
भाद्र कृष्ण अष्टमीका दिनमा प्रत्येक वर्ष मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।
नेपालका हिन्दु धर्मावलम्बीमात्रै नभएर श्रीकृष्णबाट प्रेरणा लिनेसँगै प्रभावित हुने विश्वभरका भक्तजनहरुले समेत आजको दिनलाई विशेष बनाउँदै उनको जन्मदिन मनाउँछन् । कृष्णको जन्म भएको खुसीयालीमा व्रतालुहरु रातभरि नै जाग्राम बसेर उनीसँग सम्बन्धित रहेर प्रचलित भएका कथा, प्रवचन श्रवण गर्नेमात्रै नभएर उनका भजनकीर्तनमा समेत लीन भैरहेका हुन्छन् । शास्त्रका आधारमा हेर्दा वासुदेव र देवकीको आठौँ गर्भको रुपमा द्वापरयुगको अन्त्यतिर श्रीकृष्ण भगवानको जन्म भएको थियो । मानवका रुपमा उनी जन्मिए पनि उनलाई भगवानकै रुपमा अवतरित भएको मानिन्छ । दुष्टहरुको विनाश गर्ने उद्देश्यसँगै सज्जनहरुको रक्षाका लागि उनी विष्णु भगवानको अवतारका रुपमा पृथ्वीमा आगमन भएको विश्वास निकै शक्तिशाली छ । मानव भएर जन्म लिए पनि श्रीकृष्णलाई हिन्दु धर्मावलम्बीहरुले आफ्नो आदर्श र आस्थाका रुपमा पुज्दै आएका छन् । आजभोलि श्रीकृष्ण जन्माष्टमी विशेष पर्वका रुपमा समेत विकसित भैरहेको छ । जतिजति आधुनिकताले प्रवेश पाउँदै गए पनि यसप्रति रहेको आकर्षण र सम्मोहनमा कमी आउन सकेको छैन । कृष्ण जन्माष्टमी हिन्दूहरुको प्रमुख चाड मध्येमा पर्छ । यस चाडमा मुख्य महत्व राम्रो काम गर्नेलाई प्रोत्साहित गर्ने र नराम्रा कामको हतोत्साहित गर्ने हो । एकताको लागि पनि कृष्णाष्टमी मनाइन्छ । यो पवित्र चाड मानिसको बीच भाइचारा वृद्धि हुन्छ । यसकारण जन्माष्टमीलाई एकताको प्रतिक मानिएको छ ।
श्रीकृष्ण जन्माष्टमीको रातलाई मोहरात्री पनि भनिन्छ । उक्त रातमा श्रीकृष्णको ध्यान, नाम वा मन्त्र जप्दा संसारको माया मोह र आशक्ति हटाउन सक्छ । जन्माष्टमीको व्रत व्रतराज हो । यसको विधिपुर्वक पालन गर्दा अन्य व्रतबाट प्राप्त हुने महान पुण्यराशि प्राप्त गर्न सकिने धार्मिक मान्यता रहेको छ । विविध धर्म, संस्कृति, परम्परा तथा रीतिरिवाज हाम्रो सभ्यता र सम्पन्नताका सूचक भएकाले हाम्रो धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्नका लागि पनि यो पर्वको महत्वपूर्ण भूमिका रहने गर्दछ । मानवको रक्षाका लागि उनको अवतार भएको यथेष्ट प्रमाणहरुका आधारलाई हेर्दासमेत आजको उनको जन्मदिन धेरैका लागि अविस्मरणीय रहेको देखिन्छ ।