
सामान्यतया कुनै पनि देशको अर्थतन्त्रलाई बन्द अर्थतन्त्र र खूल्ला अर्थतन्त्र गरि दुई आधारमा हेर्ने गरिन्छ । बन्द अर्थतन्त्रमा घरायसी क्षेत्र, व्यवसायिक क्षेत्र र सरकारी क्षेत्र पर्ने गर्दछन् भने खुला अर्थतन्त्रमा थप अन्तर्राष्ट्रिय क्षेत्र समावेश हुने गर्दछ । जहाँ अन्तर्राष्ट्रिय क्षेत्र भित्र आयात – निर्यात व्यापार पर्ने गर्दछ । कुनै पनि देशको अर्थतन्त्र त्यस देश सञ्चालनको आधार हो ।
यसलाई शरीरको रक्तसञ्चारसँग तुलना गर्न सकिन्छ । यसैका आधारमा देश विकास र जनताको जीवनस्तर सुधार गर्ने योजना निमार्ण हुने गर्दछ । सन् १९६० को दशकमा नेपालसँगै विकासको अवस्थामा रहेका दक्षिण कोरीया, मलेसिया, थाइल्याण्ड जस्ता देशहरुले विकासमा फड्को मारी आफुलाई विश्व सामु अब्बल सावित गरिरहेको छन् तर हामी भने स.न. २०२६ मा मात्रै विकाशील देशमा स्तरोन्नति हुँदैछौ यसको कारण विश्लेषण गर्दै, अर्थतन्त्रका चार क्षेत्रमा सुधार गर्नका लागि आवश्यक कदम चाल्नु आवश्यक देखिन्छ ।
पछिल्लो समय नेपालको अर्थतन्त्र केही बाह्य तत्व र केही आन्तरिक तत्वका कारण समस्या ग्रस्थ अवस्थामा रहेको कुरामा दुईमत रहँदैन् । मुख्य कारणहरुमा विश्व अर्थतन्त्रमा कोभिड–१९ को दीर्घकालिन प्रभाव, रुस युक्रेन युद्ध, विश्वका मध्य पूर्वका देशहरुबिचको भू–राजनीतिक तनाव, न्यून उत्पादन र उच्च ऋण लागत रहेका छन् । बेला–बेलामा देशका अर्थमन्त्रीले आयले व्यय धान्न नसकेको कुरा गरेको सुनिन्छ । सरकारहरुले अर्थतन्त्रलाई सरकारको सफलता र असफलतासँग जोड्ने प्रवृत्तिमा नेपालमा रहेको र यसका लागि अर्थतन्त्रको यथार्थ स्थितिको तथ्याकं देखाउन सरकार हिचकिच्याएको देखिन्छ । यो नेपालको अर्थतन्त्रसँग सम्बन्धित सबै भन्दा ठूलो समस्याको रुपमा रहेको देखिन्छ । नेपालको अर्थतन्त्रको वर्तमान अवस्था, विश्व अर्थतन्त्रको परिवेश, नेपालको अर्थतन्त्रको चुनौती लगायत विविध पक्षलाई लिएर यहाँ चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ ।
विश्व अर्थतन्त्रको वर्तमान अवस्थाः
विश्व अर्थतन्त्रको वृद्धिदर स.न २०२३ मा ३ दशमलव ३ प्रतिशत रहेकोमा स.न.२०२४ मा ३ दशमलव २ प्रतिशत र सन् २०२५ मा ३ दशमलव २ प्रतिशत रहेको प्रक्षेपण गरिएको छ ।
