Shittalpati
रैनादेवीको प्राथमिकतामा अन्तरपालिका जोड्ने गौरव आयोजनाका मुख्य सडक र कृषि तथा पशु क्षेत्र

पाल्पा, जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले अन्तरपालिका जोड्ने गौरव आयोजनाका मुख्य सडक र कृषि तथा पशु क्षेत्रलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम पेश गरेको छ । गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईले गाउँसभाको १६ औं अधिवेशनमा उक्त विषयहरुलाई प्राथमिकतामा राख्दै आगामी बर्षको लागि नीति तथा कार्यक्रम पेश गरेका हुन् ।

अध्यक्ष भट्टराईले नीति तथा कार्यक्रममा कृषि उत्पादन, गुणस्तरीय शिक्षा, स्थानीय स्रोत साधनको प्रयोग, लसुन उत्पादनमा आत्मनिर्भर, दिगो विकास जैविक विविधतालाई प्राथमिकता दिदै अन्तरजिल्ला जोड्ने प्रमुख सडकलाई गौरवको आयोजनामा समावेश गरेका छन् । पालिकाले कृषि रोजगारी उद्यम तथा पर्यटन, शिक्षा स्वास्थ्य, सेवा प्रवाह, स्थानीय पुर्वाधार, प्राकृतिक श्रोत र वातावरणलाई विकासको प्रमुख प्रथमिकतामा राखी नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो ।

नीति तथा कार्यक्रममा सुन्दरढुङ्ग जुठापौवा, सालझण्डी सडक, छहरा ध्वजा बान्ने तानसिङगल सातपुरे सडक, ध्वजा बान्ने पेलावास ३ नंं वडा कार्यालय, तालपोखरा अर्घाँखाची सडक, तानसिङगल सोमादी सिद्धेश्वर सडक र मेहलछेडा ज्यामिरे बुढिदमार हात्तीकुना सडकलाई गौरवको योजनाको रुपमा नीति तथा कार्यक्रममा समावेश छ । पालिकाले सबै वडा कार्यालयसम्म पुग्ने मुख्य सडक पिच गर्ने नीति लिएको छ ।

कृषिको व्यवसायिकरण, आधुनिकरण गरी उत्पादन र उत्पादकत्व बढाउन सरकारदेखी सरकार सम्म जि टु जि कार्यक्रम सञ्चालन गर्ने, कृषि एम्वुलेन्स, कोल्ड च्याम्वर जस्ता कार्यक्रम सञ्चालनले कृषि उत्पादनमा पालिकाको स्तर माथि बढाइने, कृषि बजार प्रणाली सफट्वेयर सञ्चालनमा ल्याउने, सबै वडामा कृषि तथा पशु सेवा केन्द्र स्थापना गरी माटो तथा वाली परीक्षण तथा पशु ल्याव सेवा सञ्चालन गरिने, लसुनमा आत्मनिर्भर कार्यक्रम, पालिकाको विभिन्न स्थानमा हाट बजार सञ्चालन, कृषि मेलाको प्रर्दशनी, एक घर एक तरकारी, करेसावारी, विद्यार्थीसँग कृषि कार्यक्रम, पढ्दै सिक्दै र कमाउदै कृषि कार्यक्रम, ठाउँ अनुसारको उत्पादनको आधारमा पकेट क्षेत्र घोषणा गरी उत्पादन बढाउदै लैजाने, पालिकालाई मासु, दुध, अण्डा र तरकारीमा आत्मनिर्भर बनाउने जस्ता महत्वकाक्षी कार्यक्रम पालिकाले सार्वजनिक गरेको छ । स्थानीय स्तरमा उत्पादन हुँदै आएका अकवरे खुर्सानी तेजपात, टिमुर, बेसार, फाफर, कोदो लगायतका उत्पादनमा वृद्धि गर्न आवश्यक तालिम अनुदानको व्यबस्था, स्थानीय स्तरमा उत्पादन हुँदै आएको डोको नाम्लो, दाम्लो, जुत्ता, आरन तथा सिलाई लगायतका परम्परागत सिप कलालाई संरक्षण गरी आयआर्जन बढाउने नीति पालिकाले लिएको छ ।

गुणस्तरीय शिक्षाको लागि सबै विद्यालयमा अंग्रेजी नेपाली माध्यमबाट पठन–पाठन गराउने, पालिका भित्रका प्राविधिक विद्यालयमा अध्ययन गर्ने गरिव विपन्न विद्यार्थीहरुलाई पालिकाले निःशुल्क पठन–पाठन गराउने, पालिका भित्रका विद्यालयहरुको गुणस्तरीयता बढाउन अनुगमनको लागि एक जना विद्यालय निरीक्षकको व्यवस्था गरी राम्रो गर्नेलाई पुरस्कार, नराम्रो गर्नेलाई कारवाही गर्ने नीति प्रस्तुत गरेको छ । दुई वटा वडाको दुई वटा माध्यमिक विद्यालयमा लागु भएको विद्यालय नर्स कार्यक्रम विस्तार गर्ने, हरेक विद्यालयमा अनिवार्य रुपमा बुक फ्रि डे कार्यक्रम सञ्चालन गर्ने, कक्षा ८ देखी माथिका छात्राहरुलाई आत्मरक्षा तालिम प्रदान गर्ने, कक्षा ८ देखी १० सम्मका विद्यार्थीहरुलाई खेलकुद तालिम सञ्चालन गर्ने पालिकाले जनाएको छ ।

