
पाल्पा, प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाउने उभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ । यो चाड किरात याक्खा, सुनुवार, लिम्बू र राई समुदायले मनाउने गर्दछन् । किरात याक्खा, सुनुवार, लिम्बू र राई समुदायको मागअनुसार सरकारले २०५८ सालमा राष्ट्रिय चाडको रुपमा घोषणा गरेको थियो । यस चाडलाई याक्खाले चासुवा, सुनुवारले फोलस्याँदर, लिम्बुले चासोक तङनाम र राईले साकेला भनेर मनाउँने गर्दछन् ।
यो चाड कृषि कर्ममा आधारित भएर मनाउने गरिएको जानकारहरु बताउँछन् । बैशाख पूर्णिमामा पर्ने उभौलीमा प्रकृति भूमि र पुर्खाको पुजा गरी धुमधामसँग खेतीपाती सुरु गर्ने परम्परा छ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको हो । गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उभौली रहेको हो । वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङङ्गीलगायत जङ्गल जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ । नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाइ छ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिस आजदेखि उँभो लाग्छन् । उँभोको अर्थ खेती पाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने पनि रहेको छ । यस पर्वका अवसरमा चण्डी नाच नाचिन्छ । यसै कारण वैशाख शुक्ल पूर्णिमाको दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ ।