Shittalpati
‘विद्यार्थीको सामाजिक विकासमा स्काउट महत्वपूर्ण’

रामपुर, यहाँको रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले विद्यार्थीमा सामाजिक  भावनाको विकास गराउन नेपाल स्काउटको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । नेपाल स्काउटको ७४ औँ स्थापना दिवसको अवसरमा नेपाल स्काउट स्थानीय स्काउट कार्यालय रामपुरको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नगर प्रमुख थापाले  भने “विद्यार्थीहरुको अनुशासन र नेतृत्व क्षमता विकाससँगै सामाजिक भावनाको विकासमा स्काउटको भूमिका महत्वपूर्ण रहन्छ ।” स्काउटको माध्यमबाट विद्यार्थीहरुलाई नैतिकवान, चरित्रवान र व्यवहारिक बनाउन आवश्यक रहेको  उनले उल्लेख गरे । थापाले भने “अनुशासनको विकास,चरित्रवान, नैतिकवान र सफल समाज निर्माण गरि समुन्नत रामपुर निर्माणका लागि स्काउट आवश्यक छ ।” उनले विपद्को समय वा अन्य हरेक समयमा मानिसलाई सहयोग गर्ने अर्धसैनिक संस्था स्काउट भएको भन्दै सकारात्मक सोँच र उच्च आत्मबलका साथ नगरवासीलाई सहयोग गर्न आग्रह समेत गरे । स्काउटले नैतिकसँगै व्यवहारिक ज्ञान प्रदान गर्ने भन्दै यसको माध्यमबाट समृद्ध रामपुर निर्माणका लागि सकारात्मक सोँचका साथ लाग्नु पर्नेमा  नगर प्रमुख थापाले जोड दिए । उपप्रमुख बाल कुमारी थापाले विद्यार्थीहरुको व्यक्तित्वसँगै नेतृत्व क्षमता विकासका लागि सबै विद्यालयमा स्काउट सञ्चालन गर्नु पर्ने बताइन् । उनले नगरपालिका भित्रका सबै विद्यालयमा स्काउट सञ्चालन र व्यवस्थापनका लागि थप कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् । आधारभूत माध्यमिक विद्यालयका प्रधानाध्यापक रुपनाथ गौतमले स्काउट सकारात्मक उर्जा दिने संस्था भएको भन्दै सबै विद्यालयलाई समेटेर स्काउट सम्बन्धी कार्यक्रम सञ्चालन गर्नु पर्ने आवश्यकता रुऔँल्याए । जनविकास माध्यमिक विद्यालयका शिक्षक कृष्णकला भण्डारीले अवस्था अनुसार व्यवस्था गर्ने संस्था स्काउट भएको भन्दै यसले विद्यार्थीहरुको व्यवहारमा परिवर्तन गरेको धारणा व्यक्त गरिन् । दिवसको अवसरमा भएको नेतृत्व विकासमा स्काउटको भूमिका विषयक वक्तृत्वकला प्रतियोगितामा समेत सञ्चालन गरिएको थियो । प्रतियोगितामा रामपुर अंग्रेजी आवासीय माध्यमिक विद्यालयका शारदा श्रेष्ठ प्रथम, द्धितिय जनविकास माध्यमिक विद्यालयका स्विकार पोखरेल र तृतीय गंगा माध्यमिक विद्यालयका सुरक्षा ढुंगाना भएका छन् । प्रतियोगितामा विजयी र सहभागी विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । साथै कार्यक्रमको अवसरमा स्काउट सञ्चालन भएका विद्यालयले विभिन्न प्रजातिका फूल सहितको गमला हस्तान्तरण गरेको छ । दिवसका दिन प्रभातफेरी समेत गरिएको थियो । स्थानीय स्काउट समिति रामपुर पाल्पाका अध्यक्ष सागर श्रेष्ठको अध्यक्षता, नगरपालिकाका शिक्षा अधिकृत विकल काफलेको स्वागत, शिक्षा शाखाका प्राविधिक सहायक अनिता कुँवरको सञ्चालनमा कार्यक्रम भएको  थियो ।

प्रकाशित मिति: शनिबार, असार ७, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update