Shittalpati
अपराधिक घटना रोक्न गम्भीर बन

पछिल्लो समयमा अपराध र अपराधिक घटनामा वृद्धि भइरहेको छ । चाहे त्यो बलात्कार होस्, चाहे त्यो हत्या हिंसा नै किन नहोस् मानिस अति नै क्रुर अपराधी बन्ने गरेका छन् । किन यस्तो भइराखेको छ ? यसको गहन अध्ययन हुन ढिला भइसकेको छ । वर्तमान समाज अराजक बन्दै गएको छ । रातारात धनी बन्ने प्रयासमा अपराधजन्य घटना हुँदै आएका छन् र केही घटना यौनसँग जोडिन आउँछन् । अबोध बालबालिकासमेत अपराधका सिकार बनिरहेका छन् ।

जनचेतना अभाव, अशिक्षा, कु–संस्कारजन्य बेथिति, गरिबी, बेरोजगारी, आर्थिक लेनदेन, बदलाको भाव, रिसइबी, झै–झगडा लगायत कारणले हत्याहिंसा जस्ता जघन्य अपराध हुने गरेको प्रहरी तथ्यांकले देखाउँछ । दण्डहीनताले प्रश्रय पाएकै हो या कानुनी अड्चनले हाँगा फैलायो ? अपराधका शैलीहरू फेरिए । मानिस यति क्रूर हुन थाले कि दन्त्य कथाहरूका पात्र राक्षसभन्दा कठोर र निर्दयी । कहाँ चुक्यौं ? लोकतान्त्रिक गणतन्त्र भएको मुलुकमा यस्ता घटना घट्नु दुखद् हो । अपराध सामाजिक रोग हो । यसले समाजलाई विक्षिप्त बनाउँछ । नागरिकको सुरक्षाको दायित्व सरकारको हो । तर सरकार यस विषयमा चुकेको छ । कानुनको सही र निष्पक्ष कार्यान्वयनप्रति नागरिकले विश्वासको अनुभूति गर्न सकेका छैनन् ।

नेपालमा पछिल्लो समय विभत्स अपराधका घटना बढ्दै जानुमा यसका पछाडी विभिन्न कारण जिम्मेवार हुन सक्छन् । आर्थिक संकटले उत्पन्न परिस्थिति, आर्थिक कारोबारमा विवाद, व्यक्तिगत रिसइबी, प्रतिशोध, घर–जग्गा लगायत सम्पत्तिमा विवाद, मादक पदार्थ सेवन,जातीय भेदभाव, सामाजिक सञ्जालको दुरुपयोग, गोपनीयता भङ्ग हुनु, यौन उन्माद, युवामा नैराश्यता, बेरोजगारी, फुर्सदिलो समयजस्ता थुप्रै कारणले हत्याका घटनामा वृद्धि भइरहेका छन् । जे जस्ता कारण जिम्मेवार भए पनि अपराध कर्मलाई कुनै पनि हिसाबले स्वीकार गर्न सकिँदैन । अपराधिक क्रियाकलापमा संलग्न जो कोहीलाई पनि कानुनी कारवाही नगर्ने हो भने यस्ता घटनाले समाजमा थप प्रश्रय पाउने निश्चित छ । अपराधिक घटनाबाट जोगाई सामाजिक सुरक्षाको प्रत्याभूति गर्ने राज्यको दायित्व त छ नै त्यसबाहेक समाज र घरपरिवारको महत्वपूर्ण सहयोग र भूमिका रहन्छ । यसर्थ यस्ता अपराधिक घटनाबाट जोगाउन र हुन नदिन सरकार र समाज गम्भीर बन्न जरुरी छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  ११:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update