सन् २०२३ मा भारत र चीनको अर्थतन्त्र क्रमश : ८ दशमलव २ प्रतिशत र ५ दशमलव २ प्रतिशतले विस्तार भएकोमा सन् २०२४ मा क्रमशः ७ प्रतिशत र ५ प्रतिशत रहेको र सन् २०२५ सम्म आईपूग्दा क्रमश ६ दशमलव ५ र ४ दशमलव ५ प्रतिशत रहने अनुमान गरिएको छ । वि.स २०२३ मा विश्व उपोभोक्ता मुद्रास्फिती ६ दशमलव ७ प्रतिशत । वि.स २०२४ मा ५ दशमलव ८ प्रतिशत र स.न.२०२५ सम्ममा ४ दशमलव ३ प्रतिशत रहने अनुमान गरिएको छ ।
नेपालको वर्तमान अर्थतन्त्रको अवस्था :
नेपाल सरकाका निकायहरुले प्रस्तुत गर्ने फरक–फरक तथ्यांकका कारण नेपालको अर्थतन्त्रको अवस्था प्रति आम जनता विश्वस्त हुन नसक्नुको मुख्य कारण हुँदा हुँदै पनि यहाँ नेपाल राष्ट्र बैंक, राष्ट्रिय तथ्याक विभाग, आर्थिक सर्वेक्षण २०८१/०८२ को आर्थिक सर्वेक्षणका आधारमा केहि तथ्याङ्क प्रस्तुत गरिएको छ ।
जुन सकरात्मक रुपमा रहेका छन् । आर्थिक बर्ष २०८१/०८२ मा नेपालको कुल ग्राहस्थ उत्पादन ( GDP ) को वृद्धि दर ४ दशमलव ९ प्रतिशत रहने अनुमान गरिएको छ भने यो अघिल्लो वर्षको तुलनामा ३ दशमलव ९ प्रतिशतले बढी हो । यसमा वृद्धि हुनुको मुख्य कारणको रुपमा कृषि र ओद्योगिक क्षेत्रमा आएको सुधारलाई लिन सकिन्छ । विश्व बैंकले नेपालको आर्थिक वृद्धि दर ५ दशमलव १ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विदेशी विनिमय सञ्चिति रु. १९११ अर्ब ८६ करोड, शोधानान्तर स्थिति रु.३६५ अर्ब १६ करोड बचत रहेको । मुद्रास्फिती दर ४ दशमलव ९ प्रतिशत छ । गरिबीको अबस्था १३ दशमलव ८ प्रतिशत ,बेरोजगारी दर १२ दशमलव ६ प्रतिशत, प्रति व्यक्ति आय १५१७ अमेरिकी डलर रहेको छ । प्रतिव्यक्ति खर्च योग्य आय १८४३ अमेरिकी डलर रहेको छ । प्रतिव्यक्ति कुल ग्राहस्थ उत्पादन १४३४ डलर रहेको छ । कुल ग्राहस्थ उत्पादनमा कृषि, उद्योग र उत्पादन क्षेत्र क्रमश २४ दशमलव ०९, १३ र ६२ दशमलव ९ प्रतिशत रहेको छ ।
नेपालको अर्थतन्त्रका चुनौतीहरु :
नेपालको पछिल्लो अर्थतन्त्रको अध्ययन तथा विश्लेषणबाट केहि चुनौतीहरुलाई निम्न अनुसार देखाउन सकिन्छ ।
– दिगो आर्थिक वृद्धिदर हासील गर्ने पक्ष ।
– उत्पाद तथा उत्पादकत्व बढाउने पक्ष ।
– समानुपातिक बजेट विनियोजन पक्ष ।
– पुँजीगत खर्च शत प्रतिशत गर्ने पक्ष ।
– प्राथमिकता प्राप्त क्षेत्रमा बजेट विनियोजन गर्ने पक्ष ।
– राजश्व प्रणालीमा सुधार गर्ने ।
– सार्वजनिक खर्च व्यवस्थापन ।
– थप आम्दानीका स्रोतको खोजी ।
– सार्वजनिक ऋण, अनुदान र सहयोगको व्यवस्थापन पक्ष ।
– लगानी मैत्री वातावरणमा सुधार गर्ने पक्ष ।
– व्यापार घाटा न्यूनिकरण गर्ने ।
– रोजगारी सिर्जना गर्ने ।
– गरिबीको अन्त्य र जनताको दैनिकी सुधार गर्ने ।
