Shittalpati
छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

पाल्पा, देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रूपन्देही, बर्दिया, पर्सा र सुनसरीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी चार जनाले अकालमै ज्यान गुमाएका हुन् । 

रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० शंकरपुरस्थित सडकमा सवारी साधानको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट साइकलयात्री सिद्धार्थनगर नगरपालिका–४ सिद्धिविनायक खाद्य उद्योगमा काम गरी बस्ने भारतका ५५ वर्षीय चन्द्रदेव तिवारीको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । हाल फरार सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यस्तै बर्दियाको मधुवन नगरपालिका–२ खैरेनीस्थित सडकमा साइकलबाट लडेर साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा मधुवन नगरपालिका–३ खाताका ४५ वर्षीय लोहारी थारू रहेका छन् । साइकलबाट लडेर गम्भीर घाइते भएका उनको उपचारको लागि बर्दिया अस्पताल गुलरियातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । उता पर्साको वीरगंज महानगरपालिका–२९ मुसैली टोलस्थित सडकमा ट्याक्टरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । ना.५ त ८९३६ नम्बरको ट्याक्टरको ठक्करबाट साइकलयात्री सोही ठाउँका  १६ वर्षीय रुपेश महतो मण्डलको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको एलएस न्युरो अस्पताल बारामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । 

 यस्तै सुनसरीको ईटहरी उपमहानगरपालिका–२० शान्तीचोकमा स्कुटर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । मे.१० प ४९२९ नम्बरको स्कुटर अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा चालक सोही ठाउँका ३८ वर्षीय तेन्जिङ तिताङको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको घोपा अस्पताल धरानमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । चारवटै दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  ११:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update