Shittalpati
रामपुरमा मेलमिलाप सम्बन्धी तालिम

पाल्पा, जिल्लाको रामपुरमा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सञ्चालन भएको छ । रामपुर नगरपालिकाको आयोजनामा तालिम भएको हो । २० गतेसम्म सञ्चालन हुने तालिमको नगर प्रमुख रमणबहादुर थापाले  उद्घाटन गरेका हुन् ।

तालिम उद्घाटन गर्दै नगरप्रमुख थापाले अनुशासित र सभ्य समाज निर्माणका लागि मेलमिलापको महत्वपूर्ण भूमिका हुने बताए । उनले मेलमिलापसहितको अनुशासित समाज र नागरिकले मात्र हरेक क्षेत्रको विकासको अनुभूति गराउने धारणा व्यक्त गरे ।  उनले भने ‘समाजमा हुने झै–झगडा, विवाद समयमा मेलमिलाप गराउन नसके धेरै ठूूला घटना समेत घट्न सक्छन्, त्यसलाई रोक्न मेलमिलाप आवश्यक पर्दछ ।’ नगर प्रमुख थापाले न्याय र अन्यायको सही मूल्यांकन गरेर विवादको समाधान तथा मेलमिलाप  गर्न गरिनुपर्नेमा जोड दिए । मेलमिलापकर्ताहरुमा मेलमिलापका लागि आत्मविश्वास र तत्परता आवश्यक रहेको उल्लेख गर्दै उनले नगरका विभिन्न गाउँ टोलमा हुने विवादको समाधान र मेलमिलापका लागि तालिम लाभदायी हुने विश्वास व्यक्त गरे । उपप्रमुख तथा न्यायीक समितिका संयोजक बाल कुमारी थापाले समाजमा हुने विभिन्न खालका विवादलाई टोलस्तरमै समाधान होस् भन्ने हेतुले तालिमको आयोजना गरिएको बताइन् । पछिल्लो समय नगरपालिकाका विभिन्न स्थानबाट जग्गा विवाद र लेनदेनका मुद्दा बढी आउने गरेको बताउँदै उनले यस्ता विवाद वडा बाटै मेलमिलापमार्फत निरुपण गर्न आवश्यक रहेको धारणा व्यक्त गरिन् ।      

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुर्यदर्शन पण्डितले न्याय निरुपणमा सहजताका लागि तालिमले सघाउ पु¥याउने बताए । ५ का वडा अध्यक्ष दुर्गाप्रसाद पोखरेलले समुदायमा हुने विभिन्न विवादलाई न्यायसंगत ढंगले मेलमिलाप गर्न मेलमिलापकर्ताले महत्वपूर्ण भूमिका खेल्नु पर्ने भन्दै तालिम सफलताको शुभकामना व्यक्त गरे । तालिमका प्रशिक्षक एवं अधिवक्ता गीता आचार्यले विवादमा मेलमिलाप आवश्यक रहेको भन्दै तालिममा संविधानले व्यवस्था गरे अनुसारको कानुनी अधिकार सम्बन्धि जानकारी दिईने बताइन् ।  उपप्रमुख तथा न्यायीक समितिका संयोजक बालकुमारी थापाको अध्यक्षता, न्यायीक समितिका सचिवालय सचिव पार्वती परियारको सञ्चालनमाा तालिम उद्घाटन कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update