Shittalpati
तिलोत्तमा : कृषि, स्वास्थ्य र शिक्षा प्राथमिकतामा

रुपन्देही । कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा दिएर तिलोत्तमा नगरपालिकाले तयार गरेको आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रम नगरसभाबाट पारित भएको छ । नगरपालिकाको सातौँ नगरसभाको पहिलो बैठकमा नगर प्रमुख वासुदेव घिमिरेले कोभिड–१९ बाट उत्पन्न परिस्थितिलाई ध्यानमा राखी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रम आइतबार बसेको नगर सभाको दोस्रो बैठकमा दफाबार छलफलपछि सर्वसम्मत पारित भएको हो ।

बैठकमा नगरसभा सदस्य भोमबहादुर बुढा मगर, मानकाजी श्रेष्ठ, रमेश आचार्य, धनबहादुर खड्का, श्यामकुमारी गौतम, श्यामलाल क्षेत्री, पार्वती क्षेत्रीलगायतले नीति कार्यक्रमको सफल कार्यान्वयनमा जोड दिएका थिए । नगरसभा सदस्यले राखेका जिज्ञासाको जवाफ दिँदै नगर प्रमुख घिमिरेले स्थानीयस्तरमै रोजगारीका अवसर सिर्जना गर्नु, सरकारी स्वास्थ्य संस्थालाई सुदृढ बनाउनु, कृषि उत्पादनमा आत्मनिर्भर बन्नु अहिलेको अपरिहार्य आवश्यकतालाई नीति तथा कार्यक्रममा समावेश गरिएको बताए । नीति तथा कार्यक्रम नगरको एकीकृत शहरी विकास योजना कार्यान्वयनमा केन्द्रित रहेको उनकोे भनाइ थियो ।

नगरका स्वास्थ्यचौकीलाई न्यूनतम पूर्वाधार, उपकरण र जनशक्तियुक्त बनाई भरपर्दो र विश्वसनीय सेवासहितको आकर्षक स्वास्थ्य केन्द्रका रुपमा विकास गर्ने, थप दुई स्वास्थ्य चौकीमा चिकित्सक नियुक्त गर्ने, प्रयोगशालाबाट एनालाइजर सहितको सेवा प्रदान गर्ने, सेमरा बजार स्वास्थ्य चौकीलाई अस्पतालका रुपमा रुपान्तरण गर्ने, प्रत्येक स्वास्थ्य संस्थामा सुविधासम्पन्न खोप केन्द्र सञ्चालनका लागि पूर्वाधार निर्माण गर्ने तथा सामुदायिक विद्यालयमा विद्यालय स्वास्थ्य कार्यक्रम लागु गर्ने कुरा नीति तथा कार्यक्रममा उल्लेख छ ।

पचहत्तर वर्ष उमेरमाथिका नागरिक तथा अपाङ्गता भएकाहरुलाई आधारभूत स्वास्थ्य सेवा घरमै पुगेर प्रदान गर्ने, विपन्न वर्गलाई स्वास्थ्य बीमामा अनुदान दिने, बर्थिङ सेण्टरमा सुत्केरी हुनेलाई प्रोत्साहन भत्ता रु एक हजार पु¥याउने र गर्भवतीलाई सुपानेट झुल दिने विषय पनि तिलोत्तमाको नीति तथा कार्यक्रममा समेटिएको छ । चालु आर्थिक वर्षका सबै शिक्षा कार्यक्रमलाई निरन्तरता दिँदै कम्तीमा पाँच सामुदायिक विद्यालयलाई बस खरीदका लागि प्रतिविद्यालय रु १० लाख विशेष अनुदान उपलब्ध गराइने नीति तथा कार्यक्रम रहेको नगर प्रमुख घिमिरेले बताए । नीति तथा कार्यक्रममा सामान्यतया चालु वर्षकै करको दरलाई आगामी आर्थिक वर्षमा निरन्तरता दिइएको छ ।

सोह्र–छत्तीस मूल नहरको सम्भाव्यस्थलमा बहुउपयोगी जलाशय निर्माण गरी माछापालन गर्ने, नगरका सम्भाव्य स्थानमा जलाशय निर्माण गरी पानी पुनःभरण हुने व्यवस्था मिलाउने,‘तिलोत्तमा लगानी सम्मेलन’ मा जनाइएको प्रतिबद्धतानुसार परियोजना कार्यान्वयनका लागि आवश्यक सहजीकरण गर्ने, नेपाल बैंक लिमिटेडसँगको सहकार्यमा थप १५० युवालाई रु चार लाखसम्म सहुलियत ऋण दिने र सुधारिएको आरन पेशामा आबद्ध हुन चाहनेलाई उपकरणमा ८० प्रतिशत अनुदान दिने नगरपालिकाको योजना छ । यस्तै नगरपालिकाले सम्भव हुने वडामा सार्वजनिक–निजी–साझेदारी ढाँचामा कम्तीमा १० बिघा जमीन चक्लाबन्दी गरी व्यावसायिक खेती शुरु गर्ने महत्वाकाङ्क्षी नीति लिएको छ । –रासस

 

प्रकाशित मिति: सोमबार, जेठ २६, २०७७  १२:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update