Shittalpati
गर्मीबाट जोगिऔं

पछिल्ला केही दिनयता देशभर गर्मी बढ्दै गएको छ । तराई मधेशका जिल्लाहरुमा टन्टलापुर घाम लाग्ने र तातो हावा चल्ने भइरहेको छ । खासगरी नेपालगञ्ज, दाङ, भैरहवा, नवलपुर, चितवन लगायतका जिल्लाहरुमा गर्मी अत्यधिक बढेको छ । बढ्दो गर्मीले जनजीवन प्रभावित समेत भएको छ ।

चर्को गर्मीसँगै ‘लु’ लगायत अन्य संक्रमण हुन सक्ने भएकाले सर्वसाधारण स्वयं सचेत हुनुपर्ने भएको छ । तराईका कतिपय जिल्लामा तापक्रम ४३ डिग्रीभन्दा बढी भएकाले जनजीवन असहज बन्दै गएको छ । गर्मी वा चिसो सरकार वा स्थानीय सरकारले चाहँदैमा घटाउन वा बढाउन सक्दैन । यो एक किसिमको प्राकृति अवस्था हो । मानव बसभन्दा पर छ । यद्यपी यस्तो बेलामा सर्वसाधारण स्वयं सचेत हुनुको विकल्प छैन । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले ‘लु’ लाग्न सक्ने भन्दै सावधान रहन अनुरोध समेत गर्दै आएको छ । यस्तो अवस्थामा मानिसलाई लूबाट जोगाउन उच्च होसियारी र व्यापक सचेतनाको खाँचो परेको छ । विपद्कै अवस्था आइपर्दा के गर्ने भनेर तीनै तहका सरकारले प्रतिकार्य व्यवस्था गर्नु पर्छ । यो सरकारको दायित्व पनि हो तर अन्य विपद्सरह गर्मीबाट हुने लूलाई अहिलेसम्म प्राथमिकताका साथ चासो दिएको पाइँदैन । उसलाई बेवास्ता गरिरहे लू कुनै पनि बेला ठूलो विपद् बन्न सक्छ ।

गर्मीमा बालबालिका र वृद्धवृद्धा बढी जोखिममा पर्छन् । गर्मी चर्किएसँगै अस्पतालहरुमा बिरामी बालबालिका र वृद्धवृद्धाको संख्या बढ्न थालिसकेको छ । त्यसैले सबै अस्पताललाई बिरामीको भरपर्दो उपचारका लागि तम्तयार राख्न जरुरी छ । भरसक कोही पनि बिरामी पर्ने अवस्था नआओस् भनेर आम सर्वसाधारणलाई सतर्क पार्न आवश्यक छ । गर्मीको अवस्थामा सकेसम्म घरबाट ननिस्कँदा राम्रो हुन्छ । निस्कनै पर्दा विशेष सावधानी अपनाएर निस्कनु उपयुक्त हुन्छ । यस्तो बेलामा प्रशस्त मात्र पानी पिउनुपर्छ ।यसले केही हदसम्म गर्मीबाट हुने जोखिमलाई कम गर्न सहयोग पुग्छ । यसर्थ गर्मीका कारण संक्रमणबाट बच्न सावधानी अपनाऔं ।

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update