Shittalpati
बगनासकाली १ का कृषकलाई अनुदानमा मौरी घार

पाल्पा । जिल्लाको बगनासकाली गाउँपालिका वडा १ चिर्तुङ्गधाराका मौरी पालक कृषकहरुलाई अनुदानमा मौरी घार वितरण गरिएको छ । वडाले आ.व. २०७६/०७७ को वार्षिक स्विकृत कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा वडाका ५४ जना कृषकहरुलाई मौरी घार वितरण गरेको हो । कृषकहरुलाई व्यवसायिक रुपमा मौरी पालन गरी त्यसबाट आयआर्जन वृद्धि गराई उनीहरुको जीवनस्तर उकास्न सहयोग पुर्‍याउने उद्देश्यले घार वितरण गरिएको वडा अध्यक्ष सोम बहादुर झेंडीले बताए ।

उनले भने‘परम्परागत रुपमा मुढे घारमा मौरीपालन गर्दै आएका कृषकलाई आधुनिक घारमा मौरी पाल्न अभिप्रेरित गर्ने, वडालाई रासायनिक विषादीको प्रयोगमा न्यूनिकरण गर्दै मौरी जोनका रुपमा विकास गर्ने लक्ष्य लिएका छौ ।’ गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्याल,उपाध्यक्ष सरस्वती चिदी, २ का वडाका अध्यक्ष टेकनाथ शर्मा, कृषि विकास शाखा प्रमुख राजेश बोहोरा लगायतको उपस्थितिमा सामाजिक दुरी कायम गर्दैै घार वितरण गरिएको थियो ।

घार वितरण गर्दै गाउँपालिका अध्यक्ष बस्यालले बगनासकालीलाई मौरी गाउँका रूपमा चिनाउन गाउँपालिकाले अनुदान दिर्दै आएकाले इमान्दार भएर व्यवसायिक रुपमा लाग्न कृषकलाई आग्रह गरे । गाउँपालिका मौरी पालनको रुपमा उपयुक्त क्षेत्र रहेकाले व्यवसायिक रुपमा कृषकलाई प्रोत्साहन गरी मौरी व्यवसायीबाटै गाउँपालिकाको समृद्धि गर्ने अध्यक्ष बस्यालले बताए । उनले अब कृषि र पशुलाई विशेष प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट निमार्ण गर्ने सोचमा गाउँपालिका रहेकाले सबैले साथ दिनु पर्नेमा जोड दिए । गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडि बढेकाले व्यवसायीक रुपमा लाग्न कृषकहरुलाई गाउँपालिका उपाध्यक्ष चिदीले आग्रह गरिन् ।

गाउँपालिकालाई मौरी गाउँका रुपमा विकास गर्ने गरी अनुदानमा घार वितरण गरिर्दै आएको कृषि शाखा प्रमुख राजेश बोहराले बताए । गाउँपालिकाले यस अघि पनि वडा नं. ३ र ९ मा गोला सहित मौरी घार, खाली घार, मौरीजन्य विभिन्न सामग्रीहरू वितरण गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०७७  १७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update