Shittalpati
महिलालाई व्यवसायिक तरकारी उत्पादनमा सहयोग गर्दै निर्धन उत्थान लघु वित्त

पाल्पा, निर्धन उत्थान लघुवित्त बाँसटारी शाखाले व्यवसायिक तरकारी खेती सम्बन्धि तालिम  सञ्चालन गरेको छ । संस्थाले आफ्ना सदस्यहरुलाई व्यवसायिक तरकारी खेतीमा आवद्ध गराई आत्मनिर्भर बनाउने उद्देश्यले ३ दिने तालिम सञ्चालन गरेको हो ।

तालिमको एक औपचारिक कार्यक्रमका बिच तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले शुभारम्भ गरेका हुन् । तालिमको शुभारम्भ गर्दै उनले निर्धन लघुवित्तले स–सानो पुँजी संकलन गरेर सोही क्षेत्रमै सदस्यहरुको हितमा खर्च गर्दै आएकोमा खुुसी व्यक्त गरे । लघुवित्तलाई अहिले नेपाल राष्ट्र बैकले सुपरिवेक्षण तथा निगरानी गर्दै आएको जनताको लगानी तथा बचत सुरक्षित रहेको नगर प्रमुख श्रेष्ठले बताए । लघुवित्त घ बर्गको वित्तिय संस्था भएकाले ग्रामीण क्षेत्रहरुमा सेवा प्रवाह गर्ने, बचत संकलन तथा ऋण परिचालन गर्ने, सदस्यहरुलाई आर्थिक रुपमा माथि उठाउने निश्चित नाफा लिई सेवाको भावनाले काम गर्नुपर्नेमा उनले जोड दिए । लघुवित्तले दिएको व्यवसायिक तरकारी तालिम बाँसटारी, प्रभास, लामडाँडा, चुच्चेबारी, तिन्टीआप क्षेत्रमा अझ व्यवसायिक रुपमा कृषकहरुले तरकारी उत्पादन गरेको नगरपालिकाले हेर्न चाहेको नगर प्रमुख श्रेष्ठले बताए ।

कार्यक्रममा ७ का वडा अध्यक्ष प्रदिप खनालले वडा व्यबसायिक तरकारी खेतीको लागि उर्वरभूूमी भएकाले निर्धनको तालिमले तरकारी उत्पानमा वृद्धि भई महिलाहरुको आयआर्जन बढ्नेमा विश्वास्त रहेको उल्लेख गरे ।  उनले भने ‘महिलाहरुले राम्रोसँग तरकारी उत्पादन गर्नुस्, बजारको कुनै समस्या हुन दिदैनौं ।’

कार्यक्रममा संस्थाका क्षेत्रीय प्रमुख पुन्यात्मा प्रसाद शुक्लाले संस्थाले आर्थिक कारोबारमा मात्र नभई अन्य फरक–फरक क्षेत्रमा पनि काम गर्दै आएको बताए । आफ्ना सदस्यहरुलाई आयआर्जन बढाउन, क्षमतावान बनाउन, स्वाभिमानी बनाउन संस्थाले काम गर्दै आएको क्षेत्रीय प्रमुख शुक्लाको भनाई थियो । संस्थाले गरिव विपन्न वर्गलाई लक्षित गरेर ५ वटा विद्यालयहरुमा पाँच/पाँच लाख सहयोग गरेको क्षेत्रीय प्रमुख शुक्लाले बताए । संस्थाले सुत्केरी सदस्यलाई २ हजार पोषण खर्च, दैवी प्रकोपमा परेका सदस्यलाई ६ हजार, १४ प्रकारका जटिल रोग लागेका सदस्यलाई १० हजार सहयोग गर्दै आएको संस्थाका क्षेत्रीय प्रमुख शुक्लाले बताए । ५ सय ९२ रुपैया शुल्कले श्रीमान र श्रीमती दुवैको लागि १ लाखको बिमाको व्यवस्था संस्थाले गर्दै आएको छ ।

संस्थाका शाखा प्रमुख शंकर पाण्डेले निर्धन उत्थानले विगत १९ बर्ष देखी बाँसटारी क्षेत्रमा शाखा सञ्चालन गरी यस क्षेत्रमा सहयोग गर्दै आएको बताए । पाल्पामा मात्र निर्धनका ८ हजार ८ सय सदस्यहरु रहेको र उनीहरुको सहयोगमा संस्थाले काम गर्दै आएको शाखा प्रमुख पाण्डेले बताए । संस्थाले पाल्पामा ५१ करोड लगानी गरेको जनाएको छ । पाल्पामा बासटारी, आर्यभञ्ज्याङ्ग, छहरा र जब्गाादी गरी ४ वटा शाखा सञ्चालनमा रहेका छन् । बासटारी महिला समूहकी अध्यक्ष माया कुमारी न्यौपानेको अध्यक्षता,गणेश रानाको सञ्चालनमा कार्यक्रम भएको थियो ।

तालिममा तरकारी बारीको तयारी, व्याड राख्ने तरीका, माटो तथा मल खादको अवस्था, विउ बेर्ना लगाउने तरीका, गोडमेल तथा खनजोतको अवस्था, उत्पादनको समयमा अपनाउनु पर्ने कुराहरु, उत्पादित तरकारीलाई बजारसम्म लैजाने र बजार भाउको अवस्था बारेमा कृषि प्राविधिकहरुले जानकारी दिने छन् । तालिममा ३६ जना महिलाहरुको सहभागीता रहेको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update