
आज सेप्टेम्बर २७ अर्थात् विश्व पर्यटन दिवस । नेपालमा पनि विविध कार्यक्रम गरी यो दिवस मनाइँदैछ । खासगरी, पर्यटनसम्बन्धी काम गर्ने निकाय वा संस्थाले विभिन्न कार्यक्रम गर्दै छन् । विश्वमा हरेक वर्ष पर्यटनको क्षेत्रको विकास र उत्थानका लागि विश्व पर्यटन दिवस मनाइँदै आइएको छ । सन् १९९७ को संयुक्त राष्ट्रसंघीय अवधारणा बनेपछि सन् १९८० देखि सेप्टेम्बर २७ का दिन पर्यटन दिवस जनचेतना अभिवृद्धि गर्ने पर्यटन क्षेत्रका लागि ठूलो पर्व भए पनि यसलाई ‘इभेन्ट’ का रुपमा लैजान नसक्दा प्रभावकारी हुन सकेको छैन । कोरोना महामारीका बेला थला परेको पर्यटन व्यवसायी अहिले पनि राम्रोसँग उठ्न सकेको छैन् । यसो भन्दैमा पर्यटन दिवसको औचित्य र महत्वलाई भने विर्सन हुँदैन । पर्यटन व्यवसायीलाई अझ सशक्त ढंगले अगाडि बढाउने अवसरको रुपमा दिवसलाई लिनुपर्दछ । पर्यटनलाई आर्थिक समृद्धिको बलियो र प्रमुख आधारका रुपमा लिन आवश्यक छ ।
पर्यटन दिवस मनाइरहँदा कम्तिमा पर्यटन विकासका क्षेत्रमा विद्यमान चुनौतिबारे गम्भीरतापूर्वक छलफल गर्ने तथा विगतका कमीकमजोरीलाई दोहोरिन नदिनेतर्फ पनि उत्तिकै सजगता अपनाउन जरुरी छ । प्रमुख रुपमा प्रत्येक स्थानीय तहमा सबैभन्दा बढी सम्भावना रहेको पर्यटन गन्तव्यको स्पष्ट पहिचान गरी त्यसैमा लगानी वृद्धि गर्ने तथा संरक्षण र सम्वद्र्धनका प्रयासका साथै पर्यटकलाई आकर्षित गर्ने प्रभावकारी योजना कार्यान्वयनमा ध्यान दिइनु पर्दछ । पर्यटन विकासका लागि कार्यान्वयनको जिम्मेवारी निजी क्षेत्रले नै बहन गर्नुपर्दछ । सरकारले पर्यटन विकासका लागि उचित वातावरण निर्माण गर्न आवश्यक नीति र ऐनकानूनको निर्माण गर्ने तथा पूर्वाधार निर्माणमा लगानी बढाउनेतर्फ ध्यान केन्द्रीत गर्नु आवश्यक छ भन्ने दोहोराइरहनु पर्दैन । पर्यटन क्षेत्रको समस्या र चुनौतिबारे गम्भीरतापूर्वक छलफल गर्ने तथा विगतका कमीकमजोरीलाई दोहोरिन नदिनेतर्फ अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीति र योजना बनाउनतर्फ उत्तिकै सजगता अपनाउनु जरुरी छ । यसो गर्न सके मात्र दिवस मनाइनुको सार्थकता रहन्छ ।