Shittalpati
देउवा–प्रचण्ड एक वर्षमै ‘डिभोर्स’

पाल्पा, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सम्बन्ध एक वर्षमै टुटेको छ । बालकोटमा बनेको गठबन्धन तोडेर १२ फागुन २०७९ मा ‘पुनर्मिलन’ भएका यी शीर्ष दुई नेताबिच एक वर्ष ९ दिनमै ‘डिभोर्स’ भएको हो ।

नेकपा (माओवादी केन्द्र) ले विभिन्न कारण देखाउँदै सोमबारदेखि नेपाली काँग्रेससँगको सहकार्य तोडेको छ । यससँगै काँग्रेस अब प्रमुख प्रतिपक्षीको कित्तामा पुगेको छ । गत फागुन १२ गते काँग्रेस, माओवादी, जसपा, एकीकृत समाजवादी, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी मिलेर नयाँ समिकरण बनेको थियो । अन्ततः उक्त समिकरण एकाएक टुट्न पुग्यो । प्रधानमन्त्री दाहालले एमालेसहित अन्य दलहरुसँग सत्ता समीकरण बनाउन पुगेका छन् । राजनीतिमा अति ‘चलायमान’ प्रचण्डले कति बेला कोसँग सहमति गर्छन् भन्नै सकिदैन । त्यसैकारण पनि काँग्रेससहितको गठबन्धन ५ वर्ष नै ढुक्कले जान्छ भन्नेमा पहिले नै आशंका थियो । नभन्दै प्रचण्डले काँग्रेससँगका विभिन्न कारण देखाउँदै देउवासँगको सम्बन्ध तोड्न पुगे । हुन त सम्बन्ध जोड्नु र तोड्नु नेपाली राजनीतिमा प्रचण्डको यो नौलो हैन । यस अघि पनि एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको सम्बन्ध दुई महिनामै टुटेको थियो । बालकोटको बार्दलीमा गत पुस १० गते ‘पुनर्मिलन’ भएका शीर्ष दुई नेता राष्ट्रपति निर्वाचनको उम्मेदवारी दर्तासम्म आइपुग्दा ‘बिछोडिएका’ थिए । दाहाल एमालेसहित १ सय ६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए । त्यसबेला कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पद दिन अस्वीकार गरेपछि दाहाल ओलीसँग पुनः सम्बन्ध गाँस्न पुगे । तब एमालेसहित सात दलको नयाँ गठबन्धन बनेको थियो । त्यस क्रममा माओवादीबाट दाहाल प्रधानमन्त्री र राष्ट्रपति एमालेलाई दिने ‘सहमति’भएको थियो । तर, उक्त सहमति विपरीत दाहालले राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेललाई साथ दिए । बालकोटमा बनेको गठबन्धन तोडेर दाहालले फेरी गत फागुन १२ गते कांँग्रेससहितको सात दलको नयाँ समीकरण बनाए । दाहाल साढे २ वर्ष, डेढ वर्ष शेरबहादुर देउवा र माधवकुमार नेपाल एक वर्ष  प्रधानमन्त्री हुने गरी सहमति बनेको थियो । अन्नतः प्रचण्डले त्यो सहमति मात्र तोडेनन्, गठबन्धन नै गल्र्यामै ढलाए ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले वर्तमान सत्तारुढ गठबन्धनको अन्त्य गर्दै नयाँ गठबन्धन बनाएर अगाडि बढ्ने निर्णय गरेसँगै राजनीतिक कोर्ष नै परिवर्तन भएको छ । संक्रमणकालिन न्याय तथा राष्ट्रियसभा अध्यक्षको विषयमा नेकपा एमाले र माओवादी केन्द्रका बिचमा सहमति भए पछि कांग्रेससँगको गठबन्धन भत्किएको हो । प्रचण्डले सोमबार माओवादी–एमालेसहितको नयाँ गठबन्धन बनाएका छन् । नयाँ गठबन्धनसँगै एमाले, माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट एक जना मन्त्री समेत बनेका छन् । पुनर्गठित मन्त्रिपरिषद्का तीन मन्त्रीले  शपथ समेत लिएका छन् । माओवादीबाट हितबहादुर तामाङ, एमालेबाट पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डीपी अर्याल विना विभागी ले मन्त्रीको शपथ लिएका छन् ।

नयाँ गठबन्धनमा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी, उन्मुक्तिसहित नयाँ गठबन्धनको सरकार बन्ने छन् । सभापति शेरबहादुर देउवाले पार्टी प्रवक्ता एवं अर्थमन्त्री डा.प्रकाशशरण महतलाई अन्तिमसम्म बोकेपछि सत्ता गठबन्धन ढलेको धेरैले विश्लेषण गरेका छन् । प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्री महतसँग पहिलेदेखि नै असन्तुष्ट हुँदै आएका थिए । उनले मंसिरदेखि नै मन्त्रिमण्डल पुनर्गठन गर्ने बताउँदै आएका थिए । त्यतिबेला काँग्रेस सभापति देउवाले नै राष्ट्रिय सभाको निर्वाचनसम्म मन्त्रिमण्डल हेरफेर नगर्न भन्दै आएका थिए । त्यसपछि फेरि देउवाले काँग्रेस महासमिति बैठकसम्म कुर्न आग्रह गरेका थिए । एकातिर कांग्रेसबाट सरकारमा गएका मन्त्रीहरुको रिपोर्ट कार्ड राम्रो नहुनु र अर्कातिर प्रचण्डसँगै अर्थमन्त्रीको राम्रो सम्बन्ध नहुनाका कारणले पनि प्रचण्ड चिँढिदै आए । काँग्रेस महासमितिको बैंठक सकिएपछि पनि देउवाले अर्थमन्त्री महतलाई लगानी सम्मेलनसम्म काम गर्न दिन प्रचण्डसँग आग्रह गरेका थिए ।

देशको अर्थतन्त्रमा कुनै पनि सुधार हुन नसकेको अवस्थामा अर्थमन्त्री महतले सुधार भएको अभिव्यक्ति दिदै आउनु र परिणाम कुनै नदेखिएपछि प्रचण्ड पूरै मन्त्रीहरु परिवर्तन गर्ने दाउमा थिए । तर पनि देउवाले अन्तिम समयसम्म अर्थमन्त्री महतको काँध थापेपछि कांग्रेस नै गठबन्धनबाट टाढिन पुगेको हो । त्यति मात्र होइन राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा माओवादी केन्द्रको उम्मेदवारलाई हराउनु, काँग्रेस महासमिति बैठकमा जनयुद्वलाई गलत ढ·ले टिप्पणी गर्नु र हिन्दु राष्ट्रको पक्षमा वकालत गर्नुले पनि कांग्रेस–माओवादी गठबन्धन टुट्न बल पुगेको अनुमान गर्न सकिन्छ । सीमित स्वार्थका लागि देउवाले पार्टीलाई क्षणभरमा प्रतिपक्षमा धकेलेको भन्दै चर्को आलोचना समेत भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  ११:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update