Shittalpati
श्रमाधान रोजगार मेलाले सार्थकता पाओस्

आन्तरिक रोजगारी प्रवद्र्धन तथा वैदेशिक रोजगारी व्यवस्थापन गर्ने उद्देश्यले सरकारले सातै प्रदेशमा श्रमाधान रोजगार मेला सञ्चालन गरिरहेको छ । नेपाल र विदेशमा रहेका नेपाली श्रमिकका सबै खालका समस्या एकद्वार प्रणालीबाट समाधान गर्ने उद्देश्यले मेला आयोजना गरिएको हो ।

वैदेशिक रोजगारीबाट फर्किएकाहरुको पुर्नस्थापनादेखि विदेशमा आर्जन गरेको सीप प्रयोगसम्मका कार्यक्रम यसमा समेटिएको छ । यो योजनाले सेवा निवृत व्यक्तिको अनुभव र कौशललाई प्रयोग गरी नयाँ रोजगारी, स्वयंसेवा वा उद्यमशीलताका विभिन्न अवसरमा संलग्न हुन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ । यो मेला रोजगारी दिने र पाउने प्लेटफर्म हुने विश्वास गर्न सकिन्छ । अन्य प्रदेशमा जस्तै लुम्बिनी प्रदेशमा पनि जेठ २३ र २४ गते मेला भयो । मेला आयोजना हुनु आफैमा राम्रो हो । तर यसको उद्देश्यले सार्थकता पाउँछ पाउँदैन भन्ने कुरा महत्वपूर्ण रहन्छ । मुलुकमा बढ्दो बेरोजगारी समस्या रहेका बेला श्रमाधान रोजगार मेला हुनुलाई राम्रै मान्न सकिन्छ । रोजगारदाताले आफूलाई आवश्यक परेको जनशक्ति नपाउने र बेरोजगारले सिपको अभावमा काम नपाएर भौँतारिनु परिरहेको विडम्बना विद्यमान छ । जसले गर्दा सिपसहितको जनशक्ति खोजिरहेका रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवालाई एउटै थलोमा साक्षात्कार गराउन मेलाले महत्व राख्छ भन्ने कुरालाई नकार्न सकिदैन । तथापी मेलाले बेरोजगार अवस्थामा रहेकाहरुलाई रोजगारसँग जोड्न सक्छ सक्दैन त्यो भने हेर्न बाँकी नै छ ।

रोजगारदाता र रोजगारी खोज्नेबिचका बहुआयामिक पक्ष समेटेर रोजगार बैंकका रूपमा विकास गर्ने सरकारको योजनालाई नागरिकस्तरबाट उत्साहसाथ हेरिएको छ । यसले साच्चिकै बेरोजगार अवस्थामा रहेकाहरुलाई रोजगार दिन र त्यसको वातावरण सिर्जना गर्न सकेमा सरकारले अगाडि सारेको उक्त योजनाले सार्थक रुपमा प्राप्त गर्न सक्छ। अन्यथा मेला मेलामै सिमित हुने छ । यसर्थ यसतर्फ स्थानीय, प्रदेश र संघीय सरकारले तदारुकताका साथ मेलालाई सफल पारी सोही अनुसार काम गर्न जरुरी छ । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update