Shittalpati
प्रदेश पाँच सरकारबाट १८ पक्की पुल बन्दै


नवलपरासी । आर्थिक वर्ष २०७६/०७७ मा प्रदेश पाँच अन्तर्गतको भौतिक पूर्वाधार विकास मन्त्रालयले १८ पक्की पुल निमार्ण जारी राखेको छ । प्रदेश सरकारको लगानीमा तीन जिल्लामा सानो तथा ठूलो लगानीमा ती पुल निर्माण भइरहेको सडक पूर्वाधार विकास कार्यालय रुपन्देहीले जनाएको छ । मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालय अन्तर्गत सडक पूर्वाधार विकास कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीमा नौं, कपिलवस्तुमा पाँच र नवलपरासी (बर्दघाट सुस्ता–पश्चिम) मा चार पक्की पुल निर्माण भइरहेको छ ।

प्रदेश सरकारको लगानीमा न्यूनतम ६० लाखदेखि अधिकतम पाँच करोडसम्मको लगानीमा पुल निमार्ण जारी रहेको सडक पूर्वाधार विकास कार्यालय रुपन्देहीका कार्यालय प्रमुख एवं सिनियर डिभिजन इञ्जिनीयर ललितबहादुर न्यौपाने बताए । सशर्त तर्फ संघीय सरकारको लगानीमा क्रमागत रुपमा सञ्चालन भएको पुलका निर्माणाधीन योजनामध्ये एक करोड ७५ लाखको लगानीमा रुपन्देही स्थित चरंगे (त्रिशूली) खोला देवदह–पाल्पा सडक पुल र ४० लाखको लागतमा रुपन्देही स्थित घमाहा पुल निमार्ण योजना सम्पन्न भएको जनाइएको छ । सशर्त तर्फकै कपिलवस्तुको हुडरहवा खोला पुलको निमार्ण जारी छ भने रुपन्देहीकै सुखौरा खोला सडक पुल र कोठी खोला सडक पुल निमार्णको खरीद प्रक्रिया अघि बढाइएको छ ।

प्रदेश सरकारको लगानीमा चालु आर्थिक वर्षमा तीन जिल्लामध्ये सबैभन्दा बढी रुपन्देहीका विभिन्न स्थानमा निमार्ण जारी छ । रुपन्देहीमा निर्माणाधीन पुलमा चार करोडको लागतमा कञ्चन नदी पुल (क्रमागत), चार करोडको लागतमा त्रिशूली खोला भालुभाट पुल (सम्झौता सम्पन्न), एक करोड ५० लाखको लागतमा खहरे खोला पुल लडियाबास, एक करोड ५० लाखको लागतमा मिलक पार्क सडक पुल, एक करोडको लागतमा बान्द्रह खोला सडक पुल, दुई करोड ५० लाखको लागतमा धागो कारखाना चरङ्गे झुम्सा सडकमा पर्ने चार कल्भर्ट पुल निर्माण, ६०/६० लाखको लागतमा बबनी खोला पुल र बैदाना खोला पुल तथा ४० लाखको लागतमा बङ्गाली खोला पुल निर्माणाधनी छन् । चालु आवमा कपिलवस्तु जिल्लाका विभिन्न स्थानमा चार पक्की पुलको निमार्ण जारी छ ।

सो अनुसार पाँच करोडको लागतमा कञ्चनिया खोला पुल (क्रमागत), दुई करोड पचास लाखको लागतमा गलाहा कुलो पुल, एक/एक करोडको लागतमा राजाकिया खोला पुल र ६५ लाखको लागतमा कोइली खोला पुल निर्माणाधीन छन् । नवलपरासी (बर्दघाट सुस्ता–पश्चिम) जिल्लामा समेत चालु आवमा विभिन्न स्थानमा चार पक्की पुल निर्माण भइरहेका छन् । पाँच करोडको लागतमा झरही खोला (क्रमागत), तीन करोडको लागतमा वनकट्टी र छडेनी जोड्ने मोटरेवल पुल, दुई करोड २५ लाखको लागतमा तुरिया खोला पुल र एक करोड ५० लाखको लागतमा बेलारी खोला पुल निर्माणाधीन छन् ।

आगामी आव २०७७/०७८ मा नयाँ योजनाभन्दा पनि क्रमागत रुपमा सञ्चालन योजना सहित यस वर्ष पूरा हुन नसकेका योजनालाई निरन्तरता दिने योजना रहेको कार्यालय प्रमुख एवंम् सिनियर डिभिजन इञ्जिनीयर न्यौपानेले बताए । प्रादेशिक संरचनानुसार विसं २०७५ मा स्थापना भएको सडक पूर्वाधार विकास कार्यालयले रुपन्देही, कपिलवस्तु र नवलपरासी (बर्दघाट सुस्ता–पश्चिम) का तीन जिल्लामा पुल र सडकको स्तर वृद्धिमा काम गर्दै आएको छ । –रासस

प्रकाशित मिति: बुधबार, जेठ २८, २०७७  १०:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update