Shittalpati
स्वस्थानीको सन्देश

एक महिनादेखि सञ्चालनमा आएको श्रीस्वस्थानी व्रत कथा आजदेखि समाप्त हुँदैछ । यस समयमा श्रद्धालु भक्तजन एक छाक शुद्ध अन्न खाई प्रत्येक दिन बिहान, मध्यान्न र साँझ बडो श्रद्धा र भक्तिपूर्वक शिवपार्वतीको पूजा गरेर श्रीस्वस्थानी व्रत माहात्म्य श्रवण गरेका थिए । हरेक वर्ष यसै समय अर्थात् पौषशुक्ल पूर्णिमादेखि प्रारम्भ भई माघ शुक्लपूर्णिमासम्म हिन्दू धर्मावलम्बीले चोखो बसी घर–घरमा स्वस्थानीको पूजा आराधना गर्नुका साथै कथा सुन्ने र सुनाउने चलन छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन स्वस्थानीको कठोर व्रत बसेको र मनोकांक्षा पूरा भएको विश्वासमा स्वस्थानीको व्रतकथा प्रचलनमा आएको पाइन्छ । आजबाट श्री स्वस्थानी परमेश्वरीको पुस्तकलाई वर्ष दिनका लागि बिसर्जन गरिन्छ । आम नेपाली महिलाहरुले लिने व्रत भन्दा पनि अलि कठिन व्रतको रुपमा यसलाई लिने गरिन्छ । थुप्रै धार्मिक र सामाजिक महत्व बोकेको यस स्वस्थानीको व्रत सत्य युगमा हिमालयकी छोरी पार्वतीले महादेव पति पाउँ भनि व्रत बसेको र व्रत पश्चात् आफ्नो मनोकामना पूरा भएको जन विश्वास पाइन्छ । साथै अर्काे सामाजिक पाटोलाई हेर्ने हो भने गोमा ब्राह्मणीको कथाले प्राचिन समयमा पनि बालबालिकाहरुका नराम्रा असरहरु प्रस्तुत गदै बालबालिका बारे जनचेतना फैलाएको छ । संसारको श्रृष्टी अनि शिव पार्वती सम्बन्धका कुराहरु मार्फत धेरै ठाउँमा नारी पुरुष बीचको लैङ्गिक समानताको वकालत पनि यसले गरेको छ ।

स्वस्थानीको व्रतकथाको प्रभावले यस लोकमा र स्वर्गलोकमा पूज्य स्थान प्राप्त गर्न सकिन्छ । त्यसैले स्वस्थानी कथाजस्ता आफ्ना धार्मिक कृत्य गर्न छोड्न हुन्न भन्ने सन्देश यसले प्रवाह गरेको समेत पाइन्छ । समग्रमा भन्नुपर्दा, नेपाली समाजमा स्वस्थानीको महिमा ठूलो र महत्वपूर्ण छ । यसमा प्रेमको सन्देश सतीदेवीलाई महादेवले कैलाश र आफ्नो ज्योति स्वरूपको दर्शन दिएपश्चात् यी दुई पतिपत्नी बीच सुमधुर सम्बन्ध रहेको स्वस्थानीमा देखाइएको छ । सतीदेवीले आफ्ना पतिले खाने भाँङ, धतुरोको हिफाजातसँग राखिदिने र भोजन पतिले नखाएसम्म आफूले पनि नखाने जस्ता कार्यबाट पतिप्रेम दर्शाउँछ । देहत्याग गरेकी सतीदेवीलाई समेत बोकेर विक्षिप्त भई हिँड्नु सतीदेवीको सम्पूर्ण अंगपतन भइसक्दा पनि चाल नपाउनु महादेवको पत्नीप्रतिको प्रेम देखिन्छ । यसर्थ पनि स्वस्थानी कथालाई नेपाली समाजमा रहेका विकृत तथा विसंगतिलाई हटाई स्वस्थ समाज निर्माण गर्ने सन्देशको रूपमा लिन सकिन्छ ।

प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  १३:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update