Shittalpati
रिब्दीकोट गाउँपालिकाद्वारा उपभोक्ताको घर–घरमा तरकारी

भुवन रायमाझी
पाल्पा (छहरा), जिल्लाको रिब्दीकोट गाउँपालिकाले कृषकले उत्पादन गरेका तरकारी उपभोक्ताको घर–घर सम्म पुुर्‍याउने काम गरेको छ । लकडाउनका कारण कृषकहरुले उत्पादन गरेको तरकारीको बजारिकरणमा समस्या भएको भन्दै गाउँपालिकाले कृषि एम्बुलेन्समार्फत उपभोक्ताको घरमै तरकारी पुुर्‍याएको हो । कृषकहरुको उत्पादन खेर नजाओस् भन्ने उद्देश्यका साथ गाउँपालिकाले तरकारी संकलन तथा विक्री गर्ने गरी कृषि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।


गाउँपालिकाले तरकारी संकलन सुरु गरे पछि व्यवसायिक कृषकहरुले राहतको महशुस गरेका छन् । कृषकको बारीमा फलेको तरकारीलाई उपभोक्ताको घर घरमा लगेर सहुलियत दरमा तरकारी उपलब्ध गराउन थाले पछि उपभोक्ताहरुले हरियो तरकारी घरमै पाउन थालेका छन् । गाउँपालिकाले कृषकको बारीमा फलेको तरकारीलाई उपभोक्ताको घर–घरमा लगेर सहुलियत दरमा विक्री वितरणमा सहजिकरण गरेको गाउँपालिकाका अध्यक्ष नारायण जिसीले बताए । उनले कृषकले उत्पादन गरेको तरकारी खेर नजाओस् भन्नका लागि कृषि एम्बुलेन्समार्फत उपभोक्ताको घर घरमा तरकारी पुुर्‍याएको बताए । कृषकले उत्पादन गरेको तरकारी बेच्न समस्या र उपभोक्ताले सहज मूल्यमा तरकारी नपाएपछि अहिले उपभोक्ताको घरघरमै सुपथ मूल्यमा तरकारी पुग्न थालेपछि स्थानीय उत्साहित भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रिषिराम अर्यालले बताए ।


मैनादीमा रहेको मैनादी कृषि समूहका कृषकले उत्पादन गरेको गोलभेडा, बोडी, सिमी काउली, काक्रा लगायतका उत्पादन अहिले गाउँपालिका भित्रका उपभोक्ताहरुलाई सस्तो मूल्यमा घर–घरमा लगेर विक्री गरेको सहकारीका जगदीश कुवँर बताउँछन् । अहिले पाल्पामा बुटवल, कपिलवस्तु लगायतका जिल्लाबाट तरकारी आउन नपाएपछि स्थानीय तरकारी घर–घरमा विक्रिका लागि ल्याएपछि उपभोक्तालाई तरकारी खरिद गर्ने समस्या हटेको गाउँपालिकाका कृषी संयोजक रञ्जीव कुवँरले बताए ।

 

 

प्रकाशित मिति: शनिबार, जेठ १७, २०७७  १८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update