Shittalpati
बुवा दिवसको सान्दर्भिकता

आफ्ना बुबाप्रति सम्मान जनाउँदै आज विश्वभर अन्तर्राष्ट्रिय बुबा दिवस मनाइँदै छ । हरेक वर्ष जुन महिनाको तेस्रो आइतबार विश्व समुदायले यो दिवस मनाउने गर्दछन् । यस दिन विश्वभर रहेका सन्ततीहरुले आफ्ना भगवानसरहका बुबालाई विशेष सम्झने गर्छन् । 
त्यसो त यसरी एकदिन मात्रै किन सम्झनु पर्ने? के सधैँभर नै ज्यूँदा देवतारूपी बुबालाई आदर सत्कार अर्थात् सम्मान गर्नुपर्ने होइन र भन्ने प्रश्न पनि उठ्नसक्छ । तर आजकल एकातिर आमाबुबा तथा छोराछोरी सधैँ एकैसाथ रहन असम्भव पनि छ भने अर्काेतिर कतिपय आमाबुबाका सन्ततिहरू टाढिँदै गइरहेको तीतो यथार्थता पनि हाम्रासामु देखापर्छ । त्यसैले जेहोस् एकदिन भए पनि यसरी विश्व बुबा दिवसको सन्दर्भ जोडिनु सान्दर्भिक विषय हो । सबैले आफ्नो परमकर्तव्य ठानेर बुबालाई सम्झना गर्ने दिनको अवसर आउनु पनि आफैमा एउटा महान गौरवको कुरा हो । हुन त यसरी वर्षमा एकदिन बुबालाई सम्झ्ने दिनको सन्दर्भ जोडिएको त छ नै, त्यसमा पनि विश्वभर नै एकैसाथ बुबाप्रतिको उच्च सद्भाव झल्काउनका लागि विश्व बुवा दिवसको सान्दर्भिकता जोडिनु झन् खुशीको कुरा हो । यो हाम्रो सामाजिक मूल्य मान्यताभित्रको सांस्कारिक पहिचान एवं पारिवारिक सद्भाव पनि हो ।

कर्म दिने बुबालाई भगवानसरह मान्नुपर्ने धर्मसशास्त्रहरुमा उल्लेख छ । आफूलाई जन्म दिई हुर्काइ, पढाई सक्षम बनाउने बुवालाई देवता सम्झेर श्रद्धा भक्तिपूर्वक मान्नु र पूज्नु सम्पूर्ण छोराछोरीको कर्तव्य हो । पितालाई अरू समयमा वास्ता नगर्ने सन्तानहरू पनि यस दिन मीठा–मीठा खानेकुरा तथा कपडा लिएर बुवालाई भेट्न पुग्छन् । यसलाई सकारात्मक रुपमा लिएपनि एक दिन मात्र गरिएको सम्मानले पिताप्रतिको सच्चा सम्मान भने हुन सक्दैन । बाबुको सम्मान र सेवा गर्दा आफू पनि लोकबाटै सम्मानित भइने र भविष्यमा आफूले पनि आफ्ना सन्तानबाट त्यस्तै सेवा–सम्मान पाइन्छ भन्ने कुरा कुनै पनि सन्तानले विर्सनु हुँदैन । पिता वर्ष भरि नै पुजनीय हुन्छन् । दर्शनीय हुन्छन् । यसर्थ बुवाको सम्मान सधै गर्न सिकौं । जसले गर्दा हरेक वर्ष मनाइने अन्तर्राष्ट्रिय बुबा दिवसको सन्दर्भिकता अझ बढेर जान्छ ।

प्रकाशित मिति: आइतबार, असार १, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update