यस्तै स्वास्थ्यतर्फ छहरा स्वास्थ्य चौकीमा डाक्टर सहितको सेवालाई निरन्तरता दिने, मृगौला, मुटु उच्च रक्तचाप, मधुमेहको जाँचलाई प्राथमिकता दिने, शुन्य होमडेरीको लागि आवश्यक काम गर्दै जाने, १५ शैयाको अस्पताल चाँडो भन्दा चाँडो सम्पन्न गराउन पहल गर्ने, ८० बर्ष भन्दा माथिका जेष्ठ नागरिक क बर्गका अपा·हरुलाई घर –घरमै पुगेर उपचार सेवा प्रदान गर्ने, पाँच ‘अ’ कार्यक्रम अन्र्तगत अपाङ्ग, अशक्त, असाहय, अति विपन्न, आर्थिक अवस्था कमजोर भएका र महिला स्वयमसेविकालाई निःशुल्क बिमा कार्यक्रम सञ्चालन गर्ने पालिकाले जनाएको छ ।

सबैका घर घरमा खानेपानीको सुविधा पुर्‍याउन एक घर एक धारा कार्यक्रमलाई निरन्तरता दिने, लिफ्ट खानेपानीका विद्युत मशहुलमा अनुदानको व्यवस्था, एक वडा एक पोखरी कार्यक्रम सञ्चालन गर्ने,  सडकका किनारमा हरियाली तथा सुन्दर रुख विरुवा लगाउने, मानिसको आवत जावत बढी हुने स्थानमा सार्वजनिक शौचालय निर्माण गर्ने जस्ता पालिकाले निति तथा कार्यक्रममा सार्वजनिक गरेको छ । खेलकुद गतिविधीलाई बढाउन वडातहमा खेलकुद समिति एक वडा एक खेलमैदान, अध्यक्ष कपमा महिलाहरुको सुनिश्चितता गर्ने, बैदेशिक रोजगारबाट सिकेको सिप ज्ञान स्थानीय तहमै प्रयोगमा ल्याई गाउँघरमै आयआर्जन बढाउने, विदेश होईन, विजनेस भन्ने अभियानका साथ स्वरोजगारमुलक कार्यक्रम सञ्चालन गर्ने, गरिव,विपन्न तथा सुकुम्वासीहरुको पहिचान गरेर स्थानीयस्तरमा प्रयोग हुने सिपमुलक तालिम सञ्चालन गर्ने, बृद्ध स्याहार बुहारी प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने नीति कार्यक्रममा उल्लेख छ ।

गाउँसभामा कृषि क्षेत्र हानिकारक वन्यजन्तुबाट जोखिम न्युनिकरणको लागि पुर्वाधार निर्माण कार्यक्रम सञ्चालन कार्यविधी २०८१, शिक्षक सरुवा तथा काज व्यबस्थापन सम्वन्धी कार्यविधी २०८१ र कुटानी पिसानी मिल तथा मिनिटिलर वितरण कार्यक्रम कार्यन्वयन कार्यविधी २०८१ पेश भई पारित भएको छ । गाउँसभामा पेश भएको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको छ । गाउँसभामा वडा नंं ३ का वडा अध्यक्ष प्रदिप पौडेल, वडा नंं ४ का वडा अध्यक्ष गोविन्द रायमाझी, गाउँसभा सदस्यहरु सूर्य कार्की, नारायणी गहतराज, उद्धव राना, अर्जुन ज्ञवाली, धनबहादुर रायमाझी, मुना दर्जी, लोकबहादुर बुढाथोकी लगायतले नीति तथा कार्यक्रम माथि सुझाव सल्लाह दिएका थिए । सभामा उठेका जिज्ञासाहरुको राजश्व परामर्श समितिका संयोजक पालिका उपाध्यक्ष युवराज थापा, आर्थिक समितिका संयोजक प्रदिप पौडेलले जवाफ दिएका थिए । पालिका अध्यक्ष रुक्माङ्गत भट्टराइको अध्यक्षता, उपाध्यक्ष युवराज थापाको सञ्चालनमा भएको गाउँसभामा सदस्य सचिव प्रमुख प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद तिमिल्सीना, प्रवक्ता देवेन्द्र पुन लगायतको सहभागिता रहेको थियो । 

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update