– संघ, प्रदेश र स्थानीय तह बीच आर्थिक समन्वय र सहकार्य गर्ने पक्ष ।
– प्राकृतिक स्रोतको परिचालन ।
– आत्मनिर्भर अर्थतन्त्रको खोजी गर्ने पक्ष ।
नेपालको अर्थतन्त्रलाई मितव्ययी बनाउने पक्षहरु :
– थप व्ययसँगै आय पनि खोजी तथा बढाउदै लैजाने ।
– प्रदेश तथा स्थानीय तहलाई आर्थिक रुपमा मितव्ययीका लागि आवश्यक नियन्त्रण गर्ने ।
– प्रदेश, स्थानीय तह, साँसद र मन्त्रीको संख्यामा कटौती गर्ने ।
– कार्यालय र कर्मचारी दरवन्दीमा पुर्नसंरचना गर्ने ।
– आर्थिक विधि, आर्थिक ऐन नियमको पालन गर्ने ।
– तीनै तह, मन्त्रालय, विभाग, कार्यालयमा वित्तिय अनुशासन कायम गर्ने ।
– वेरुजु नियन्त्रणमा विशेष जोड दिने ।
– जथाभावी दरवन्दी सिर्जना र कारार नियुक्तीमा नियन्त्रण गर्ने ।
अर्थतन्त्रमा समस्या ल्याउने पक्षहरु :
– वैदेशीक सहयोग र अनुदानकै भरमा विकास योजना तय गर्नु ।
– वैदेशीक सहयोग नीति अबलम्वनको अभाव ।
– वैदेशीक ऋणको अश बढाउँदै लैजानु, यसमा नियन्त्रणको कदम नचाल्नु ।
– सार्वजनिक खर्च बढाउदै लैजानु, आम्दानीको स्रोत नखोज्नु ।
– वैदेशिक व्यापारको अवस्था दयनिय हुनु जहाँ निर्यात भन्दा आयातको अशं बढी हुनु ।
– वैदेशिक व्यापारमा आयात महँगा तयारी बस्तु र निर्यात सस्ता प्राथमिक बस्तु हुनु ।
– डलर बेचेर भारतीय रुपैयाँ किन्नु पर्ने अवस्था कायम भई रहनु ।
– आम्दानीले खर्च धान्न समस्या ।
– राज्यको नयाँ सरचनासँगै प्रशासनिक खर्च अत्याधिक बढ्दै जानु ।
– स्वेच्छाचारी तरीकाले व्ययभार बढाउदै लानु
– वैदेशिक ऋणको अशं बढाउदै लैजानु, बजेटको ठूलो अशं साँवा व्याज भुक्तानीका लागि छुट्याउनु पर्ने ।
– वैदेशिक मुद्रा प्राप्तीको भरपर्दो स्रोत रेमिटान्स हुनु ।
निष्कर्ष :
अथाहा प्राकृतिक स्रोत र साधनले भरिपूर्ण देश, जसको प्रयोगबाट अर्थतन्त्रलाई उच्च विन्दुमा पुर्याउन सकिने सम्भावना हुँदा हुँदै यसतर्फ बेखवर हुनु, वैदेशीक ऋण र अनुदानकै भरमा देश सञ्चालनको आधार तय गर्ने प्रवृत्तिको अन्त्य गर्दै देशको माटो सुहाँउदो, आवश्यकता र औचित्यका आधारमा योजना छनौट गर्दै, अर्थतन्त्रलाई मितव्ययी बनाउन सकेमा देशको अर्थतन्त्रले गति लिन सक्ने देखिन्छ । यसका लागि तीनै तहका सरकार, निजी क्षेत्र, सहकारी क्षेत्र, गैरसरकारी संस्था, विकासका साझेदार, लगानीकर्ता तथा आमनागरिक समाज आ–आफ्नो स्थानबाट कटिबद्ध भएर लाग्नु पर्ने देखिन्छ ।
(लेखक अर्थशास्त्रका प्राध्यापक समेत हुन् ।)