Shittalpati
नारी दिवस र समाज परिवर्तनमा महिलाको भूमिका

रमा पन्त  

 म  नारी हुँ म यस सृष्टिकी चिनारी हुँ,
     यस धर्तिको सृष्टिकर्ता हुँ 
  त्यसैले सबैको जिम्मेवारी हुँ !

 आज नारी दिवस । विश्वभर विभिन्न कार्यक्रम गरी मनाइरहेका छौं । नारी दिवस भन्ने बित्तिकै हामी महिलाको  दिवस  भनेर बुझ्ने गर्छौ । एक बर्षमा ३६५ दिन हुन्छ । एक दिन मात्र नारी दिवस किन मनाइन्छ ? के ३६४ दिन पुरुष दिवस हो त ? कतिको मनमा यस्ता प्रश्नहरु  उठेका पनि होलान् हैनत पक्कै पनि हुन्छ होला ? महिला दिवस  किन, कहिले देखी मनाउन सुरू भयो यो जान्नको लागि यसको इतिहास जान्न जरुरी छ । धेरै बर्ष पहिले  विश्वमै महिला कामदार माथि श्रमको शोषण हुन्थ्यो । महिलाहरुलाई पुरुषको तुलनामा शारीरिक, मानसिक र बौद्धिक रुपमा निकै कमजोर मानिन्थ्यो । कुनै पनि काम र कुरामा महिलाहरुलई स्वतन्त्रता थिएन ।  महिलाहरुले कुनै पेशा ,ब्यबसाय गर्न पाइँदैनथ्यो । महिलाहरुले काम गर्दा पुरुषको तुलनामा  काम बढी गर्नु पर्ने तर ज्याला कम पाउने गर्थे ।  महिलाहरुलाई मताधिकारको पनि अधिकार थिएन । त्यसैले श्रमिक महिलाहरुबाट  उठेको आन्दोलनलाई संयुक्त राष्ट्रसंघले वार्षिक कार्यक्रमका रुपमा अन्तर्राष्ट्रिय महिला दिवसको मान्यता दिएको हो ।

सन् १९०८ मा न्युयोर्क सहरमा काम गर्ने महिलाहरु  १५०००को सहभागितामा आफनो काम गर्ने समय थोरै हुनुपर्ने,उचित कामको उचित ज्याला दिनु पर्ने र महिलालाई मतदानको  अधिकार हुनुपर्ने माग राखेर  र्‍याली निकालेका थिए । त्यहाँबाट आन्दोलनको  विजारोपण भएको थियो । त्यसको  १ बर्षपछि अमेरिकाको समाजवादी पार्टीले पहिलो राष्ट्रिय महिला दिवस घोषणा गरेको थियो । यसलाई अन्तर्राष्ट्रिय महिला दिवस बनाउने काम क्लारा जेट्लीनले गरेकी थिइन् । उनले  १९१० मा  कोपन हेगनमा भएको कामकाजी महिलाहरूको (श्रमिक महिलाहरु) अन्तर्राष्ट्रिय सम्मेलनमा यो प्रस्ताव  ल्याइन् र सबैले उनको प्रस्ताव समर्थन गरेका थिए । त्यस सम्मेलनमा १७ देशबाट १०० महिलाहरुको उपस्थिति रहेको थियो । 

अन्तर्राष्ट्रिय महिला दिवस  ८ मार्च नै किन मनाउन थालिएको हो त ? क्लारा जेट्किंनले महिला दिवस मनाउनको लागि कुनै दिन निश्चित गरेकी त थिइनन् । १९१७ को युद्धमा रुसका महिलाहरुले “खाना र शान्ति“ को माग राखेर हड्ताल गरेका थिए । महिलाहरुको हड्तालले त्यहाँको सम्राट निकोलसलाई पद छोड्न बाध्य बनायो । त्यसपछि रुसको अन्तरिम सरकारले  महिलाहरुलाई मतदानको अधिकार प्रदान गरेको थियो । जुन दिन महिलाहरुले हड्ताल सुरु गरेका थिए त्यो दिन ८ मार्च  थियो । त्यसैले त्यहि दिनलाई महिला मुक्तिको दिन मानेर आजसम्म पनि ८ मार्चलाई महिला दिवसको रूपमा मनाउँदै आइएका छौ ।
पहिलो पटक सन् १९११ मा अन्तर्राष्ट्रिय महिला दिवस अष्ट्रिया, जर्मनी, डेनमार्क र स्विट्जरल्याण्डमा मनाइएको थियो । त्यसको १०० बर्ष २०११ मा मनाइयो । त्यसैले यो बर्ष हामी ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाउदै छौ । हाम्रो देश नेपालको सन्दर्भमा वि.स. २०१६ सालमा प्रधानमन्त्री बि पी कोइरालाको पालादेखि अन्तर्राष्ट्रिय महिला दिवस मनाउन सुरू गरिएको हो ।  

