Shittalpati
श्रमिकको सुरक्षामा ध्यान देऊ

उद्योग, व्यवसाय, कम्पनी, सघं संस्था सञ्चालन गर्न पहिलो प्राथमिकतामा श्रमिक पर्छन् । श्रमिकबिना कुनै पनि संस्थाको काम राम्रो र व्यवस्थित ढङ्गले सञ्चालन हुन सक्दैन । कुनै पनि प्रतिष्ठानमा काम गर्ने श्रमिकको स्वास्थ्य रक्षा र सुरक्षा महत्वपूर्ण विषय हो । तर श्रमिकको स्वास्थ्य र उत्पादकत्वसँग जोडिएको व्यवसायजन्य सुरक्षा र स्वास्थ्यलाई खासै प्राथमिकतामा राखेको पाइँदैन । यो अत्यन्त दुःखको कुरा हो । कुनै पनि पेसा व्यवसायको प्रकृतिअनुसार कार्यथलोमा काम गर्दा हुने दुर्घटना, श्रमिकको स्वास्थ्यमा पर्ने शारीरिक, मानसिक वा जोखिमयुक्त असुरक्षित वातावरणलाई घटाउँदै स्वस्थ र सुरक्षित वातावरण स्थापित गरी श्रमिकलाई विभिन्न दुर्घटना, जोखिम र अल्पकालीन एवं दीर्घकालीन व्यावसायिक रोगबाट बचाउन विकसित भएको अवधारणा नै व्यवसायजन्य सुरक्षा र स्वास्थ्य हो । यसले श्रमिकको स्वास्थ्य, उत्पादकत्व तथा आर्थिक पक्षलाई समेत प्रत्यक्ष प्रभाव पर्ने भएकाले यो विषयलाई सबै पक्षले गम्भीर ध्यान दिनुपर्ने हो तर त्यसो हुन सकेको छैन् । नेपालसहित विश्वभर नै श्रमिकको सुरक्षाको तथ्यांक भयावह छ । हरेक वर्ष विश्वमा लाखौं श्रमिकहरु पेसागत दुर्घटना र रोगबाट मृत्यु भइरहेका छन् । 

नेपालको सन्दर्भमा पनि यसको अवस्था गम्भीर छ । तर सम्बन्धित निकायले दुर्घटना, जोखिम, प्रभावित संख्या र व्यवसायजन्य दुर्घटना एवं रोगबाट कति श्रमिक वा मानिसको मृत्यु भएका छन् ? तथ्यांक राख्न सकेको छैन । नेपालको श्रम विश्वका विभिन्न क्षेत्र निर्माण, कलकारखाना, कृषि, फुटपाथ, यातायात, गलैंचा, गार्मेन्ट, टेक्सटाइल लगायतमा  सुरक्षा तथा स्वास्थ्यको अवस्था अत्यन्तै नाजुक रहेको दिनहुँ आइरहने श्रमिक मृत्यु भएका समाचारबाट समेत पुष्टि हुन्छ । तथापि यसको व्यवस्थित तथ्यांक राख्न नेपालको श्रम मन्त्रालय चुकेको छ । नेपाल सरकारले व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्र स्थापना त गरेको छ तर यसले प्रभावकारी काम गर्न सकिरहेको छैन् । हरेक वर्ष मे १ तारिखमा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने गरिन्छ । आज पनि हरेक वर्ष जस्तै यस वर्षको दिवस मनाइँदै छ । तर यो दिवस औपचारितामै सिमित बन्न पुगेको छ । औपचारिकता र कर्मकाण्डी ढङ्गले दिवसहरू मनाउने प्रचलनले श्रमिकको मर्म र भावनामा ठेस पुग्ने गरेको छ । श्रमिकको स्वास्थ्य रक्षा र सुरक्षा व्यवस्था राम्रो भएको औद्योगिक प्रतिष्ठानले मात्र प्रगतिको बाटोमा अघि बढ्न सफल हुन्छ । त्यसैले प्रतिष्ठानमा कार्यरत श्रमिकको राम्रो स्याहार, हेरविचार एवं स्वास्थ्य रक्षाको नितान्त आवश्यक हुन्छ । श्रमिकलाई औद्योगिक प्रतिष्ठानबाट राम्रो पारिश्रमिक दिएर मात्र पर्याप्त हुँदैन, उसको स्वास्थ्य रक्षा र जीवन सुरक्षामा पनि ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update