नेपालीहरुको महान् चाड तिहारको रौनक सबैतिर छाएको छ । काग, कुकुर, गाई–गोरु आदिको पूजा गरी जनावर एवम् प्रकृतिसँगको मानवसम्बन्ध दर्शाउने पर्वका रुपमा लिइने यस पर्वले सामाजिक, सांस्कृतिक र धार्मिक महत्व बोकेको हुन्छ । साथै दाजुभाइ–दिदीबहिनीको सुमधुर स्नेहलाई बलियो बनाउन पनि यस चाडले विशेष भूमिका निभाएको हुन्छ । नेपालीहरूले मनाउने विभिन्न चाडपर्वमध्ये तिहारको आफ्नै महत्व छ । यो पर्वलाई विभिन्न समुदायले आफ्नो परम्परा र सामाजिक प्रचलनअनुरूप मनाउने गर्छन् । सेलरोटी खाइनु, दसैँ जस्तै पिङ खेल्नु, मिठाइ खानु आदि यो पर्वका विशेषता हुन । त्यसबाहेक यो पर्वमा देउसी र भैली पनि खेलिन्छ । विशेषगरी नाचगान गर्दै खेलिने देउसी भैली तिहारको अरू चाडभन्दा पृथक विशेषता हो । यसलाई उज्यालोको पर्व पनि भनिन्छ । आफ्ना दिदीबहिनीसँग लगाइने टीका र गरिने दीर्घायु तथा समृद्धिको कामनाले दिदीबहिनी तथा दाजुभाइबीचको सम्बन्ध प्रगाढ बनाउन सघाउ पुर्याउँछ । यसर्थ पनि तिहारको सामाजिक र भावनात्मक महत्व बढी छ । भाइ पूजामा प्रयोग गरिने सप्तरंगी टीका, मखमली माला लगायतका सामग्री दीर्घायु र सुस्वास्थ्यका प्रतिक मानिन्छन् । भाइटीकाका क्रममा प्रयोग गरिने ओखर, तिल, तेलको घेराले भने दीर्घ जीवनको प्रतिनिधित्व गर्छन् जसका कारण यी सामग्रीलाई दीर्घायु र स्थायित्वका प्रतिकका रूपमा लिने गरिन्छ ।
नेपालीले मनाउने गरेका यस्ता चाडपर्वहरुलाई अझ समृद्ध बनाउँदै जानुपर्छ । तिहार पर्वलाई धार्मिक एवं सांस्कृतिक पर्वको रुपमा लिइन्छ । त्यसैले यस पर्वमा देउँसी–भैलो खेल्ने, झिलिमिली हुने गरी बत्ती बाल्ने, विभिन्न किसिमले मनोरञ्जन गर्ने, पिङ खेल्ने आदि कार्यलाई नियन्त्रण गर्नुभन्दा यस्ता कार्यलाई व्यवस्थित गर्नु उचित हुन्छ । किनकि यस्ता कार्य तिहारका पहिचान हुन् । तर तिहारमा जुवातास खेल्ने, देउसी–भैलोको नाममा जबरजस्ती रकम असुल्ने, मादकपदार्थ सेवन गरी होहल्ला मच्चाउने, गुन्डागर्दी गर्ने, क्षति पुग्ने गरी पटका पड्काउनेजस्ता विकृति भने नियन्त्रण गर्नै पर्छ । पछिल्लो समय हत्या, हिंसा, महिलामाथि दुव्र्यवहार आदिका घटना बढ्दै गएका छन् । त्यसलाई यो पर्वले निरुत्साहित गर्न सकोस् । यस्ता पर्वलाई जमघट हुने, एकापसमा मित्रता नवीकरण गर्ने, गुम्सेको मन फुकाउने र हृदयलाई फराकिलो बनाउने अवसरका रूपमा परिणत गर्न सक्नुपर्छ । यसर्थ एकापसमा आपसी सद्भाव, आदर–सम्मान, मेलमिलाप, भातृत्व र सहिष्णुताका साथ तिहार मनाउन सकियोस्, समस्त नेपाली दाजुभाइ–दिदीबहिनीहरुमा सुमधुर स्नेहभावसहित उन्नति–प्रगतिको कामना । साथै हाम्रा पाठक एवं ग्राहकवर्ग, विज्ञापनदातासहित समस्त शुभचिन्तकहरुमा यो उज्यालो पर्वको हार्दिक शुभकामना !