
पाल्पा, भाद्र शुक्ल पूर्णिमाका दिन आज आइतबार राती खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लाग्ने भएको छ । राति १० बजेर ११ मिनेटमा स्पर्श गर्ने र राति ०१ः४१ बजे ग्रहण सकिने नेपाल पञ्चा· निर्णायक समितिले जनाएको छ ।
ग्रहणले राति १० बजेर ११ मिनेटमा स्पर्श गर्ने समितिले स्वीकृति दिएको पात्रो (पञ्चा·) मा उल्लेख छ । राति ११ः५६ मा चन्द्रग्रहणको मध्य हुनेछ । यो ग्रहण विसं २०८२ को पहिलो ग्रहण हो । यसै वर्ष आगामी फाल्गुन शुक्ल पूर्णिमामा पनि खण्डग्रास चन्द्रग्रहण लाग्ने समितिले जनाएको छ । ग्रहणमा बालबालिका, वृद्धवृद्धा र बिरामीबाहेकलाई शास्त्रीय रूपमा भोजन निषेध गरिएको छ । भदौ २२ गते आइतबार दिउँसो १३ः११ बजेपछि बाल, वृद्ध र आतुर बाहेकले भोजन गर्नुहुँदैन । चन्द्रग्रहण पूर्णिमा र सूर्यग्रहण औँसी तिथिमा लाग्ने गर्छ । एउटा ग्रह वा ग्रहबिम्बको छायाले अर्को बिम्बलाई छेक्ने अवस्थालाई ग्रहण भनिन्छ । चन्द्रबिम्बले सूर्यको प्रकाशलाई छेक्दा सूर्यग्रहण र पृथ्वीको छायाले चन्द्रमालाई छेकेको अवस्थामा चन्द्रग्रहण हुन्छ । सूर्यग्रहण औँसी तिथिका दिन र चन्द्रग्रहण पूर्णिमा तिथिका दिन मात्र सम्भव रहन्छ । सबै औँसी र पूर्णिमामा पनि ग्रहण लाग्दैनन् । किनकि पृथ्वी, सूर्य र चन्द्रमा एक सरल रेखामा पर्नुपर्छ र कोणीय अन्तर पनि शून्य हुनुपर्छ ।
सामान्यतया ग्रहणलाई नराम्रो रूपमा व्याख्या गरिएको पाइएता पनि यो प्रकृतिको एउटा सामान्य प्रक्रिया हो तथापि केही हदसम्म मानवको संवेग, व्यवहार र सामाजिक अन्तरक्रिया पद्धतिहरूमा असर पर्न सक्ने सनातन ठहर छ । राष्ट्रिय सड्ढट, सामाजिक पृष्ठभूमि आदि इत्यादिसँग ग्रहणलाई जोडेर हेर्ने चलन भएता पनि चन्द्र ग्रहणको असर केवल व्यक्तिगत पक्षमा मात्र रहेको बताइन्छ । ग्रहण पश्चात् दानपूण्यका काम गर्ने, ग्रहण अवधिभर खानपिन नगर्ने, कीर्तन भजन गर्ने चलन सदियौँदेखि चलिआएको छ । ग्रहणपछि खोला या तीर्थस्थलमा स्नान गर्ने चलन पनि छ ।