Shittalpati
फोहोरबाट मल बनाउँदै नगर सरकार

चितवन । पूर्वी चितवनमा रहेको राप्ती नगरपालिकामा फोहोर संकलन गरेर मल उत्पादन गरिने भएको छ । मल उत्पादनका लागि आवश्यक संरचना बनिसकेको छ । लकडाउन खुलेसँगै फोहोर संकलन थालिने छ । नगरपालिका प्रमुख प्रभा बरालले राप्ती नगरपालिका–२ मा स्थानीय शिवशक्ति सामुदायिक वनसँग सहकार्य गरेर काम शुरु गरेको जानकारी दिए ।

बाग्मती प्रदेश र नगरपालिकाको करिब रु एक करोड लगानीमा जापानिज प्रविधिबाट रिकिसी नामक संस्थाको प्राविधिक सहयोगमा मल उत्पादन गर्न लागिएको हो । सो क्षेत्रमा टहरा निर्माण गरी तीनै टहराभित्र फोहरबाट मल तयार गरिएको छ । सो स्थलमा संरचना निर्माण गरी परीक्षणका रुपमा मल उत्पादन थालिएको छ । वितरणका लागि बाल्टीसमेत खरिद गरिसकिएको छ । फोहोर संकलनका लागि ट्याक्टर खरिद गर्ने प्रक्रियामा रहेको उनले जानकारी दिए । हरेक घरमा तीनवटा बाल्टी वितरण गरिनेछ । कुहिने, नकुहिने र बेच्न मिल्ने फोहोर छुट्याएर मल उत्पादन गरिनेछ । मल नहुने फोहोर विक्री गरिनेछ । मल उत्पादनका लागि २५ जना कर्मचारीले तालिम लिइसकेको बरालको भनाइ छ । त्यहाँबाट उत्पादित प्राङ्गारिक मललाई कृषकलाई अनुदानका रुपमा वितरण गरिने उनले जानकारी दिए । नगरपालिकाको शहरी क्षेत्रमा धेरै फोहोर जम्मा हुने गर्छ । पछिल्लो समय बनेको नगरपालिका भएकाले शुरुदेखि नै फोहोर व्यवस्थित गर्नका लागि मल उत्पादन गर्न थालिएको उनले बताए । –रासस

प्रकाशित मिति: शनिबार, जेठ २४, २०७७  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update