Shittalpati
समयमै सचेत बनौं

नेपालमा मनसुन भित्रिइसकेको छ । मनसुनको आगमन कृषक समुदायका लागि भने राहतको खबर हो । समयमै वर्षा हुनु खेतीपातीका लागि अनुकूल हो, जसले अन्न उत्पादनमा सकारात्मक असर पर्छ । तर अर्काेतर्फ मनसुनसँगै आउने बाढीपहिरो, डुबानजस्ता प्राकृतिक विपद्ले प्रत्येक वर्ष सयौं नागरिकको ज्यान लिने गरेको छ । यस्ता घटनाबाट जनधनको क्षति न्यूनीकरण गर्न अहिलेबाटै तयारी गर्न आवश्यक छ । विगत वर्षहरूको अनुभवले विपद्पछिको उद्दारमा केही सक्रियता देखिए पनि त्यसअघिको पूर्वतयारी ज्यादै कमजोर रहेको देखाउँछ ।

गत वर्ष लगभग मनसुन निख्रन लागेको बेला अत्यन्त धेरै भौतिक तथा मानवीय क्षति हुनेगरी बाढीपहिरोको प्रभाव यही मध्यक्षेत्रमै पर्न गएको थियो । यो वर्षाद्मा पनि पीडा अन्त्यको कुनै सम्भावना छैन । प्रि–मौसमको पीडा त सरकारलाई पाठ हो । अब आगामी दिनहरूमा समेत यस्तो दुष्परिणाम नआउला भन्ने छैन । त्यसकारण समयमै यस प्रकारका मनसुनी वा मौसमी विपत्तिबाट सुरक्षित रहन बेलैदेखिको सतर्कता र सचेतताको आवश्यकता छ । गलत परिणाम आइसकेपछि त्यसमा पछुताउनु बुद्धिमानी होइन । समयमै त्यसका लागि पूर्वसावधानी अपनाउनै पर्छ ।  पहिलो कुरा कुनै प्रकारको दुष्परिणाम नआओस् भन्ने हो र यसका लागि जोखिमपूर्ण ठाउँहरूमा प्रतिरोधात्मक उपायहरूको अवलम्बन गर्नुपर्छ । नदी किनारका ठाउँहरू र पहिराको जोखिममा रहेका बस्ती जोगाउनेतर्फ बेलैदेखिको सतर्कता आवश्यक छ । नेपालको भूवनोट ओरालो–भिरालो छ । त्यसकारण यहाँको पहाडी क्षेत्रमा बाढीपहिरोको जोखिम बर्खाभरि नै रहिरहन्छ । हिमाली र पहाडी क्षेत्रको बाढी र पहिरो माथि शिरतिरबाट बगेर गएपछि तराईको मैदानी ठाउँमा पुगेर रोकिन्छ । त्यहाँ पानीको बगाव रोकिनासाथ लेदोले पुरिने र पानी जम्ने समस्या सिर्जना हुन्छ अर्थात् त्यहाँ डुबान हुन्छ । यसरी बर्खाभरि देशभरि नै वर्षात्जन्य समस्या सिर्जना हुनपुग्छन् । यसबाट जोगिन यातायात सञ्चालन हुने जोखिमपूर्ण बाटाहरूमा यात्रामा रोक लगाउनुपर्छ । सकेसम्म दुष्परिणाम हुन दिनुहुँदैन भइहालेकाखण्डमा यथाशक्य छिटो उद्धारको प्रयास हुनुपर्छ । यसर्थ विपद्बाट हुने घटनाबाट जोगिन समयमै सचेत बनौं ।

प्रकाशित मिति: मंगलबार, जेठ २१, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update