Shittalpati
तानसेन महोत्सवको आकर्षण : ठेका, डोका, डाला र बोका

पाल्पा, आजकल परम्परागत बाँसका डोका, डाला, दुध दही जमाउने, गिठीका ठेका ठेकी, माटाका भाडाँकुडाँ, हराउदै गएका छन् । हराउँदै गएका तिनै परम्परागत हस्तकलाका सामग्री यति बेला महोत्सवमा दर्शकहरुको आकर्षण बनेका छन् । जिल्लामा जारी प्रथम तानसेन महोत्सवमा राखिएका अधिकांस स्टलहरुमा डोका, डाला, ठेका,ठेकीहरुमा दर्शकहरुको उल्लेखीय भीड देखिएको छ ।

कृषि, रोजगार, पर्यटन, उद्योग र व्यापारको प्रवद्र्धन गर्ने उद्देश्यले तानसेन नगर सरकारद्वारा आयोजित महोत्सवमा राखिएका बाँसका डोका, डाला,  दुध दही जमाउने, गिठीका ठेका ठेकी, माटाँका भाडाँ कुडाँ, बोका लगायतका सामग्री र उत्पादनले सजिएका दर्जन बढी स्टलले दिनहुँजसो चर्चा पाइरहेका छन् । महोत्सवमा सोचेभन्दा राम्रो कारोबार भएको व्यवसायीहरुको भनाई छ । स्थानीय स्तरका उद्योगहरूबाट उत्पादित सामग्रीको प्रवद्र्धन र बजार व्यवस्थापनमा सघाउ पुर्‍याउने योजनासहित आयोजित महोत्सवमा उद्यमीले भाग लिने अवसर पाएका हुन् । महोत्सवमा तानसेन नगरपालिका– ८ मदनपोखराका दुर्गा बहादुर खाँण ठकुरीले राखेको एक सय दश र  एक सय साठी किलोको बोका हेर्नेहरुको भीड लाग्ने गरेको छ ।

यस्तै लक्ष्मी माध्यमिक विद्यालय तानसेन –५ का  विद्यार्थीहरुले राखेको कृषि नर्सरीको स्टलमा समेत  दर्शकको आकर्षण बढेको छ ।  महोत्सवमा बगनासकाली –९ चापपानीका खुमबहादुर विकले स्थानीय घरेलु कृषि औजार तथा हातहतियार विक्रि गरी महोत्सवमा फाईदा उठाएका छन् । अहिलेका अधिकाश पुस्ताहरुमा दुधबाट दही बनाउने परम्परागत काठका सरसमान, दही फिट्ने ठेका, ठेकीहरुको प्रयोग बारेमा जानकारी छैन । पसलमा गयो, दुध दही किन्यो खायो, दुधबाट दही कसरी जमाइन्छ, केमा जमाइन्छ भन्ने जानकारी छैन् । यस्तो अवस्थामा महोत्सवमा राखिएका परम्परागत रुपमा बन्दै आएका गिठीका ठेका, ठेकी बनाउने, विक्रि गर्ने स्टल आकर्षणको केन्द्र बन्न पुुगेका हुन्  ।  गुल्मी छत्रकोट गाउँपालिका –१ हुगाँका यमन चुदाराले  स्टलमै  ठेका,ठेकी बनाउँदै, देखाउदै विक्रि गर्दै आएका छन् । परम्परागत काठका ठेकाहरुको प्रयोग मानविय स्वास्थ्यको लागि निकै राम्रो भए पनि स्टिलका भाडाँको तुलनामा महङ्गो पर्ने भएकाले सरकारबाट नीतिगत व्यवस्था गरी परम्परागत पेशा व्यवसाय जोगाउनु पर्ने  व्यवसायी चुदाराले बताए । नेपालमा रोजगारी नपाएको भन्दै लाखौं युवाहरु विदेशिएका छन् । तर स्वदेशमा पनि केही गर्न सकिन्छ भन्ने सन्देश दिन स्वदेशी कच्चा समाग्रीहरुको प्रयोग गरेर अहिले केही युवाहरुले रोजगारी सहित आम्दानी गर्ने गतिलो माध्यम बनेको छ बाँस उद्योग । कारागारका कैदी बन्दीले बुनेको बाँसका मुढा विक्रि गर्दै आएका बालकृष्ण अर्यालले विक्रि राम्रो भएको बताए ।

