
पाल्पा, पाल्पाको सदरमुकाम तानसेनको टक्सारटोलबाट निकालिने श्री ७ सूर्यविनायक गणेशको रथयात्रा यस वर्ष पनि निकालिएको छ । बुधबार धार्मिक आस्थासँग जोडिएको गणेशको रथयात्रालाई तानसेन नगरपरिक्रम गरी निकालिएको हो ।
टक्सारस्थित मन्दिर परिसरबाट निकालिएको रथ यात्राले तानसेन नगर क्षेत्रका विभिन्न भागको परिक्रमा गरेको थियो । सो क्रममा सूर्यविनायक गणेशको मूर्तिलाई खटमा राखेर नगर परिक्रमा गराइएको थियो । नेवार समुदायका मानिससहित अन्य समुदायका व्यक्तिहरुको समेत सहभागिता रहेको रथयात्रामा भजन गाएर नगर परिक्रमा गरिएको हो । यो हरेक वर्ष श्रीनगर सिद्धि विनायक गणेशको रथयत्रा निकालेको भोलिपल्ट निकाल्ने गरिन्छ । तानसेनका नेवार समुदायले विशेष गरी यो मनाउने गर्छन् । भगवतीको जात्रामा जस्तै युवाहरुले गणेशको रथ बोकेर नगर परिक्रमा गराएका थिए । अगाडि–अगाडि भजन र पछिपछि रथ डुलाइएको थियो । परिक्रमा गर्न हिडालिएको रथमा तानसेनवासीले विभिन्न पर्सादहरु चढाउने गरेको देखिन्थ्यो । अघिल्लो दिन जाग्राम बसीे भोलिपल्ट बाजागाजाका साथ गणेशको मूर्तिलाई खटमा राखी बजार घुमाइन्छ । गणेशको जन्म भएको दिन भाद्र शुक्लपक्ष चतुर्थी (गणेश चतुर्थी) भए तापनि टक्सारमा प्रत्येक वर्ष गणेशको रथयात्रा भाद्र कृष्णपक्ष चतुर्थीका दिन निकालिन्छ । गणेश रथयात्रा कहिलेदेखि प्रारम्भ भएको हो भन्ने यकिन तथ्य र प्रमाण पाउन नसकिए पनि दोश्रो पटकको आगलागी पश्चात् रथयात्रा प्रारम्भ गरेको अनुमान गर्न सकिन्छ । गणेशको स्थापना २०० वर्षभन्दा पहिले नै भएको अनुमान पुरातत्वविद्हरुले गरेका छन् । पुरानो कथन र भनाइ अनुसार २०० वर्ष भन्दा पहिले टक्सार टोलमा एउटा मसला पिस्ने सिलौटा पाइएको थियो । उक्त सिलौटामा मसला पिस्दा मुसा (छुचुन्द्रो) कराएको आवाज आयो । पिस्न छोड्दा आवाज बन्द हुने र फेरि पिस्दा बारम्बार त्यस्तै आवाज आउने हुँदा यताउता हेर्दा मुसा नदेखिएपछि त्यो सिलौटालाई पल्टाएर हेर्दा गणेशको आकृति पाइएको थियो । तत्पश्चात स्थानीय बासिन्दाको सक्रियतामा त्यही सिलौटालाई दूध, पानीले धोएर हाल गणेश मन्दिर भएको ठाउँमा पूर्व मुख पारेर श्री सूर्यविनायक गणेशको नामले वि.सं. १८६७ नेपाल सम्बत् ९३० (इ.स १८१०) मा वैशाख शुक्लपक्ष अक्षय तृतीयाका दिन स्थापित गरिएको थियो । लामो इतिहास बोकेको यो रथ यात्राको रौनक भने विस्तारै हराउँदै गएको छ ।
आधुनिकताका कारण यो रथ यात्रासँगै पाल्पामा मनाइने जात्रा, चाडपर्वको रौनक घटेको हो । जात्रा खर्चिलो भएकाले पनि आर्थिक अभावका कारण पछिल्ला वर्षहरुमा गाई जात्रा, रोपाइँ जात्रा निकाल्ने प्रचलन कम हुँदै गएको छ । जिल्लाको गहनाका रुपमा रहेका यि संस्कृतिहरुको संरक्षणमा कसैको पनि ध्यान जान नसकेको संस्कृतिका जानकार राजेन्द्र गोपाल सिंहले बताए । उनले भने “स्थानीय कलासंस्कृतिको संरक्षण गर्ने दायित्व स्थानीय सरकारको भएपनि यसतर्फ खासै चासो दिएको देखिदैन । जात्राहरु धार्मिक, साँस्कृतिक र मनोरञ्जनसँग जोडिएकाले पनि संस्कृति जोगाई राख्न नयाँ पुस्तालाई यसतर्फ आर्कषित गर्न सकिएको छैन । जसले गर्दा पनि यहाँका जात्रा, पर्वहरु विस्तारै लोप हुन लागेका छन् ।” टक्सार गणेश जात्राको भोलिपल्ट भिमसेन टोलबाट भिमसेन जात्रा निकालिने सिंहले बताए । भिमसेन भनेका महाभारतका बलवान शक्तिशाली भिम हुन् ।