Shittalpati
राजनीतिमा पूर्व राष्ट्रपतिको सक्रियता र उठेका सवाल

केहि समय अगाडिदेखि आम वृत्तमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्कने अनुमान र चर्चाकाविच गत हप्ता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा राष्ट्रिय सभा गृहमा राखिएको कार्यक्रममा राजनीतिमा थकाई र विश्राम भन्ने शब्द नहुने भन्दै पूनः एमालेको सक्रिय राजनीतिमा फर्कने आधिकारीक घोषणा गरेसँगै यस पक्षले प्रमाणीकता पाएको छ । वृत्तमा यस पक्षलाई लिएर सकारात्मक तथा नकारात्मक दुवै किसिमका प्रतिक्रिया आएको देखिन्छ । यसैबिच उनले पूर्व राष्ट्रपतिको हैसियतले राज्यबाट प्राप्त सुविधा नलिने गृह मन्त्रालयमा निवेदन समेत दिइ सकेको देखिन्छ । नैतिकता र पदीय गरिमाका हिसावले राजनीतिमा फर्कनु राम्रो नभएको र यसले राष्ट्रिपतिको पदीय निस्पक्षता र आस्था माथि नै प्रश्न सिर्जना गरेको देखिन्छ । देशकै उच्च पदमा पुगेको व्यक्ति फेरि राजनीतिमा फर्कनु पर्ने मुख्य कारण खासै देखिदैन् । यसका लागि कुनै आन्तरिक राजनीतिक स्वार्थ समुहको कारण तथा आफ्नै व्यक्तिगत स्वार्थले प्रेरित गरेको देखिन्छ । पूर्व राष्ट्रपतिको यो कदमले आम जनतालाई भन्दा बढी प्रभाव नेकपा एमाले वृत्तमा परेको देखिन्छ । समाचारहरुमा एमाले अध्यक्ष र विद्या भण्डारीबिच एमालेका प्रभावशाली पदाधिकारीबिचको कता भन्ने कित्ताकाट पनि गरिसकेको देखिन्छ । राष्ट्रपतिको पदीय गरिमा, नैतिकता र पूर्व राष्ट्रपतिको कदम तथा यससँग सम्बन्धित विविध पक्षलाई लिएर यहाँ चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ ।

विद्यादेवी भण्डारीको विगत
केपी ओलीको गैरसंवैधानिक दुई/दुई पटकको संसद विघटनलाई साथ दिएपछि एमालेको राष्ट्रपतिको रुपमा आलोचना खेपेकी पूर्व राष्ट्रपतिको विगत एमालेकै राजनीतिक पृष्ठभूमिमा हुर्कदै गएको देखिन्छ । जन नेता स्व. मदन भण्डारीको धर्मपत्नीको रुपमा रहेकी विद्या भण्डारीको विगतमा बामपन्थी आन्दोलनहरुमा गहिरो सम्बन्ध रहेको देखिन्छ । उनी नेपालको दोस्रो राष्ट्रपति तथा पहिलो महिला राष्ट्रपतिको रुपमा इतिहासमा नाम लेखाउन सफल महिला भई सकेकी छन् । पति स्व.मदन भण्डारीको रहस्यमय कार दुर्घटनामा मृत्यु भएपछि राजनीतमा थप सक्रियता र सफलता प्राप्त हुँदै गएको उनको विगत रहेको छ । तत्कालीन नेपाल विद्यार्थी संघमार्फत राजनीति यात्रा तय गरेकी उनले वि.स. २०४० मा नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी – लेनीनवादी हुँदै नेकपा एमालेमा आवद्ध भएको विगत रहेको छ । एमालेको भातृ संगठन अखिल नेपाल महिला संघको लामो समय अध्यक्षको भूमिकामा रहेर महिला अधिकार, समानता र राजनीतिक सहभागिताका लागि वकालत गरेको देखिन्छ । वि.स २०५१ र वि.स २०५६ मा सासदमा निर्वाचित उनी वि.स २०६७ मा माधव कुमार नेपालको प्रधानमन्त्रीकालमा पहिलो महिला रक्षा मन्त्री बन्ने अवसर प्राप्त गरेकी थिइन् । एमालेको केन्द्रीय समिति सदस्य, राजनीतिक व्यूरो सदस्य समेत रहेकी उनलाई नेकपा एमालेले वि.स २०७२ र वि.स २०७४ मा एमालेले राष्ट्रपतिको उम्मेदवार बनाई उसैको पहलमा बहुमतद्वारा पहिलो र दोस्रो कार्यकालको लागि निर्वाचित गराएको देखिन्छ । यसरी हेर्दा उनको हालसम्मको त्याग र योगदान एमाले पार्टीमा रहनु र यहि पार्टीको सक्रिय राजनीतिमा फर्कनुलाई अच्चम मान्नु पर्ने जरुरी देखिदैन ।

एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणाका पक्षहरु :

क) ओलीको एमाले माथिको एकछत्र राजको नियन्त्रण :
पछिल्लो समय एमालेका अध्यक्ष के.पी ओलीले आफ्ना विरोधी तथा आलोचकहरुलाई कारवाहीको नाममा साधरण सदस्यबाट हटाउदै जाने, निलम्वन गर्ने जस्ता कार्य गरेर एकछत्र राज गर्दै गएको देखिन्छ । उनको यो शैली पार्टी भित्र वा बाहिर व्यक्त नगरेता पनि धेरैलाई मन परेको थिएन । उनको हुकुमी शैलीको अन्त्यका लागि उनलाइ पार्टी भित्र काउन्टर दिन विभिन्न पक्षहरु पूर्व राष्ट्रपति विद्या भण्डारीलाई एमाले सक्रिय राजनीतिमा भित्र्याउन लागि परेको देखिन्छ । वृत्तमा ईश्वर पोखरेलको नाम लिने गरेको देखिन्छ । एमाले नेतृत्वमा भविष्यमा ओलीको विकल्पको रुपमा स्थापितका लागि पनि उनलाई अघि सारेको देखिन्छ ।

ख) कम्युनिष्ट एकताको आधार :
ओलीकै कार्यशैलीका कारण एमाले माओवादी एकता तोडिएको र कम्युनिष्ट नेताहरु एता न उता का भएका उनीहरुको राजनीतिक भविष्य समाप्त भएको र फेरि कम्युनिष्ट एकताको प्रक्रिया सुरु ओलीबाट नहुने देखेका कम्युनिष्ट नेतृत्व भण्डारीलाई अगाडि सारेर एमालेको नेतृत्वमा ल्याई पुनः नेपालका कम्युनिष्टलाई एकता गर्ने सोचले यसलाई प्रेरित गरेको देखिन्छ । यसका लागि एमाले नेतृत्व, माओवादी केन्द्र, समाजवादीका केहि नेता लागि परिरहेको देखिन्छ ।

ग) चीनको चाहना :
देश, सरकार र कुनै पाटी भित्र अप्ठ्यारो पर्ने वित्तीकै राष्ट्रिय, अन्तराष्ट्रिय पक्ष तिर औलो तेर्साउने बानी परेका हामी भण्डारीको सक्रिय राजनीतिको घोषणालाई पनि यसैसँग जोडेको देखिन्छ । चीनको नेपालका कम्युनिष्टहरु बीच एकता होस् भन्ने चाहना रहेको देखिन्छ । विगतमा एमाले र माओवादी बीचको एकता चीनकै प्रयासमा सफल भएको भन्ने गरिन्छ । विद्या भण्डारीको एमाले नेतृत्वनै अबको कम्पुनिष्ट एकताको आधार बन्न सक्ने अनुमान लगाएको देखिन्छ । केहि समय अगाडिको विद्या भण्डारीको चीन यात्रा पनि यसैमा केन्द्रीत रहेको अनुमान गर्न सकिन्छ ।

घ) पहिलो महिला प्रधानमन्त्रीको चाहना :
पहिलो महिला रक्षा मन्त्री, पहिलो राष्ट्रपतिको इतिहास बनाए की उनलाई फेरि पहिलो महिला प्रधानमन्त्री बन्ने व्यक्तिगत इच्छा वा स्वार्थले प्रेरित गरेको देखिन्छ । यहि कारण पनि उनी एमालेको सक्रिय राजनीतमा आउने घोषणा गरेको देखिन्छ ।

