Shittalpati
‘बाँदरले मकै च्यातेर नष्ट पार्‍यो, कोसँग हारगुहार गर्नू’

तानसेन । पाल्पाका ग्रामीण क्षेत्रका किसानलाई बाँदरले सताएपछि हैरान भएका छन् । खेतबारीमा लगाएका अन्नबालीे जोगाउनै मुश्किल र धपाउन बसेकालाई आक्रमण समेत गर्न थालेको पछि उनीहरु हैरान परेका हुन् । जिल्लाका उत्तरी क्षेत्र कालीनदी आसपास जङ्गल नजिकका बस्तीमा बाँदर पसेर घरभित्रैबाट अन्न खान थालेको छ । रामपुर नगरपालिकाको खटाङखेत, भलायटार, प्याक्लुक, भुजात, आपचौर कटहरटार, एक्लेटार तथा सेराका खेतबारीमा बाँदरले अन्नबाली खाएर नोक्सान पार्ने गरेको बताइएको छ । स्याङ्जाको चापाकोट नगरपालिका–८ का कृषक टीकाराम परियारको रामपुर कालीगण्डकी किनारमा खेतबारी छ । बन्दाबन्दीले आवतजावत गर्न नपाउँदा खेतको मकै बाँदरले च्यात्न थालेको उनी बताउछन् ।

‘बिहान उज्यालो हुने बित्तिकै खेतमा बाँदर आउँछ, पालो लगाएर बिहानदेखि बेलुकासम्म खेतमा मकै जोगाउन कुरेर बस्नुपर्छ’, उनले भने । रामपुर नगरपालिका–८ का महेश घिमिरेले अम्दाहा खेतमा लगाएको मकै बाँदरले नष्ट पारेको बताए । ‘हिउँदमा आलु जोगाउन मुस्किल, अहिले फेरि मकै, तरकारी र फलफूल जोगाउन मुस्किल भयो’, उनले भने,‘बाँदरले मकै खाने तथा च्यातेर नष्ट पार्‍यो, कोसँग हारगुहार गर्नु । ’गाउँमा हूलका हूल बाँदर खेतबारीमा पसेर बाली नष्ट गर्ने र धपाउन जाँदा आक्रमण गर्न आउने गरेको उनले दुःखेसो पोखे ।

घरको दलान, कोठामा राखेका मकैलगायत करेसाबारीमा रोपेका तरकारी तथा फलफूल बाँदरबाट जोगाउन गाह्रो भएको स्थानीय कृषक गोविन्दप्रसाद घिमिरेको भनाइ छ । बालीनाली जोगाउन बिहानदेखि बेलुकासम्म खेतबारीमा कुर्दा पनि जोगाउन नसकिएकोे उनको भनाइ छ । कालीनदी छेउछाउका केही कृषकले खेती गर्नसमेत छाडेका छन् । घरमा रहेका महिला, बालबालिका तथा वृद्धवृदाले बिहानदेखि बेलुकासम्म बाँदर धपाउन समस्या भएपछि केही खेतहरु बाँझै छाडेको कषकहरु बताउँछन् । रामपुर नगरपालिका–७ का कृषकले विकल्पमा बेसार खेती रोजेका छन् । तिनाउ गाउँपालिकामा बाँदर, बँदेल र दुम्सीले खेती खाइदिएपछि छ । तिनाउको गड्टा, झ्याङ्ला, गणेशटोल, बगाहा, नुवाकोट, हरियाली लगायतका क्षेत्रमा वन्यजन्तुले खेती खाएर नष्ट पार्ने गरेको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती बताउन्छन् । सो क्षेत्रमा बँदेलको आक्रमणबाट केही समयअघि एक बालकसमेत घाइते भएका थिए ।

तिनाउ गाउँपालिका–२ का कृषक इमानसिंह थापाले गत फागुनमा लगाएकोे मकै बाँदरले खाएर नष्ट पारेको गुनासो गरे । पछिल्लो समय दुम्सीले समेत नष्ट पारेपछि खेतमा नै बिजुली बत्ती जडान गरेको उनले बताए । तिनाउमा केही दिनअघि असिनापानीले समेत करीब २५ लाख बराबरको बाली नष्ट पारेको गाउँपालिकाले जनाएको छ । सो गाउँपालिकाको २०७७÷७८ को बजेटमा कृषि बीमा कार्यक्रम ल्याउने तयारी रहेको गाउँपालिकाका प्रवक्ता तथा वडा नं २ का अध्यक्ष राजेश श्रेष्ठले जानकारी दिए । बगनासकाली, तानसेन नगरपालिकाको छेर्लुङ्, रम्भा गाउँपालिकामा पनि कृषकको दिनचर्या बाँदर कुरेरै बित्ने गरेको छ । बगनासकाली गाउँपालिकाले गएको वर्ष बाँदर नियन्त्रणका निम्ति बजेट विनियोजन गरेर समिति गठन गरे पनि खासै प्रभावकारी हुन सकेको छैन ।

रम्भा गाउँपालिका–३ अगाहा खोला क्षेत्रमा भने महिलाहरुले विकल्पका रुपमा निमुवा खेती गर्न थालेका छन् । कागती तथा निमुवामा क्षति नगर्ने भएकाले यसबाट आम्दानी लिन थालेको उनीहरुको भनाइ छ । बाँदरले पटक–पटक दुःख दिने गरेकाले नियन्त्रणको खास योजना सफल हुन नसकेको रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । गाउँपालिकाले कार्यक्रम नै बनाएर वन्यजन्तु संरक्षण तथा नियन्त्रणको योजना बताए पनि त्यसको कार्यान्वयनमा समस्या भएको उनको धारणा छ । रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले बाँदर नियन्त्रणमा आर्थिक वर्ष २०७७/७८ को बजेटमा कार्यक्रम ल्याउने बताए ।

उनले बाँदर लखेट्ने दीर्घकालीन योजना अहिलेसम्म नभएकाले पनि अलमल भइरहेको स्पष्ट पारे । उनले कृषकको समस्यालाई बुझेको र यसका लागि तर्साउने मेशिन र तारजाली लगायतको उपर्युक्त उपाय खोजिने जानकारी दिए । कृषकले भने स्थानीय स्तरमा सरकार भए पनि बाँदर नियन्त्रणका लागि ठोस योजना ल्याउन नसकेको गुनासो गरेका छन् । -रासस

प्रकाशित मिति: बिहीबार, असार ४, २०७७  १५:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update