Shittalpati
दमारका कृषकलाई निःशुल्क मौरी सहितको घार

पाल्पा । मौरीपालक कृषकलाई निःशुल्क मौरी सहित घार वितरण गरिएको छ । जिल्लाको माथागढी गाउँपालिकाले वडा ५ हात्तिलुङ्ग दमारका मौरीपालक कृषकहरुका लागि मुख्यमन्त्री ग्रामीण कार्यक्रम अन्तर्गत निःशुल्क मौरी सहितको घार वितरण गरेको हो । मुख्यमन्त्री ग्रामीण कार्यक्रम अन्तर्गत आ.व. २०७६/०७७ को वार्षिक स्विकृत कार्यक्रम अन्तर्गत वडाका ४९ जना कृषकहरुलाई मौरी घार निःशुल्क वितरण गरेको गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।

कृषकहरुलाई व्यवसायिक रुपमा मौरी पालन गरी त्यसबाट आयआर्जनमा वृद्धि गराई उनीहरुको जीवनस्तर उकास्न सहयोग पुर्‍याउने उद्देश्यले मौरी र घार वितरण गरिएको वडा अध्यक्ष वेलबहादुर ढेंगाले बताए । उनले भने‘परम्परागत रुपमा मुढे घारमा मौरीपालन गर्दै आएका कृषकलाई आधुनिक घारमा मौरी पाल्न अभिप्रेरित गर्ने लक्ष्य लिएका छौ ।’ गाँउपालिकाका अध्यक्ष सन्तोष कुमार थापा, गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराई,गाँउपालिका प्रमुख प्रशासकिय अधिकृत राजु नेपाल, कृषि शाखा प्रमुख सिता कुमारी खाम्चा लगायतको उपस्थितिमा सामाजिक दुरी कायम गर्दैै मौरी सहितको घार वितरण गरिएको थियो ।

मौरी सहितको घार वितरण गर्दै गाउँपालिका अध्यक्ष थापाले दमारलाई मौरी गाउँका रूपमा चिनाउन गाउँपालिकाले निःशुल्क मौरी सहितको घार वितरण गरेकाले इमान्दार भएर व्यवसायिक रुपमा लाग्न कृषकलाई आग्रह गरे । गाउँपालिका मौरी पालनको रुपमा उपयुक्त क्षेत्र रहेकाले व्यवसायिक रुपमा कृषकलाई प्रोत्साहन गरी मौरी व्यवसायीबाटै दमारको समृद्धि गर्ने अध्यक्ष थापाले बताए । गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडि बढेकाले व्यवसायीक रुपमा लाग्न कृषकहरुलाई गाउँपालिका उपाध्यक्ष भट्टराईले आग्रह गरिन् ।

प्रकाशित मिति: बुधबार, जेठ २१, २०७७  १८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update