ङ ) व्यक्तिगत स्वतन्त्रता :
कुनै पनि व्यक्ति आफ्नो हरेक कार्यमा स्वतन्त्रता हुने गर्दछ जस अन्तर्गत उनी एमालेको सक्रिय राजनीतिमा फर्कने कुरा व्यक्तिको स्वतन्त्रताले प्रेरित गरेको देखिन्छ । यस पक्षलाई हेर्दा यो कदम कानुन सम्बद्ध नै रहेको र कानुनी अधिकारको रुपमा नै देखिन्छ ।

च) संवैधनिक दृष्टिकोण :
नेपालको संविधान, विभिन्न ऐन नियमहरुले पूर्व विशिष्टहरुलाई सक्रिय राजनीतिमा फर्कने कुरालाई नरोकेको कारण पनि उनी राजनीतिमा फर्केको देखिन्छ ।

छ) राजनैतिक प्रभाव :
राजनैतिक पक्षहरुलाई हेर्दा उनको सक्रिय जीवनका धेरै वर्ष एमाले पार्टी निर्माण र यसलाई बलियो बनाउने पक्षमै वितेकोले एमालेको सक्रिय राजनीतिमा फर्कनु उनको अधिकारको रुपमा पनि रहेको देखिन्छ । यस कदमले भविष्यमा एमाले र कम्युनिष्ट एकताको कुरालाई सकरात्मक प्रभाव पर्ने देखिन्छ ।

नैतिकता, आर्दश र त्यागका पक्षहरुः
संविधानले पूर्व राष्ट्रपतिलाई सक्रिय राजनीतमा आउन रोक्दैन् भनेर राजनीतिक वृत्तमा बहस र छलफल चलाएता पनि त्यो भन्दा बढी नैतिकता, आर्दश व्यवहार, त्याग र सर्मपण जस्ता कुराले प्रभाव पार्ने देखिन्छ । यस कदमले कुनै अमुक पार्टी, स्वार्थ समुह, स्वय व्यक्तिलाई फाईदा भएता पनि त्यो भन्दा बढी बेफाईदा राष्ट्रपति पदको गरिमा, निष्पक्षता र आस्था माथि हुने देखिन्छ । देशको उच्च पदमा पुगेको सम्मानित व्यक्ति फेरि राजनीतिमा फर्कनु समग्रमा राम्रो भने मान्न सकिदैन् । यसले नेपालका राजनीतिक दलका नेतृत्वको लोभि स्वभाव, शक्तीमा बस्नै पर्ने व्यवहार, कुर्सी छोड्नै नसक्ने पक्षलाई साथ दिएको देखिन्छ । राष्ट्रपति पद संवैधानिक दृष्टिकोणले तटस्थ र दल भन्दा माथीको मानिन्छ । यसले राष्ट्रपतिय पदको गरिमा र तटस्थता माथि प्रश्न उत्पन्न गराएको छ । अन्य राष्ट्रपति पनि राजनीतमा फर्कने उद्देश्य राख्ने हुन की ? यसले राष्ट्रपतिले सम्पादन गर्ने कार्यमा निष्पक्षता नहुने, दल प्रेरित हुने देखाउँदछ । लोकतान्त्रिक विश्वास र आस्थामा कमि देखिन्छ भने देश र देश बाहिर आलोचनाको खतरा बढ्न सक्ने देखिन्छ ।

निष्कर्ष
हरेक कुरालाई संविधानका शब्दहरुले मात्रै समेटन सक्दैन् कतिपय कुरालाई व्यक्तिको आर्दश र नैतिक व्यवहारले पनि प्रेरित गर्ने गर्दछ । केहि स्वार्थ समूहका लागि उनको घोषणा र कदम लाभदायक देखिएता पनि पदिए गरिमा र आस्थाका दृष्टिकोणले यसलाई राम्रो भन्न भने सकिदैन् । 

यस कदमले गणतान्त्रिक साशन व्यवस्था माथिको आस्था र विश्वासमा समस्या सिर्जना गर्ने देखिन्छ भने यसले वर्तमान र अब बन्ने राष्ट्रपतिको कार्य निष्पक्षता माथि पनि प्रश्न सिर्जना गरेको देखिन्छ । यी विविध कारणले गर्दा पूर्व राष्ट्रपतिको सक्रिय राजनीतिमा फर्कने कुरालाई राम्रो भने पक्कै मान्न सकिदैन् ।
(लेखक अर्थशास्त्रका प्राध्यापक समेत हुन् ।) 

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update