 
                                                                    सुर्तीजन्य पदार्थ विरुद्धको दिवस आज विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा पनि सुर्तीजन्य वस्तुहरुको प्रयोग विरुद्ध सचेतनामुलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ । हरेक वर्ष मे ३१ तारिखमा विश्वभर यो दिवस मनाउने गरिन्छ । दिवसका अवसरमा सुर्तीजन्य वस्तुहरुको सेवनबाट मानवीय स्वास्थ्यमा पर्ने हानी नोक्सानी बारे सचेतना जगाउने कार्यक्रमहरु गरिन्छ ।
सुर्तिजन्य पदार्थ सेवन विश्वको लागि आज ठूलो चुनौती बनेको छ । कागजको पाना भित्र भरिएको सुर्तीको कसबाट निस्कने निकोटिनको यो लतबाट जोगाउन हरेक वर्ष यो दिवस मनाउन सुरु गरिएको हो । यस दिवसको उद्देश्य सुर्तिजन्य वस्तुको उपभोगका कारणले स्वास्थ्यमा पर्ने हानिको बारेमा जनजागरण फैलाउनु हो । तर दिवस मनाइरहे पनि अध्ययन अनुसार वर्षमा २७ हजार बढी नागरिकको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको छ । यो दुर्भाग्य भन्नुपर्छ । धुवाँ आउने, नआउने सुर्तीजन्य पदार्थबाट निर्मित चुरोट, बिँडी, तमाखु, खैनी, गुट्खा, जर्दा वा पानपराग सेवन गर्नु नै सुर्तीजन्य पदार्थ सेवन गर्नु हो । सुर्तीजन्य पदार्थमा कार्बन मोनोक्साइड, निकोटिन, टार, बेञ्जोपाइरिन, एमोनियाजस्ता चार हजारभन्दा बढी रासायनिक तत्व हुन्छन् भने ४० जति क्यान्सर बेञ्जोपाइरिनलगायतका रसायनले क्यान्सर लाग्नुका साथै मृत्युको मुखमा समेत पुर्याउँछ । विश्वभरका सुर्तीजन्य पदार्थ सेवनकर्तालाई कम्तीमा २४ घण्टासम्म सुर्ती सेवन छोडेर यसको सेवन त्याग गर्न सघाउ पुुर्याउनु नै दिवसको मुख्य उद्देश्य हो । तर न्यून साक्षरता दर, बढ्दो सहरीकरण, अस्वस्थकर जीवनशैली, देखासिकी, गलत धारणाले गर्दा सुर्तीजन्य पदार्थ नियन्त्रणमा समस्या उत्पन्न भएको छ ।
सुर्तीजन्य पदार्थ सेवनले मुटुसम्बन्धी रोग, उच्च रक्तचाप, मस्तिष्कघात, दीर्घ श्वासप्रश्वाससम्बन्धी, दीर्घ ब्रोङ्काइटिस, इन्सुलिन हर्मोनमा असरका कारण टाइप २ मधुमेह तथा यसको विकृति, केन्द्रीय स्नायु प्रणालीमा असर, दृष्टि कमजोर, मस्तिष्कघात, महिलामा यौन चाहनामा कमी, समयअगाडि नै महिनाबारी बन्द हुने, रोग प्रतिरक्षात्मक क्षमतामा ह्रास, गर्भमा रहेको भू्रणको शारीरिक तथा मानसिक वृद्धि–विकासमा अवरोध आई तौल कम भएको शिशु जन्मने, जन्मेपछि पनि वृद्धि–विकासमा अवरोध, प्याङ्क्रियाका जटिल समस्या उत्पन्न हुने गर्दछ । तसर्थ सुर्तिजन्य पदार्थको सेवनबाट यस्ता समस्या उत्पन्न गर्ने भएकाले स्वस्थ र दीर्घजीवन जीउने हो भने सुर्तिजन्य पदार्थ त्याग्न जरुरी छ ।


 
                                         
                                         
                     
                     
                     
                     
                     
                     
                     
                    