Shittalpati
संसद्को गरिमा कायम गर

सहकारी ठगी प्रकरणको विषयलाई लिएर संसद प्रभावकारी ढंगले अगाडि बढ्न सकिरहेको छैन ।  एकपछिअर्को गरी संसद् बैठक अवरूद्ध भैरहेको छ । एकातिर नेपाली काँग्रेसले ठगी प्रकरणमा पर्याप्त प्रमाण नै रहेको भन्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन हुनुपर्ने भनेर संसदीय समिति गठन नभएसम्म संसद्का कामकारबाहीहरु अवरूद्ध गरिरहेको छ भने अर्कोतिर सत्तारुढ दलहरु अझ त्यसमा पनि प्रमुख दल एमालेले व्यक्ति केन्द्रित छानबिन समिति बन्न नसक्ने भन्दै गठन प्रक्रियालाई लिएर असहमति जनाइरहेको छ । संसदीय छानबिनको हकमा सकारात्मक कार्यप्रगति भएको भने पनि तयसले ठोस रुप लिन सकेको छैन । जसका कारण संसद् सही ढंगले चल्न सकेको छैन । सत्ता पक्षले काम कारबाही र एजेन्डा अघि बढाउन खोजे पनि प्रतिपक्ष दलहरुले अवरोध गरिहाल्ने क्रम निरन्तर छ । संसद् गफ गर्ने मात्र होइन, अब त लडाइँ गर्ने थलोका रूपमा समेत विकसित हुँदै गएको छ । यो अत्यन्त दुखको कुरा हो ।

रस्साकस्सीका बीचमा संसद् चलिरहेको देख्दा आफ्नै समस्या समाधान गर्न नसक्ने संसद्ले मुलुक र जनताको समस्या के समाधान गर्ला भन्ने आशंका पैदा गरिदिएको छ । सत्ता, सरकार, संसद्जस्ता जनताका स्वार्थ र चाहनासँग प्रत्यक्ष जोडिएका सार्वजनिक निकाय यसरी चल्ने र चलाइने हो भने जनतामा अविश्वास पैदा हुँदै जाने निश्चित छ । विधि तथा कानुन निर्माण गर्ने मुख्य थलो संसद् हो । राष्ट्रिय जीवनमा दूरगामी महत्व राख्ने विषयमा सार्थक नीतिगत बहस गरेर सरकारलाई विकास प्रक्रियामा स्पष्ट दिशानिर्देश गर्ने थलो पनि हो । यसको काम भनेको नीति बनाउने, कानुन बनाउने र निर्मित नीति तथा कानुन सरकारबाट कार्यान्वयन भए नभएको बारेमा सूक्ष्म अनुगमन गर्ने हो । संसद्लाई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दामा बहस गर्ने, जनसवालप्रति घच्घचाउने, सरकारलाई समृद्धि र सुशासन अभियानमा दिशानिर्देश गर्ने थलोको रूपमा लिइन्छ ।

विडम्बना, जनताप्रति उत्तरदायी हुनुपर्ने संसद् नैः कमजोर बन्दै गएको छ । यो राम्रो हैन । यसले संसदको गरिमालाई नै कमजोर बनाउँछ । संसद्को ध्यान आफ्नो मर्यादा जोगाउने र आफ्नो कारबाही नियमित गर्नेतिर हुनुपर्छ । संविधानसभा संसद्का नेताको हैसियतमा यी सबै कामको अगुवाइ गर्ने दायित्व सभामुखको हो, त्यसमा चुकेको खण्डमा भोलि त्यसको जवाफको भार मूलतः उनैले बेहोर्नुपर्ने हुन्छ । त्यसकारण सभामुखले सबैलाई खुसी पार्न खोज्ने प्रवृत्ति त्यागी व्यवहारिक तवरमा कठिनाइ फुकाउने प्रयत्न थाल्न जरुरी छ ।

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update