Shittalpati
आज सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

पाल्पा, आज सूचना तथा सञ्चार प्रविधि दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा हरेक वर्ष मे २ मा यो दिवस मनाउने गरिन्छ । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार भन्ने नाराका साथ सातौं दिवस अर्थात् ‘आइसिटी डे’ मनाउन लागिएको हो । 

नेपालमा २०२८ सालमा कम्प्युटर भित्रिएको थियो । नेपालमा कम्प्युटर एसोसिएसन नेपाल (क्यान) को सन् १९९२ मा स्थापना भयो । त्यही स्थापना भएको दिनलाई सूचना प्रविधि दिवसका रूपमा मनाउन थालिएको हो । सरकार र निजी क्षेत्रले संयुक्त रूपमा सञ्चार तथा सूचना प्रविधि दिवस मनाउने गर्दछन् । हरेक वर्षको मे २ मा आइसिटी डे मनाइँदै आएकोमा नेपालमा निजी र सरकारी दुवै तवरबाट सञ्चार तथा सूचना प्रविधि दिवस मनाइँदै आएको छ । मानव जीवनलाई सहज, सरल र समृद्ध बनाउन सञ्चार तथा सूचना प्रविधिले महत्वपूर्ण भूमिका खेलेको छ । सूचना तथा सञ्चार प्रविधिको बढ्दो प्रयोगसँगै यसलाई व्यवस्थित गर्न सरकारले तयारी थालेको छ ।

पछिल्लो समय सूचना प्रविधिको क्षेत्रमा लगानीको वातावरण सुधार गर्न, ज्ञानमा आधारित समाज तथा डिजिटल साक्षरतामा जोड दिनुपर्ने आवाज उठ्ने गरेको छ । प्रविधिको उपयोगलाई बढी विश्वसनीय, सुरक्षित र पहुँचयोग्य बनाएर आमनागरिकलाई विद्युतीय माध्यमबाट सरल, सहज, सुलभ तथा विश्वसनीय रूपमा सेवा उपलब्ध गराउन प्रविधि क्षेत्रसँग सम्बन्धित सबैले ध्यान दिनुपर्दछ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  ११:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update