Shittalpati
व्यवसायिक आलु खेतीबाट मनग्य आम्दानी

गुल्मी, यहाँका किसान व्यावसायिक रुपमा आलु खेती गरेर मनग्य आम्दानी गर्न थालेका छन् । जिल्लाको मुसिकोट नगरपालिका, रुरुक्षेत्र, मदाने, सत्यवती र मालिक गाउँपालिकाका किसान व्यवसायिक आलु खेती मार्फत आत्मनिर्भर बनेका छन् ।      

यहाँको रुरुक्षेत्र गाउँपालिका– ५ स्थित बम्घाको टाहाटिममा स्मार्ट कृषि गाउँ कार्यक्रम मार्फत व्यवसायिक रुपमा आलु उत्पादन गरिँदै आइएको छ । त्यस क्षेत्रमा ६० घरपरिवार आलु र तरकारी पकेट समूह बनाएर स्मार्ट कृषि गाउँ कार्यक्रममा आवद्ध छन् । यहाँका किसानले पाँच हेक्टर जमिनमा आलु खेती गरेर वार्षिक ९० मेट्रिकटनभन्दमा बढी आलु उत्पादन गर्दै आएको स्थानीय किसान मेघराज गिरीले जानकारी दिए । बम्घा टाहाटिमकी राधिका गिरीले खेत र बारी गरेर पाँच रोपनी क्षेत्रफलमा आलु खेती गरेकी छन् । उनको बारीमा र खेतमा गरेर यसपटक २० क्विन्टलभन्दा बढी आलु उत्पादन भएको छ । आलुसँगै गिरीले खेतमा धान, मकै, सिमी र काउली पनि उत्पादन गर्दै आएकी छन् । टाहाटिमका किसानहरु यतिबेला खेतमा आलु खन्न व्यस्त छन् । गत वर्षको तुलनामा यसपटक आलुले राम्रै बजार पाएको स्थानीय किसान मेघलाल गिरीले बताए । उनका अनुसार अहिले स्थानीय बजारमा प्रतिकिलो ४० मा धमाधम आलु बिक्री भइरहेको छ । लुम्बिनी प्रदेश सरकारमार्फत कृषि ज्ञान केन्द्र गुल्मीद्वारा टाहाटिममा स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन भइरहेको छ । बम्घाको टाहाटिममा दुई वर्षअघिदेखि स्मार्ट कृषि गाउँ कार्यक्रम सुरु भएको स्मार्ट कृषि गाउँ कार्यक्रम बम्घाका अध्यक्ष चेतनारायण श्रेष्ठले जानकारी दिए । 

कृषि ज्ञान केन्द्रले बीउ, मल, विषादी, मेसिन, सिँचाइ र बीउ संकलन केन्द्रसम्म पुर्‍याउन ढुवानी लगायतका क्षेत्रमा सहयोग गर्दै आएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए । 
बम्घाको टाहाटिमका किसान पूर्खादेखि आलु खेती गर्दै आइरहेका छन् । आलु खेतीका लागि उर्वरभूमि भएका कारण त्यस क्षेत्रमा अन्य खेतीको तुलनामा मनग्य रुपमा आलु उत्पादन हुने गर्दछ । पछिल्लो समयमा अधिकांश ठाउँमा आलु उत्पादक किसानलाई आलुमा लाग्ने कमिलो र डढेलो रोगका कारण पिरोली रहन्छ । बम्घामा भने कमिलोभन्दा समय समयमा डढेलोको प्रकोप बढी देखिने गरेको बताइएको छ । 

कृषि ज्ञान केन्द्रले जिल्लाको मुसिकोट नगरपालिका–१ अन्तर्गत भर्माचौर, सत्यवती गाउँपालिकाको साहघाट, मदाने गाउँपालिका ६ अन्तर्गत सिम र मालिका गाउँपालिकाको अर्खाबाङ्मा आलुको पकेट क्षेत्र 
बनाई व्यावसायिक रुपमा आलु र आलुको बीउ उत्पादन गर्दै आइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update