Shittalpati
छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

पाल्पा, देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार नवलपरासी पश्रिुचम, डोटी, सुनसरी, कैलाली, पर्सामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी सात जनाको मृत्यु भएको हो ।

नवलपरासी पश्रुचिमको पाल्हीनन्दन गाउँपालिका–३ कुस्मास्थित सडकमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्री ज्यान गएको छ । युपि ५६ के ९३१८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँकी २२ वर्षीया ज्योती चौहानको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै डोटीको जोरायल गाउँपालिका–१ गोल्डेनस्थित सडकमा मिनिट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सु.प.प्र.०१ ००१ ख ३४२८ नम्बरको मिनिट्रक अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर बुधबार बिहान दुर्घटना हुँदा चालक बझाङ बुंगल नगरपालिका–२ दहबगर बस्ने ३३ वर्षीय अर्जुन धामी, मिनिट्रकमा सवार ४३ वर्षीय उज्ज्वल धामी र ४१ वर्षीय जगत धामीको घटनास्थलमै मृत्यु भएको हो । यस्तै सुनसरीको इटहरी उपमहानगरपालिका–१० स्थित सडकमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हाल नम्बर नखुलेको इलेक्ट्रिक स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक हाल नाम, थर, वतन नखुलेका अन्दाजी १६ वर्षीय किशोरको मृत्यु भएको प्रहरीले जनाएको छ  ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराट टिचिङ मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै पर्साको वीरगंज महानगरपालिका–२१ परवानीपुरस्थित सडकमा ना.६ ख ७५०९ नम्बरको ट्रकले प्र.–२–०३–०२१ प ६३०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोही महानगरपालिका–२१ परवानीपुर बस्ने १९ वर्षीय प्रदिप कुमार गुप्ताको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रण लिएको छ । उता कैलालीको धनगढी उपमहानगरपालिका–८ क्याम्पस चोकस्थित सडकमा ट्याक्टरले मोटरसाइकलाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । सु.प.प्र.०१–००२ त ४०१५ नम्बरको ट्याक्टरले सु.प.प्र.०१–०११ प ८७१७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोही उपमहानगरपालिका–८ धनगढीगाउँ बस्ने ५५ वर्षीय सुन्दर चौधरीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सम्पूर्ण घटनाका विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update