Shittalpati
कालिगण्डकी गाउँ सरकारको सार्वजनिक सुनुवाइ, अध्यक्ष थापा भन्छन् ‘जनताको सेवाप्रति प्रतिबद्ध छौँ’

गुल्मी, जिल्लाको कालिगण्डकी गाउँ सरकारले सार्वजनिक सुनुवाई गरेको छ । उसले चालु आर्थिक वर्षको फागुन २३ गतेसम्मको कार्यक्रम, योजना र सेवा प्रवाहका विषयमा वडा– १ हर्मिचौरको फरिण्डाँडामा सार्वजनिक सुनुवाई गरेको हो ।

पालिकाले प्रदान गर्दै आएका सेवा सुविधामा आमनागरिकको पहुँच वृद्धि तथा गुणस्तरीय सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापा मगरले बताए । उनले कार्यक्रममा सेवाग्राहीहरुले दिएका सुझाव र जिज्ञासाहरुलाई पालिकाले आगामी दिनमा कार्यान्वयन गर्दै लैजाने बताए । अध्यक्ष थापाले भने ‘जनप्रतिनिधिको मुख्य दायित्व जनताको सेवा गर्नु हो । हामी यसप्रति प्रतिबद्ध छौँ ।’ उनले स्थानीय जनताका हरेक समस्याहरु समाधान गर्ने, युवा, वेरोजगार, महिलाहरुलाई उद्यमशीलता र आयआर्जनमा सहयोग गर्ने वातावरण मिलाईने बताए । कार्यक्रममा उपाध्यक्ष मञ्जु दर्लामीले महिला र न्यायिक क्षेत्रलाई प्रभावकारी बनाउँदै महिला बालबालिका लक्षित कार्यक्रमलाई प्राथमिकता दिदै जाने योजना रहेको बताईन् ।

प्रमुख प्रशासकिय अधिकृत नरेश गिरीले पालिकाको आर्थिक अनुमानित आय ५२ करोड ८१ लाख ७४ हजार मध्ये हाल सम्म २९ करोड १६ लाख ३३ हजार ५ सय ८६ अर्थात् ५५ दशमलव ५५ प्रतिशत प्रगति भएको जानकारी दिए । उनका अनुसार हालसम्म खर्चतर्फ चालू खर्चमा ३९ करोड ३७ लाख ६७ हजार ७ सय मध्ये १४ करोड ४४ लाख ४७ हजार २ सय ६२ अर्थात्  ३६ दशमलव ६८ प्रतिशत प्रगति भएको छ । यस्तै पुँजीगत खर्चतर्फ १३ करोड ११ लाख ६ हजार ३ सय मध्ये २ करोड ६६ लाख ५२ हजार ६ सय १३ अर्थात् १९ दशमलव ८२ प्रतिशत मात्र खर्च भएको अधिकृत गिरीले बताए ।

गाउँ पालिकाको स्वीकृत दरबन्धी १९ जना र वडा १ देखि ७ सम्म वडा कार्यालयको स्वीकृत दरबन्दी १४ गरी जम्मा ३३ दरबन्दी रहेकोमा हाल १६ जना मात्र कर्मचारी कार्यरत रहेका छन् ।  जहाँ करार कर्मचारी ५० जना, प्रदेश र लोकसेवा आयोगका २ जना र पालिकाबाट २ जना कर्मचारी रहेको उनले बताए । हाल सम्म २ वटा गाउँ सभा र १२ वटा पालिका बैंठक, १२ न्यायिक समितिका बैंठक, २ पटक सार्वजनिक लेखा समितिका बैंठक, ४ वटा राजस्व परामर्श समितिको बैंठक, स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैंठक, ६ वटा कर्मचारी, ६ पटक अन्य बैंठकका साथै यो बर्ष विभिन्न ६ वटा कानुनहरु पारित भएको जनाइएको छ ।  

 कार्यक्रममा  अधिकृत गिरीले स्वास्थ्य शाखा, आयुर्वेद, शिक्षा, योजना शाखा, रोजगार केन्द्र, पशुपंक्षी शाखा, लघु उद्यम शाखा, सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा, राजस्व तथा सहकारी शाखाबाट भएका काम कारवाहीका विषयमा जानकारी गराएका थिए । कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले गरेका थिए । आमनागरिकले पालिकाको काम, कर्तव्य र प्रगतिका बारेमा जानकारी लिनुको साथै आफ्ना जिज्ञासा राखेका थिए ।

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १५:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update