Shittalpati
पाल्पामा पशुहिंसा र यातनाविरुद्धको अभियान

पाल्पा, पाल्पाका व्यबसायिक पशुपालक कृषकहरुलाई जुटाएर पशु अधिकारको बारेमा पहिलो पटक सरकारीस्तरबाट सचेतना अभियान शुरु गरिएको छ । मानिसले आफ्नो फाईदाको लागि पशुपक्षिको प्रयोग गर्दै आएको भएता पनि उनीहरुलाई यातना, हिंसारहित तरीका, उनीहरुको अधिकार तथा कल्याणलाई मध्यनजर गरेर पशुपालन गर्नुपर्नेमा लुम्बिनी प्रदेश पशु पक्षी तथा मत्स्य विकास निर्देशनालय बुटवलले अभियान चलाएको हो ।

 अभियानमा प्रदेश सरकारले २०८० फागुनमा पारित गरेको व्यबसायिक गाई भैसी पर्मले अवलम्वन गर्नु पर्ने पशु कल्याण मापदण्ड २०८० को विषयमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पाल्पाका व्यवसायिक पशुपालक कृषकहरुका बिचमा कार्यान्वयनको लागि  छलफल गरिएको छ । पशु कल्याण मापदण्ड अभियाना पहिलो पटक पाल्पाबाट शुरु गरिएको हो ।

प्रदेश सरकारले १२ वटै जिल्लामा  व्यवसायिक पशुपालक कृषकहरुमार्फत पशु कल्याण मापदण्ड २०८० कार्यान्वयन  गर्नको लागि आगामी बर्षको निति, कार्यक्रम तथा बजेटमा पनि समावेश गर्ने जनाएको छ । कार्यक्रममा बरिष्ठ पशु चिकित्सक डा. नविन बस्यालले पुशपालन गर्दा सम्वन्धी आधारभुत व्यवस्था अन्तर्गत पशु गोठको व्यवस्थापन, पशु आहार, सन्तुलित खानाको बारेमा जानकारी गराएका थिए । यसै गरी पशु प्रजनन् सुरक्षा सम्बन्धी व्यबस्था, गाई भैसीपालन विधी,पशुहरुलाई भोक प्यास तथा कुपोषणबाट मुक्त बनाउनु पर्ने, पशुहरुलाई डर त्रास तथा तनावपुर्ण बातावरण बनाउन नहुने, गरी पशु पक्षी क्षेत्रमा लुम्बिनी प्रदेश  सरकारले अभियान शुरु गरेको पुश चिकित्सक डा. बस्यालले बताए ।

दुधजन्य पशुहरुमा बच्चा जन्माउने दिन भन्दा दुई महिना अघि नै दुध दुहिन छोड्नु पर्ने, अन्य पशुहरुलाई काम लगाउँदा ८ घण्टा भन्दा बढी काममा लगाउन नहुने, पशु शरिरको तौल अनुसार ३० प्रतिशत मात्र भारी तथा मालसमान बोकाउनु पर्ने, मौसम अनुसारको पशु थरी तथा गोठकोे व्यवस्थापन हुनुपर्ने, पशुलाई डर त्रास र पिडा दिन नहुने, मानिसलाई चित्त नबुझे पशुलाई विना मैसै पिट्ने, नाकको प्वालहरुमा रसी छिराउने जस्ता कुराहरु गर्न नहुने विषयमा कार्यालयले छलफल गरेको छ ।

दुध दिन छोडेका गाईहरुलाई पनि पशुधनीले नै नमर्दासम्म पालन पोषण गर्नुपर्ने, गाईको बाच्छोको उपयोगिता नभएको भन्दै बाच्छोलाई मार्ने, पशुहरुको सिङ तथा पुच्छर काटिदिने जस्ता यातानायुक्त व्यबहार गर्न नहुने कुरा कार्यक्रममा जोड दिएको थियो ।

कार्यक्रममा पशु पक्षी तथा मत्स्य विकास निर्देशनालयका प्रमुख प्रवेश सिंह कुवँरले मानिसहरुले पाल्दै आएका गाई भैसीहरुमा पशु कल्याण मापदण्ड पालन गर्दा मानिसहरुलाई बढी फाईदा हुने बताए । मापदण्ड लागु गर्दा गाई भैसी हिष्टपुष्ट हुने, स्वस्थ निरोगी हुने, उत्पादन बढी दिने, यस्ता पशुहरुको दुध तथा मासु बढी स्वस्थकर हुने भएकाले यस्तो मापदण्ड प्रदेश सरकारले लागु गरेको बताए । यो मापदण्ड लागु गर्ने पशु पालकहरुलाई नै बढी फाईदा पुग्ने उनले उल्लेख गरे ।  प्रदेश सरकारले दुध दिन छाडेका गाई  तथा स–साना बाच्छाहरुको व्यवस्थापनमा पालिकाहरुसँंग समन्वय गरेर सहयोग गर्ने निर्देशक कुवँरले बताए ।

विज्ञ केन्द्र पाल्पाका प्रमुख दुर्गा प्रसाद बस्यालले पशु अधिकार मापदण्ड  पालन गर्ने पशु कृषकहरुलाई जिल्लाबाटै प्रमाणपत्र वितरण गर्ने, भोलिका दिनमा यस्ता फर्महरुमा पशुका दुध र मासुहरुलाई सरकारले प्राथमिकता दिदै जाने बताए । कार्यक्रममा विज्ञ केन्द्र पाल्पका पूर्व प्रमुख डा. चन्द बहादुर रानाले सरकारले ल्याएको यो अभियानलाई गाउँ–गाउँसम्म चेतना फैलाउदै जानुपर्नेमा जोड दिए ।

कार्यक्रममा सहभागी पशुपालक कृषकहरुले सरकारले ल्याएको पशु कल्याण मापदण्ड अधिकाश पुरा गर्दै आएको र केही विषयहरु जटिल रहेकोले लुम्बिनी प्रदेश सरकारले उत्तरदायित्वका कुरा मात्र होईन समाधानका विषयमा पनि कुरा ल्याउनु पर्नेमा जोड दिएका थिए । विज्ञ केन्द्र पाल्पाका अधिकृत युवराज ज्ञवालीले  प्रदेश सरकारले शुरु गरेको अभियानलाई जिल्ला जिल्ला बाट कार्यान्वयनको लागि पूर्ण सहयोग रहने बताए ।

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update