Shittalpati
कुसुम सहकारीको दोस्रो साधारण सभा

पाल्पा, पाल्पाको तानसेनमा प्रधानकार्यालय रहेको कुसुम बहुउद्देश्यीय सहकारी संस्थाले दोस्रो साधारण सभा गरेको छ । सहकारीले तानसेनमा एक समारोहकाबिच साधारण सभा गरेको हो ।

सभाको प्रतिनिधिसभा सदस्य ठाकुर गैरेले उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै प्रमुख अतिथि गैरेले देशको आर्थिक समृद्धिमा सहकारीको महत्वपूर्ण भूमिका रहेको बताए । उनले कुसुम सहकारीले छोटो समयमा आर्थिक समृद्धिको दिशामा आफुलाई आगाडि बढाएकोमा खुसी व्यक्त गरे । लुम्बिनी प्रदेशका सांसद खेमबहादुर सारुले कृषि पर्यटनमा लगानी गर्न सहकारीलाई आग्रह गरे । उनले मुलुकको अर्थतन्त्रलाई नयाँ उचाइमा पु¥याउन नयाँ विचार, सिद्धान्त र विधि सिर्जना गर्न आवश्यक रहेकोमा समेत जोड दिए । जिल्ला बचत तथा ऋण सहकारी संस्था पाल्पाका अध्यक्ष जगदीश भट्टराईले उत्पादमूलक क्षेत्रमा लगानी गर्न सहकारीलाई आग्रह गरे । कार्यक्रममा संविधान सभा सदस्य लीला सोमै, जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल लगायतले सहकारीको सफलताको शुभकामना व्यक्त गरे । संस्थाका अध्यक्ष सुरेश ढकालले पाल्पा, गुल्मी र बुटवललाई केन्द्रीत गरी शेयर सदस्यहरुको जीवनस्तर उकास्न उनीहरुलाई कृषि जस्ता आयआर्जनका कार्यक्रमहरुसँग जोडिएको बताए ।

सहकारीले पाल्पामा कृषिफर्म, होमस्टे, मिट मार्ट सञ्चालन गर्दै आएको छ । यस्तै उसले गुल्मीमा कृषि उपज संकलन केन्द्र र बुटवलमा बहुउद्देश्यीय मार्ट र एकिकृत वस्ती निर्माणका क्षेत्रमा काम गरेको छ । संस्थाका लेखा संयोजक रामप्रसाद ढकालले लेखा प्रतिवेदन पेश गरेका थिए । अध्यक्ष सुरेस ढकालको अध्यक्षता, सहसचिव विनोद ढकालको स्वागत, शिक्षा समितिका सहसंयोजक हिरा आचार्यको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update