Shittalpati
मनसुनी प्रभाव फैलियो, सर्तक रहौं

यस वर्षको मनसुन प्रणाली शुक्रबारदेखि देशभर फैलिएको छ । मौसम पूर्वानुमान महाशाखाले २३ दिनपछि मनसुन देशभर फैलिएको जनाएको छ । यस वर्षको मनसुन जेठ १५ गते देशको पूर्वी भागबाट प्रवेश गरी कोशी प्रदेशको अधिकांश भूभागमा विस्तार भएकामा जेठ २९ गते मधेस, बागमती र गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागसम्म विस्तार भएको थियो । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा शुक्रबारदेखि मनसुन फैलिएसँगै अब देशभर मनसुन सक्रिय रहेको हो । हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा मनसुनी वायुको प्रभाव छ । साथै देशका पश्चिम भागमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव देखिएको मौसम विभागले जनाएको छ । मुलुकको भौगोलिक बनावटअनुसार अध्यधिक र भारी बर्षाको मात्रा र प्रभाव फरक हुने गर्दछ । यस्तो बेला नदी तटीय क्षेत्र, भिरालो भू–भाग र सामान्य वर्षामा पनि डुवान हुने क्षेत्र आसपासमा सर्तकता अपनाउन आवश्यक छ । वर्षाका कारण चुरे र महाभारत क्षेत्र आसपास हुँदै बहने अधिकांश नदी र खहरेमा पानीको बहाव सतर्कता तहसम्म पुग्ने उच्च सम्भावना रहेकाले सर्तक रहनुपर्छ ।

बर्खाको मौसम भएकाले पनि मनसुन सक्रिय हुनु स्वाभाविक नै हो । यसलाई अन्यतथा लिनु हुँँदैन। मौसमको गणितीय पूर्वानुमानको नक्साअनुसार देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ । जसका कारण जनजीवनै अस्तव्यस्त पारेको, बाढी, पहिरो र डुबान भएका समाचारहरु आइरहेका छन् । हुन त यो कुनै नौलो होइन, वर्षेनी हुँदै आएको समस्या हो । मौसम पूर्वानुमान महाशाखाले अझै केही दिन निरन्तर पानी पर्ने भनेकाले पनि थप समस्या सिर्जना हुने अनुमान गर्न गाह्रो छैन । त्यसैले सतर्कता आवश्यक छ । गत वर्ष असारको सुरुमै बाढीपहिरोबाट ठूलो मानवीय क्षति भएको थियो । भौतिक क्षतिको त लेखा जोखै भएन । बाढीपहिरोबाट ठूला योजना तहसनहस भएका थिए । त्यस्ता समस्या यस वर्ष पनि नहोलान् भन्ने छैन् । तसर्थ यस्ता समस्याबाट जोगिन  उच्च सतर्कता अपनाऔं ।

प्रकाशित मिति: आइतबार, असार ८, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update