
बर्सात सुरु भएको छ । मनसुनसँगै खण्ड र तेज वृष्टि पनि देखिन थालेको छ । खण्ड तथा असन्तुलित वर्षाले एकै पटक बाढी आउने प्रवृत्तिसमेत व्यापक हुन सक्ने छ । नेपालमा हावा हुरी, चट्याङ, बाढी पहिरो, भूकम्प, आगलागी, दुर्घटना र स्वास्थ्यको प्रकोपको जोखिम रहेको छ । दुर्घटना र भूकम्पको प्रकोप जतिबेला पनि हुन सक्ने तर वर्षा सुरु हुनुअघि हावा हुरी, आगलागी र चट्याङ र स्वास्थ्यको प्रकोप जोखिम हुने गर्दछ । वर्षाको समय प्रायः असारदेखि भदौसम्म एक सय बीस दिन खतरा वा जोखिम हुने समयका रूपमा लिइन्छ । हाम्रो भूबनोट र प्राकृतिक कारण हावा हुरी, आगलागी, चट्याङ, स्वास्थ्यको प्रकोप र वर्षा हाम्रा लागि निकै चुनौती र कष्टकर हुनेमा द्विविधा छैन् ।
खोला किनार र आसपासका बस्ती केही वर्षा हुना साथ डुबानमा पर्ने गरेका छन् । यस्तो अवस्था एक दुई दशकयताकै प्रवृत्ति हो । बर्खायाम सुरु हुनासाथ विशेष गरी तराई र ठूला सहरी क्षेत्रमा डुवानले सताउने गर्दछ । तीव्र सहरीकरणसँगै बाढी, डुबान प्रकोप बढ्दो छ । वैज्ञानिक र प्राविधिक योजनाबिना नै विस्तार भएका सहरी बस्तीमा बर्सातमा बाढीको प्रकोपले वितण्डा मच्याउने गर्दछ । प्राकृतिक प्रकोप बाजा बजाएर आउँदैन र कुनै स्थान र क्षेत्र तोकेर आउँदैन । यो आकस्मिकता भए पनि थोरै सावधानी अपनाउँदा जीवन जोगाउन सकिन्छ । तर पर्याप्त सावधानी नअपनाउँदा अकालमा जीवन जाने गरेको छ भने करोडौंको भौतिक क्षति हुने गरेको छ । यस्ता प्राकृतिक विपत्तिको दीर्घकालीन समाधान नखोजिदा वर्षै पिच्छे एउटै समस्याबाट पीडित हुनुपरेको अवस्था छ । नेपालमा स्थानीय, प्रदेश र संघीय गरी तीन तहका सरकार छन् । तर प्राकृतिक जस्तो विपत्तिबाट आमजनतालाई जोगाउने र भौतिक क्षति कम हुने दिशामा एकरत्ती पनि सोंचेका छैनन् । विपद् जस्तो संवेदनशील विषय सरकारको प्राथमिकतामा पदैन । बर्खाको समयमा कति बेला कहाँ के हुन्छ कसैलाई थाहा हुँदैन । तर विपद् आउनुपूर्व नै विशेष सावधानीका उपायहरु अवलम्बन गर्न सकियो भने केही हदसम्म भएमा पनि क्षति हुनबाट बचाउन सकिन्छ । तसर्थ विपद्प्रति समयमै सतर्कता अपनाउन जरुरी छ ।