दुई दिनअघिदेखि परेको वर्षाले खोलामा पानीको बहाव बढेपछि शुक्रबार निर्माण सामग्री बगाउँदा करीब ६५ लाख बराबरको क्षति पुगेको हो । शनिबार ढलान गर्ने तयारी गरी कामलाई तीव्रता दिइरहेका बेला बाढीले सटरिङ नै बगाएपछि ठूलो क्षति पुगेको छ ।

प्रकाशित मिति: शनिबार, असार ६, २०७७  १४:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update