Shittalpati
विद्यार्थी नै पढ्छन्, सिकाउँछन्

रामचन्द्र रायमाझी/मन गहिरे
पाल्पा, धेरै विद्यालयमा शिक्षकहरूले पढाउँछन्, विद्यार्थीहरुले पढ्छन् र ज्ञान, सीप हासिल गर्छन् ।  हासिल गरेको ज्ञान, सीप विद्यार्थी आफैमा सिमित हुन्छ । न उनीहरुले आफुले सिकेका कुराहरु अरुलाई सिकाउन्छ नत व्यवहारमै उतार्छन् । तर पाल्पामा यौटा विद्यालय अपवाद जस्तो छ, जहाँ विद्यार्थी पढ्छन् र पढेका सिकेका ज्ञान, सीप अन्य विद्यालयमा गएर विद्यार्थीहरुलाई नै सिकाउँछन् । शिक्षक सहयोगी मात्रै बन्छन् ।

जिल्लाको तानसेनस्थित मोहन कन्या माविले विद्यार्थीहरुमा यस्तो अभ्यासको थालनी गरेको हो । उसले पढ्दै–सिकाउँदै कार्यक्रम नै बनाएर विद्यार्थीहरुमा यस्तो अभ्यास गराउँदै आएको छ । यसले सिकाइ उपलब्धि बढाउन सहयोग पुगेको छ । यहाँ जिल्लामै एकमात्र कम्प्युटर इन्जिनियरिङको प्राविधिक शिक्षा अध्ययन हुन्छ । इन्जिनियरिङ पढिरहेका छात्राहरुले जिल्लाका अन्य विद्यालयमा गई त्यहाँका विद्यार्थीहरुलाई आफुले जानेका सीप र ज्ञान सिकाउने गर्छन् । यस विद्यालयले हरेक कुरालाई प्रयोगात्मक अभ्यासमा लैजान्छन् । विद्यार्थीकै अगुवाइमा विद्यार्थीबीच प्रतिस्पर्धाबाट सिकाउँछन् । यसो गराउँदा विद्यार्थी सिक्न जागरुक हुन्छन् । सिकाइ दिगो र प्रभावकारी हुन्छ ।  विद्यालयले यहि वर्षदेखि पढ्दै–सिकाउँदै कार्यक्रम ल्याएको हो । जसमा यहाँका विद्यार्थीहरुले पहिलो पटक बगनासकाली गाउँपालिका–१ मा रहेको राम आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई आफुले जानेका ज्ञान, सीप सिकाएका छन् । त्यहाँ कक्षा–५ देखि ८ सम्मका ४५ जना विद्यार्थीहरुलाई कम्प्युटर विषयको विषयगत ज्ञान तथा प्रयोगात्मक ज्ञानका बारेमा सिकाएका छन् । उनीहरुले कम्प्युटर हार्डवेयर सम्बन्धी, कम्प्युटर एसेम्वल, सफटवेयर स्टल, फरमेटिङ, इन्टरनेट तथा आधारभूत कम्प्युटर सम्बन्धी सामान्य ज्ञानका बारेमा सिकाए ।

विद्यालयलाई विद्यार्थीमैत्री र सिकाइमैत्री बनाउन यस्तो अभियान ल्याइएको प्रधानाध्यापक दीपक ज्ञवालीले बताए । ‘यसले विद्यार्थीलाई हरेक कुरा सिक्न उत्प्रेरित गरेको छ । सिकेको कुरा सम्झिरहने बनाएको छ,’ उनले भने,‘शिक्षकलाई पनि विद्यार्थीलाई पढाउन र बुझाउन धेरै बल प्रयोग गर्नु परेको छैन ।’ ‘हरेक नियम विद्यार्थीलाई पढाउने होइन, सिक्ने सिकाउने र आनीबानी सुधार्ने दृष्टिकोणबाट बनाएका छौं,’ प्रअ ज्ञवालीले भने,‘यसले विद्यार्थीलाई मिहिनेती, लगनशील र अनुशासित बनाउनसमेत सहयोग पुगेको छ ।’ पढ्दै–सिकाउँदै गर्दा बालबालिकामा सिकाइप्रति रुचि बढ्ने र सिकेको सीपको हस्तान्तरण हुने विद्यालयका कोर्डिनेटर इन्जिनियर तिलकराम भण्डारीले बताए । आफ्नै सक्रियतामा कक्षा चल्ने र सिकाइ हुने भएपछि विद्यार्थी पनि पढाइप्रति सजग र जिम्मेवार हुन थालेका उनले बताए ।  

विद्यार्थीले अर्कोदिन कक्षामा पढाउने विषय अघिल्लो दिन नै घरमा तयारी गर्न थालेका छन् । भण्डारीका अनुसार कक्षा–१२ का कम्प्युटर इन्जिनियङ पढ्दै गरेका सुरक्षा पाण्डे, वर्षा तिमिल्सिना, अनिता सुनार, कामना राना, मोनिका नेपाली, अपर्णा बज्राचार्य, निकिता रुचाल, ममता चालिसेको समुहले अन्य विद्यालयमा पुगेर विद्यार्थीहरुलाई सिकाउँदै आएका हुन् । ति विद्यार्थीहरुले पढ्दै–सिकाउँदै गर्दा आफुले नजानेका धेरै ज्ञान, सीप हासिल गरेको बताउँछन् । यसले सिक्न र सिकेको कुरा सम्झन सजिलो भएको समेत उनीहरुको भनाई छ । यस विद्यालयको अर्को अचम्म के छ भने छात्राहरुले मात्र अध्ययन गदर्छन् । पश्चिम क्षेत्रकै एक मात्र प्राविधिक कन्या स्कुलका रुपमा यो विद्यालयको स्थापना भएको हो । नेपाली समाजमा छोरीहरुलाई शिक्षा प्राप्त गर्न कठिन र चुनौती रहेका बेला २००७ सालमा विद्यालयले कन्याहरुका लागि छुट्टै छात्रावासको व्यवस्था गरी अध्ययन, अध्यापन गराउँदै आएको छ ।

राणाकालिन समयमा छोरीहरुले शिक्षा लिनु हुँदैन भन्ने मान्यता बोकेको कठिन परिस्थितीमा नारीहरुलाई पनि शिक्षाको मुलधारमा ल्याउनुपर्छ भन्ने अभिप्रायले २००७ सालमा विद्यालयको स्थापना गरिएको थियो । यो यात्रामा विद्यालयले आफुलाई यस क्षेत्रकै प्रतिष्ठित र उत्कृष्ट शैक्षिक संस्थाको रुपमा पहिचान बनाउन सफल भएको छ । २०७० सालदेखि प्राविधिक धारतर्फ कम्प्युटर इन्जिनियरिङ शुरुवात गरेको यस विद्यालयमा हाल आठौं प्याचका विद्यार्थीहरुले प्लस टु पास गरिसकेका छन् । अहिलेसम्म प्राविधिकतर्फ २० जना छात्राहरुले टि.यु. र पि.यु. मा इन्जिनियरिङमा छात्रावृत्तिमा नाम निकाली अध्ययन पुरा गरेर जागिरे समेत भैसकेको छन् । हाल कक्षा ९ देखि कक्षा १२ सम्मका ९० जना छात्राहरुले पढिरहेका छन् ।

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update