
पर्यावरणीय र सामाजिक—आर्थिक दृष्टिकोणमा जैविक विविधताहरु निकै महत्वपूर्ण मानिन्छन् । जीवित प्राणी र वनस्पतिबीचको भिन्नता, किसिम एवं फरकपनलाई जैविक विविधता भनिन्छ । जैविक विविधताले जल, स्थल, समुद्र तथा सिमसारमा रहेका सबै जीवित प्राणी तथा वनस्पतिबीच पाइने फरकपन, प्रकार तथा तिनीहरूबीचको अन्तरसम्बन्ध एवं संयोजनसमेतलाई जनाउँछ । कुनै एक स्थानको वन क्षेत्रमा वनस्पति, पशुपन्छी र अन्य जीव रहेका हुन्छन् । यो जैविक विविधता हो । वास्तवमा भन्ने हो भने पृथ्वीमा भएको सुक्ष्म तथा स्थूल जीव अनि वनस्पतिको समष्टी रुपलाई नै जैविक विविधताको रुपमा लिइन्छ । तर विश्वब्यापी रुपमै अहिले जैविक विविधता संकटमा परिरहेका छन् । यसो हुनुको मुख्य कारण चोरि शिकारी, वन विनाश,तिब्र शहरीकरण र प्रदुषणलाई जिम्मेवार मानिन्छ । स्वदेशी र विदेशी बजारमा वन्यजन्तुका विभिन्न अंगहरुको ठूूलो माग भएकोले विश्वभरी वन्यजन्तुहरुको शिकार गर्ने कार्य भैरहेको छ । पछिल्लो समयमा नेपालमा कमजोर वन व्यवस्थापन, प्रदुषण, अव्यवस्थित विकास निर्माण कार्य र जलाधार क्षेत्रको विनाशले वन्यजन्तु विनाशमा मुख्य भूमिका खेलेको छ ।
सुकुम्बासीको नाममा जंगल विनाश भएर जैविक मार्ग टुक्रनु, वैज्ञानिक वन व्यवस्थापनको नाममा गैह्र काष्ठ वनस्पति, वन्य फलफूलका विरुवा र कन्दमूलहरु तथा मिश्रित प्रजातिका झाँडीहरु निर्मूल पार्ने क्रम बढेकोले वन क्षेत्रमा वन्यजन्तुको लागि चरन, आहारा, आश्रय तथा क्रिडास्थलको अभाव हुँदै गएको छ । रुख काटछाँटको नाममा वनमा मानिसको निरन्तर चहलपहल भैरहने र हरेक वर्ष वनमा दोहिरिने वनडढेलोको कारणले वनस्पती र वन्यजन्तु उपस्थिति पातलिदै गएको छ । प्राकृतिक श्रोतको अत्यधिक दोहन तथा बासस्थानको विनास अनि बढ्दै गएको जलवायु परिवर्तन र विश्व उष्णीकरणका कारण जैविक विविधता संकटमा परिरहेको छ । तर यसको संरक्षणतर्फ भने कसैको पनि चासो जान सकेको छैन । जैविक विविधताको संरक्षणका लागि हरेक वर्षको मे २२ मा अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मनाइने गरिन्छ । आज पनि यो दिवस विश्व समुदायले मनाउँदै छ । तर हरेक वर्ष यो दिवस मनाइँने गरे पनि अहिलेसम्म जैविक विविधता संरक्षणमा भने कसैको पनि ध्यान गएको देखिदैन । दिवस औपचारिकतामा मात्र सिमित हुन पुगेको छ । मानवीय क्रियाकलापका कारण पृथ्वीबाट कैयन जीवजन्तुका वंश नै समाप्त भैसकेका छन् भने कुनै अति नै संकटापन्न अवस्थामा पुगिसकेको सन्दर्भमा भावी संकट टार्नको लागि अब मानव समुदायले जैविक विविधता जोगाउने दिशामा ध्यान दिन जरुरी छ ।