
राजनीतिक दलहरुले सधै भाषणमा बोल्ने कुरा हो सुशासन र समृद्धि । उनीहरुले जसरी सुशासन र समृद्धिका कुराहरु गर्छन्, व्यवहारमा भने कार्यान्वय भएको देखिदैन । राज्य संयन्त्रलाई जनमुखी बनाई नागरिकको अपेक्षाअनुरूप प्रभावकारी छिटो, छरितो र प्रभावकारी सेवाका माध्यमबाट नागरिकलाई शासनको सुखद अनुभूति दिलाउनु नै वास्तवमा सुशासन हो । तर व्यवहारमा भने त्यो लागु हुन सकेको छैन् ।
हाल सत्ता सञ्चालन गरिरहेको संसद्को सबैभन्दा ठूलो दलको गठबन्धनको सत्ता सञ्चालन सूत्र नै सुशासन कायम गर्ने भन्ने थियो । प्रधानमन्त्रीले केपी ओलीले संसद्मा विश्वासको मत माग्ने बेलामा संसद्लाई जानकारी गराइएको त्यो सातबुँदाको पहिलो बुँदामै आमजनताको चाहनाबमोजिम राष्ट्रियहितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माण अभियानलाई तीव्रता दिन, राजनीतिक स्थिरताका लागि अन्य राजनीतिक दललाई समेत सहभागी गराई संविधानको धारा ७६ (२) अन्तर्गत राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने भनिएको छ । यो भनेको जनताको चाहनाबमोजिम राष्ट्रियहित गर्ने र भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्ने भन्ने नै हो । तर यो वचनबद्धता पूरा भएको वा गरिएजस्तो देखिँदैन । बरु थालनी नै नभएको भन्ने अवस्थाचाहिँ छ । यो भनेको सुशासनलाई ख्यालठट्टाको विषय बनाइएको अवस्था हो । आफैँले घोषणा गरेका कुरा कार्यान्वयनमा आउँदैनन् भने त्यो सम्बन्धित विषयमाथि ख्यालठट्टा नै हो ।
देशको भ्रष्टचारको अवस्थाबाटै पनि सुशासनको अवस्था सहजै अनुमान लगाउन सकिन्छ । सुशासन कायम गर्न भ्रष्टाचारको मुहान सफाई गर्नुपर्छ । तर, हामीकहाँ मुख्य मुहान् मानिएको राजनीतिक क्षेत्र नै अत्याधिक भ्रष्ट हुन पुग्दा शासकीय व्यवस्थामा नै गम्भीर समस्या देखिन थालेका छन् । राजनीतिक दल र विशेषगरी सत्तामा गएकाहरू जसरी हुन्छ कमाउधन्दामा लाग्ने गरेका छन् । जसका कारण मुलुक र जनताले दुःख पाएका छन् । अहिलेका शासक यति धेरै गैरजिम्मेवार छन् कि उनीहरूलाई जनताले भोग्नुपरेको पीडा मर्कासँग कुनै सरोकार छैन् । कसरी हुन्छ मस्त कमाउने र आफ्नालाई मात्रै पोस्ने काममा नै उनीहरू लिप्त हुन पुगेका छन् । यो अत्यन्तै दुःखद् हो । मुलुकमा संघीय शासन व्यवस्थाको अभ्यास भइरहे पनि भ्रष्टाचार, अनियमितता र बेरोजगारी समस्याका कारण यो शासन व्यवस्थामै समस्या उत्पन्न भएको छ । यस्ता समस्याको समाधान तत्काल नगर्ने हो भने संघीय शासन प्रणाली असफल हुने कुरा नकार्न सकिदैन । तसर्थ भ्रष्टचारमुक्त मुलुक निर्माणका लागि सुशासनलाई ख्यालठट्टा नबनाइयोस् ।