Shittalpati
विप्रेषणको सदुुपयोग गर

वैदेशिक रोजगारी वा अन्य किसिमका पेसा–व्यवसायबाट बाह्य देशबाट हुने आम्दानीलाई विप्रेषण (रेमिट्यान्स) भनिन्छ । सामान्यतया एक स्थानबाट कुनै पनि प्रयोजनका लागि अर्को स्थानसम्म रुपैयाँ पैसा पठाउने कार्य नै विप्रेषण  हो ।

नेपाल विश्वमै सबैभन्दा बढी विप्रेषण प्राप्त गर्ने देशहरूमध्येको एक बनेको छ । पारिवारिक तहमा आम्दानी वृद्धि गर्न र कुल गार्हस्थ उत्पादनमा यसको योगदान उल्लेखनीय पाइएको छ । गत दुई दशकको अवधिमा नेपालको अर्थतन्त्रको मेरुदण्ड नै विप्रेषण बन्दै आएको छ । कुल गार्हस्थ उत्पादनसँग तुलना गर्दा नेपाल सबैभन्दा बढी विप्रेषण प्राप्त गर्ने देशका रूपमा सन् २००९ मा स्थापित भएको थियो । त्यसपछिका वर्षहरूमा पनि विप्रेषण देशको सबैभन्दा भरपर्दो आर्थिक स्रोतका रूपमा रहिआएको छ । विप्रेषणले गरिबी घटाउन महत्वपूर्ण योगदान पु¥याइरहेको छ । विप्रेषण प्रयोग गरी आधारभूत आवश्यकता पूरा गर्न सकिन्छ । यसबाट मानिसहरूको जीवनस्तरमा दिनप्रतिदिन सुधार आउँदै जान्छ । विप्रेषणबाट  आमनागरिकको अवस्था सुधारसँगै देश विकासमा महत्वपूर्ण योगदान पुग्दै आए पनि यसको सही सदुपयोग हुन सकिरहेको छैन् । यो अत्यन्त दुःखको कुरा हो । नेपाल सरकारसँग विप्रेषणबाट प्राप्त रकमको सदुपयोग गरी उत्पादक क्षेत्रमा गर्ने कुनै नीति तथा कार्यक्रम समेत छैन । विदेशबाट सीप आर्जन गरेर फर्किएका आफ्ना नागरिकलाई उपयुक्त अवसर प्रदान गरेर उनीहरूमा भएको सीपको सदुपयोग गर्न सक्दा देशको अर्थतन्त्रले सुधारको गति लिन सक्ने थियो । तर, सरकार यस सन्दर्भमा गम्भीर भएकै छैन ।

विप्रेषणको वृद्धिमा मात्र रमाएर बस्ने प्रवृत्ति सरकारमा देखिएको छ । यो अस्थायी र अस्थिर स्रोत भएको जानकारीसमेत सरकारलाई भएको देखिँदैन । स्वरोजगार, वित्तीय लगानीजस्ता क्षेत्रमा विप्रेषणको प्रभावकारी उपयोग गरी अर्थतन्त्रको दीर्घकाली स्रोत बनाउन आवश्यक छ । यसो गर्न सकिएन भने यसले देशको अर्थतन्त्र लामो समय अस्तव्यस्त बनाउँछ । तसर्थ विप्रेषणबाट कुल गार्हस्थ उत्पादनका लागि एक तृतीयांस योगदान गरिरहेकोछ भनेर गौरव गर्ने हैन त्यसको सही सदुपयोग गरेर देशको दीर्घकालीन अर्थतन्त्र सुधारमा ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: आइतबार, जेठ २६, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update