नेपालको पहाडी र तराई क्षेत्रमा प्रशस्त पाईने बाँस प्रयोग विहिन भईरहको समयमा नवलपरासी सुनवलका एक युवाले सयौं सरसमान बनाई  तानसेन महोत्सवमा विक्रि गर्दै आएका छन् । बाँसका सरसमानहरुको कारण तानसेन महोत्सवमा आर्कषण बढेको छ । सयौं थरीका बाँसका सरसमानहरुको अवलोकनले युवा पुस्ताहरुमा स्वदेशमै केहि गर्न सकिन्छ भन्ने आत्मविश्वास बढाएको छ । ३ बर्ष देखी बासँको उद्योग सञ्चालन गर्दै आएका नवलपरासी सुनवलका मौसम श्रेष्ठले महोत्सवमा राम्रो व्यापार भएकाले बासँका सरसमानप्रति अझै उत्साह बढाएको बताए । श्रेष्ठको एक पटक ल्याएको बाँसका सम्पूर्ण सरसमान सकिएर पुन दोस्रो पटक ल्याई विक्रि गरेका छन् । श्रेष्ठको दैनिक २० देखी ५० हजारसम्मको बाँसका सरसमानहरु विक्रि हुँदैआएका छन् ।

महोत्सवमा विभिन्न सांगीतिक कार्यक्रम, रमाइलो मेला, स्थानीय उत्पादन र आयातीत वस्तुका स्टल, रेस्टुरेन्ट सञ्चालनमा छन् । जहाँ ३ सय वटा स्टलहरु मध्ये ५० वटा स्टल नगरपालिकाले परम्परागत सिप, कला, घरेलु तथा कुटिर उद्योग, कृषि, पशु सम्बन्धी स्टलहरुको निशुल्क रुपमा उपलब्ध गराएको नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताए । कृषि तथा उत्पादन, घरेलु तथा साना उद्योगहरुको उत्पादन तथा परम्परागत सिप कला सम्वन्धी उत्पादनहरुलाई तानसेन नगरपालिकाले खोजी–खोजी स्टलहरु सञ्चालन गरेको छ । ढाका बुन्ने सिप देखी, च्याउँ उत्पादन गर्ने तरीका, खेती पाती गर्ने देखी, नर्सरी राख्ने तरिका, परम्परागत सिप कलाहरु देखाउदै सिकाउँदै  मानिसको आय आर्जनसँग जोडिने गरी महोत्सव केन्द्रित रहेको  नगर प्रवक्ता यादव सिंह कार्कीले बताए । तानसेन नगर सरकारले महोत्सवबाट परम्परागत सिप, कला संस्कृतिको प्रयोग र प्रदर्शनीले मानिसहरुलाई आय आर्जनसँग जोडेको छ । पाल्पामा हुने गरेका विगतका मेला महोत्सव  कुनै व्यक्ति संघ संस्थाको आयआर्जनको गतिलो माध्यम बन्दै आएकोमा तानसेन नगरपालिकाले गरेको प्रथम तानसेन महोत्सवले भने नगर सरकारको राजश्वमा ६५ लाख बृद्धि भएको नगरपालिकाकी उप–प्रमुख प्रतिक्षा गाहा सिंञ्जालीले बताईन् । नगर सरकारको आन्तरिक आम्दानी वृद्धिले आगामी बजेटको आकार बढ्ने र संघीय सरकारबाट आउने विकास निर्माणको बजेट समेत वृद्धि हुनेमा नगरपालिकाले विश्वास लिएको छ । महोत्सव यही फागुन २९ गतेसम्म चल्ने छ । महोत्सवमा १० करोडको कारोबार हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १७:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update