नेपालमा प्रधानमन्त्री विपी कोइरालाको नेतृत्वकालमा द्वारीका देबी ठकुरानी मन्त्री मण्डलमा समावेश भएपछी संसदमा महिलाको उपस्थित हुन थालेको हो ।  २०४६ सालको जनआन्दोलन,सशस्त्र संघर्ष तथा २०६२/०६३ को आन्दोलनबाट भएको राजनैतिक परिवर्तनसँगै विभिन्न जातजाति, भाषाभाषी र समुदायमा आएको जागरण तथा आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणले महिलाको सामाजिक, आर्थिक तथा राजनैतिक जीवनमा सकारात्मक प्रभाव परेको देखिन्छ ।  हाम्रो देशमा राज्यको निती निर्माण तहदेखी स्थानीय निकायसम्म न्युनतम ३३÷ को धारणा  पनि आन्दोलनको उपलब्धि नै हो । वर्तमान अवस्थामा  महिला दिवस मनाउँदा संविधानको बारेमा चर्चा,समानताका कुराहरू,महिलाहरुको भुमिकाको चर्चा , र अधिकारको बारेमा जागरुक गराइन्छ । महिलाहरुको सम्मानको लागि विभिन्न कार्यक्रम गरिन्छ । महिलाहरुले गरेको कामको प्रशंसा गर्नका लागि र महिलालाई आफ्ना अधिकारको बारेमा जागरुक बनाउनको लागि पनि बिभिन्न कार्यक्रम गरेर नारी दिवस मनाउने गरिन्छ । यद्यपी अझै पनि हाम्रो समाजमा पितृसत्तात्मक सोचले जरो गाडेको छ । जति भाषणमा नारी पुरुष समान भनेता पनि ब्यबहारमा पुर्ण लागु हुन सकेको छैन् । देशको प्रधानमन्त्री र कुनै पनि दलले  प्रमुख पदमा महिलालाई पुर्‍याउन सकेको छैन । अहिलेसम्म यसको लागि अझै पनि  संघर्ष गर्नुपरेको छ । “यत्र नारी पुज्यन्ते रमन्ते तत्र देवता” भन्ने कथन भाषणमा मात्र सिमित देखिन्छ । यसलाई ब्यवहारमा लागु गर्नु आजको आवश्यकता हो । यसको लागि तपाई हाम्रो सोचमा  परिवर्तन आउनु पर्दछ । तब मात्र महिलाहरु सम्मानित हुनेछन् । यो बर्ष ११४ औं नारी दिवसको नारा रहेको छ “महिलामा लगानी, समुन्नत समाजको थालनी” एउटा महिलाले आफ्नो घर परिवारको जिम्मेवारी लिएर गृहस्थि चलाउदै आफ्ना सन्तानको उज्वल भविष्यको कामना गरेकी हुन्छिन् । विकास निमार्ण कार्यमा पनि उत्तिकै सक्रिय भएर काम गरेकी हुन्छिन् । परिवारका सदस्यलाई सामाजिक कार्यमा उत्प्रेरित गर्दै सामाज र राष्ट्र निर्माणका रुपमा तयार पारेकी हुन्छिन् । त्यसैले समाज परिवर्तनको संवाहक महिला बनेकी हुन्छिन् ।  त्यसैले होला आज राज्यले पनि महिलामा लगानी गरेर समुन्नत समाज सुनिश्चित गर्ने अवधारणा लिएको । अन्त्यमा ११४ औ अन्तराष्ट्रिय नारी दिवसको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
( लेखक नेपाल महिला संघकी पूर्व केन्द्रीत सदस्य समेत हुन् ।)

प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  १५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update