
विश्व खडेरीविरुद्ध संघर्ष दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । बढ्दो मरुभूमीकरण र खडेरी विरुद्ध विश्व समूदायमै जनचेतना बढाउन र ऐक्यवद्धता कायम गर्नका लागि सन् १९९५ देखि हरेक वर्ष जुन १७ का दिन विश्व समूदायले यो दिवस मनाउँदै आएको छ । यो दिवसले खाद्य सुरक्षादेखि वातावरणीय मुद्दाहरु, भू–संंरक्षण लगायत विभिन्न मुद्दामा विश्व समुदायमाझ निरन्तर सन्देश प्रवाह गर्दै आएको छ । जमिनको खण्डीकरण र मानवीय व्यवहारका कारण जलवायु परिवर्तनलाई सहयोग पुगेको छ भने, त्यसको असर प्राकृतिक सम्पदा तथा मानव समुदायमा पर्न थालेको छ । खडेरीलाई प्राकृतिक असरका रुपमा पनि व्याख्या गर्ने गरिएको छ । स्थानीय मौसममा फेरबदल हुँदा भूमिको उत्पादक क्षमता घटेर उर्वर भूमि क्रमशः अनुत्पादक हुन थालेका छन् । नेपालमा पछिल्लो समय मध्य पहाडमा खडेरीको मार बढेको छ । खडेरीकै कारण बसाई सर्नेहरुको समेत संख्या बढेको छ । यो अत्यन्त दुःखको कुरा हो ।
मानव जनसंख्याको वृद्धिसँगै पछिल्लो समयमा भूमिको असमान वितरण, खण्डीकरण, मरभूमिकरण लगायतका कारण विश्वका अधिकांश देश खडेरीको चपेटामा पर्दै आएका छन् । नेपालमा पनि उत्तरी क्षेत्रको तुलनामा दक्षिण क्षेत्रमा थोरै मात्र पानी पर्ने गरेको छ । दक्षिण क्षेत्रमा मरुभूमीकरणको समस्या बढिरहेको छ । पहाडतिर रोपाई सकिँदा तराईमा पानी समेत नपर्ने अवस्था छ । प्राकृतिक असन्तुलनको समस्याका कारण चुनौती उत्पन्न भइरहेको छ । कही कही त गरीब किसानहरु खेतिपाति नै गर्न छाडेका छन । मानिस, जिवजन्तु, बोटविरुवा समेत प्रभावित भएका छन । अनिकाल, बसाइँ सराइ जस्ता गम्भीर समस्या खडेरीका कारणले हुने गर्दछन् । यसले मुलुकको सामाजिक, आर्थिक, साँस्कृतिक, राजनीतिक अवस्थामा पनि असर पुर्याउने गर्दछन् । अब वातावरण संरक्षणको क्षेत्रमा लागेका अभियन्ताहरूले खडेरी विरुद्ध विश्वलाई एकजुट हुन र सघंषका लागि आह्वान गर्न आवश्यक छ । खडेरीको समस्या आउनुको मुख्य कारणको खोजी गरी त्यसको नियन्त्रणका लागि पाइला चाल्नु नै आजको आवश्यकता हो । यो दिवसले केवल खडेरीकोमात्रै वकालत गर्ने होइन खडेरीका कारण उत्पन्न खाद्य समस्या लगायत दीर्घकालीन असरको न्यूनीकरणका लागि गर्नुपर्ने प्रयासको विषयमा समेत आवाज उठाउन जरुरी छ । यसो भयो भने मात्र हरेक वर्ष मनाइने दिवसको सान्दर्भिकता रहन्छ ।