Shittalpati
अवैध रूपमा नदीजन्य पदार्थ निकासी गर्ने ट्याक्टर नियन्त्रणमा

पाल्पा, जिल्लाको तिनाउ गाउँपालिका–२ दोभानस्थित तिनाउ खोलाबाट अवैध रूपमा ढुङ्गा र बालुवा लोड गर्दै गरेको अवस्थामा प्रहरीले दुईवटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । प्रहरीचौकी दोभानबाट खटिएको प्रहरी टोलीले लु ४ त ३६६० र लु ३ त ९४३९ नम्बरका ट्याक्टरलाई ढुङ्गा र बालुवा लोड गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो । नियन्त्रमा लिइएका ट्याक्टरलाई आवश्यक कारवाहीका लागि गाउँपालिकामा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै प्रहरीले जथाभावी ढुङ्गा र बालुवा लोड गरेर हिड्ने टिपर चालकलाई सचेत गराएको छ । 

प्रहरी चौकी दोभानबाट खटिएको ट्राफिक प्रहरीसहितको टोलीले सिद्धार्थ राजमार्गमा चल्ने टिपरका चालक तथा सहचालकहरूलाई भेला गरी सचेतना कार्यक्रम सञ्चालन गरेको हो । प्रहरीले ओभरलोड नगर्न, तीव्र गतिमा गाडी नचलाउन, नम्बर प्लेट दुरुस्त राख्न र लोड गरिएको सामग्रीमा त्रिपालको प्रयोग गर्न चालक, सहचालकलाई आग्रह गरेको छ ।

प्रकाशित मिति: सोमबार, जेठ १३, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update